काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वार्थी, अज्ञानी र मुर्खले मात्र राजतन्त्र मान्ने बताएका छन् ।
अखिल नेपाल किसान महासंघको स्थापना दिवसमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले राप्रपासहित राजतन्त्र ल्याउनुपर्छ भन्नेहरुमाथि आक्रोश व्यक्त गरेका हुन् ।
‘राजतन्त्र कि फटाहले मान्छ, कि मुर्खले मान्छ कि अज्ञानीले,’ ओलीले भने, ‘केही नबुझ्ने अज्ञानी वा स्वार्थ, साधना गर्ने अज्ञानीले राजतन्त्र मान्छन् ।’ उनले बुद्धि नभएका र दलालहरूले पनि राजतन्त्र मान्ने गरेको टिप्पणी गरे । ‘एकथरी अज्ञानी हुन्छन । विचरा केही पनि बुझ्दैनन् । त्यसकारण मान्छन् राजतन्त्र । अर्कोथरी स्वार्थ, साधना गर्नका लागि मान्छन् । दलालहरुले मान्छन् । बुद्धि नभएकाहरुले मान्छन,’ उनले भने ।
केही दिनअघि ओलीले हिमानी शाहको फेक ट्वीटर ह्यान्डलमा उल्लेख गरेका विषयबस्तुप्रति पनि कटाक्ष गरेका थिए । उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ‘छोराबुहारीलाई ठिक ठाउँमा राख्न’ चेतावनी दिएका थिए । पूर्वी पहाडी जिल्लाको पार्टी कार्यक्रमकमा सहभागी हुने क्रममा प्रदेशको नाम कोशी नाम खारेज गरेर नयाँ नाम राख्नुपर्ने माग गर्दै आन्दोलनरत पहिचानवादीले कालोझण्डा देखाएपछि ओली आक्रोशित भएका हुन् ।
ओलीको अभिव्यक्तिपछि पूर्वराजा शाहको सचिवालयले विज्ञप्ति जारी गर्दै पूर्वयुवराज्ञी हिमानीले ट्वीटर नचलाउने प्रष्ट पारेको थियो । तर, ओलीले पूर्वराजा र राजावादीप्रति आइतबार थप आक्रोशित देखिएका हुन् । आफूमाथि सत्तारूढ दलका कार्यकर्ता र पूर्वराजा ज्ञानेन्द्र शाहका परिवारको संलग्नतामा ढुंगामुढा भएको पनि उनले दावी गरेका छन् ।
पूर्वदरबारियाहरूले मान्छे पठाएर आफ्नो विरोध गर्न लगाएको ओलीको भनाइ छ । ‘ज्ञानेन्द्र शाह र उनको परिवारको संलग्नता देखिएको छ । यो अनेकमार्फत् देखिएको छ । यहाँभित्र उनीहरूले भित्रभित्र खेलाउने, जसलाई मैले ‘छौंडा’ भन्ने गरेको छु । यो पूर्वदरबारीयाहरूले छौंडा खेलाएर पनि अलिकति यस्तो खालको काम गरेका छन्’ उनले भने ।
आफूमाथि निरन्तर आक्रमण प्रयास भइरहे पनि सरकार मुकदर्शक बनेर बसेको ओलीको भनाइ छ । उदण्ड र अराजनीतिक खालका गतिविधिलाई सरकारले नियन्त्रण नगरेको उनले बताए ।
हरेक ठाउँमा करिब २० जनाको समूहमा रहेकाहरूले आफूमाथि आक्रमण गर्ने प्रयास गरेको ओलीको दाबी छ। ‘ममाथिको आक्रमणमा ज्ञानेन्द्र शाह र उनको परिवारकै संलग्नता देखिएको छ’ उनले भने।