विराटनगर । मोरङ लेटाङ –४ गुवाबारीका स्थायी बासिन्दा डिकबहादुर लिम्बूको शैक्षिक योग्यता स्नातक सम्मको छ । बुबा प्रेमबहादुर लिम्बू र आमा गंगामाया लिम्बूको कोखबाट उनको जन्म २०२० भदौ २२ गते भएको थियो ।
गत निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट २७ हजार २९७ मत ल्याएर निर्वाचित उनी निर्वाचित हुँदा उनका प्रतिस्पर्धी एमालेका घनश्याम खतिवडाले २६ हजार ८६७ मत ल्याएका थिए । २०७४ सालको निर्वाचनमा तत्कालिन बाम गठबन्धनबाट उम्मेद्वार बनेका खतिवडाले उनै लिम्बूलाई पराजित गरेका थिए । यस पटक भने लिम्बू माओवादी केन्द्रको सहयोगमा विजयी बनेका हुन् ।
२०४९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लेटाङको गाविस अध्यक्षमा खतिवडा निर्वाचित भए । युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएका लिम्बू त्यसबेला पनि खतिवडाका प्रतिस्पर्धी थिए । २०६४ सालको निर्वाचनमा माओवादी उम्मेद्वार नगेन्द्र धिमालबाट पराजित बनेका लिम्बू भने २०७० सालको संविधानसभाको निर्वाचनमा भने संविधानसभा सदस्य बन्न सफल भए । त्यसबेला लिम्बूले तत्कालिन मोरङ क्षेत्र नम्बर ९ बाट १५ हजार २०२ मत ल्याउँदा खतिवडाले भने १२ हजार ९८९ मत ल्याएका थिए ।
लिम्बू २०३९ सालदेखि शिक्षण पेशामा लागेका थिए । उनी त्यसबेला शान्ति भगवती माध्यमिक विद्यालयमा कार्यरत थिए । २०४२ सालबाट पार्टीमा जोडिएको भएपनि लिम्बूले २०४९ सालदेखि शिक्षकको स्थायी जागिर छाडेर राजनीतिमा पूर्णकालिन भएका हुन् । सैद्धान्तिक विषयमा बहस गर्न रुचाउने लिम्बू सादगी र स्वच्छ छविका नेता मानिन्छन् । मोरङ काँग्रेसको सभापतिसमेत रहेका उनको यो कार्यकाल दोस्रो हो । राष्ट्रपतिबाट आजै युवा तथा खेलकुदमन्त्रीमा नियुक्त भएका लिम्बूको भोली शपथग्रहण हुने कार्यक्रम छ ।