पूर्वराजा ज्ञानेन्द्र शाहप्रति ओलीको टिप्पणी : दुलोबाट मुसोले विरालो हेरेजस्तै गर्दैैछन्

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले पाएको उपलब्धि मास्न पूर्वराजा ज्ञानेन्द्र शाहले दुलोबाट हेरिरहेको टिप्पणी गरेका छन्।

सोमबार जिफन्टको कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै ओलीले राजावादीको गतिविधिप्रति नेपाली जनता गम्भीर हुनुपर्ने अवस्था आएको पनि बताए ।

पूर्वराजा ज्ञानेन्द्रलाई लक्षित गर्दै उनले भने, ‘अहिले चौतर्फी ढंगले अनेक प्रकारका तत्त्वहरू, अनेक प्रकारले लोकतन्त्र र जनताले पाएको उपलब्धिको विरुद्ध, अनेक प्रकारका तत्त्वहरू सक्रिय भएर सल्बलाउन थालेका छन् । कोही कोही दुलाबाट फुत्त निस्किउँला कि झैँ गरेर, मुसोले बिरालो छ कि छैन भनेर दुलोबाट हेर्छ नि। अहिले अनुकूल परिस्थिति आयो कि आएन भनेर यसो हेर्न थालेका छन् ।’

ओलीले आइतबार आयोजित एक कार्यक्रममा स्वार्थी, अज्ञानी र मुर्खले मात्र राजतन्त्र मान्ने बताएका थिए । राप्रपासहित राजतन्त्र ल्याउनुपर्छ भन्नेहरुमाथि आक्रोश व्यक्त गर्दै उनले भनेका थिए, ‘राजतन्त्र कि फटाहले मान्छ, कि मुर्खले मान्छ कि अज्ञानीले । बुद्धि नभएका र दलालहरूले पनि राजतन्त्र मान्ने गर्छन् ।’

केही दिनअघि ओलीले हिमानी शाहको फेक ट्वीटर ह्यान्डलमा उल्लेख गरेका विषयबस्तुप्रति पनि कटाक्ष गरेका थिए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘छोराबुहारीलाई ठिक ठाउँमा राख्न’ चेतावनी दिएका थिए । पूर्वी पहाडी जिल्लाको पार्टी कार्यक्रमकमा सहभागी हुने क्रममा प्रदेशको नाम कोशी नाम खारेज गरेर नयाँ नाम राख्नुपर्ने माग गर्दै आन्दोलनरत पहिचानवादीले कालोझण्डा देखाएपछि ओली आक्रोशित भएका हुन् ।

ओलीको अभिव्यक्तिपछि पूर्वराजा शाहको सचिवालयले विज्ञप्ति जारी गर्दै पूर्वयुवराज्ञी हिमानीले ट्वीटर नचलाउने प्रष्ट पारेको थियो । तर, ओलीले पूर्वराजा र राजावादीप्रति आइतबार र सोमबार पनि थप आक्रोशित देखिए । आफूमाथि सत्तारूढ दलका कार्यकर्ता र पूर्वराजा ज्ञानेन्द्र शाहका परिवारको संलग्नतामा ढुंगामुढा भएको उनको दावी छ ।

सोमबार, १८ बैशाख, २०८०, दिउँसोको ०४:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर