यसपटकको उभौली सडकमा

विराटनगर । किरातहरुको महान पर्व उभौली पर्व विराटनरमा बसोबास गर्दै आइरहेका राई, लिम्बू र याक्खा जातिहरुले सडकमा मनाउने भएका छन् ।

सधैँ पर्व आ–आफ्नो आस्थाका कुल देवतालाई पूजाआराधना गर्दै साकेला र च्याब्रुङ नाचेर साकेला थानमा मनाउने गर्दै आइरहेको भए पनि यो पटक सडकमा कला प्रदर्शन गरेर मनाउने भएका हुन् ।

फागुन १७ गते प्रदेश १ ले कोशी नाम पाएसँगै सडक आन्दोलनमा रहेको पहिचान पक्षधरले यो पटक ‘सडकमै जुटौँ, सडकमै नाचौँ’मूल नाराका साथ उभौली मनाउने निर्णय गरेका हुन् । सोहीअनुसार किरात राई यायोक्खा, किरात याक्थुङ चुम्लुङ र किराँत याक्खा छुम्माले संयुक्त रुपमा परम्परागत कला संस्कृति र पहिरनसहित विराटनगरको महेन्द्र चोक, ट्राफिक चोक हुँदै रोडशेष चोकमा प्रदर्शन गर्ने तयारी रहेको चुम्लुङका नगर अध्यक्ष कुमार सुब्बाले जानकारी दिए ।

उनका अनुसार विहान ७ बजे थानमा पूजा गरेर साकेला थानमा भेला भई रोडशेष चोकमा साकेला, च्याब्रुङ नाच्ने तयारी छ । ‘यो वर्षको उभौली पर्व पहिले पूजा गर्ने , दिँउसो सडकमा, चौकमा विरोध प्रदर्शन गर्छौ,’ उनले भने,‘आफ्नो संस्कृतिअनुसार श्रोत साधनहरु सांस्कृतिक अभियानस्वरुप प्रदर्शन गर्ने केन्द्रको निर्देशनअनुरुप विराटनगरमा किरात याक्थुङ चुम्लुङ, किरात राई यायोक्खा, याक्खा छुम्मा संयुक्त रुपमा साकेला थानमा भेला भएर करिब २ बजेबाट आफ्नो वेशभूषा लगाएर, साकेला थान हुँदै महेन्द्र चोक, ट्राफिक चोक परिक्रमा गरेर रोडशेष चोकमा कला प्रदर्शन गरेर मनाउने छौं ।’

उभौली पर्व वसन्त ऋतुमा बालीनाली राम्रो होस् सबैमा सुख‚ शान्ति‚ सुस्वास्थ्य रहोस् र दैविप्रकोप तथा विपत्तिहरू नआउन् भनि पूजा गर्ने प्रचलन छ । यस चाडमा सुनुवार र राईहरू साकेला÷सखेवा शिली नाच्छन् भने लिम्बु र याक्खाहरू च्याब्रुङ, डोकेनी नाच नाच्दै प्रकृतिलाई पूजा गर्ने चलन रहेको छ ।

शुक्रबार, २२ बैशाख, २०८०, बिहानको ०८:१८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर