सन्दकपुर घुम्न आउन प्रदेशबासीलाई गाउँपालिकाको निम्तो

विराटनगर । कोशी प्रदेशको आकर्षक पर्यटन गन्तव्य मध्येको एक मानिने इलामको सन्दकपुरका जनप्रतिनिधि र पर्यटन व्यवसायीहरु पर्यटक बोलाउने अभियानमा जुटेका छन् ।

सन्दकपुरका वडाध्य्क्ष सनम राई सहितको टोलीले विराटनगरमा राजनीतिक दलका नेताहरु, पर्यटन व्यवसायी, पत्रकार तथा अन्य सरोकारवालासग छलफल गरेर सन्दकपुर घुम्न आउन निम्ता दिएका थिए। ‘प्रकृतिको अनुपम रचना हो सन्दकपुर’, वडाध्यक्ष राइले भने ‘समस्त प्रदेशवासीलाइ हाम्रो सुन्दर गन्तब्यमा स्वागत गर्न हामी आतुर छौ।’

त्यसक्रममा सन्दकपुरको टोलीले त्यहाँका गन्तव्यहरुबारे प्रकाश पारेको थियो। सो अवसरमा गाउँपालिकाले प्रकाशन गरेको सनदकपुरको परिचयात्मक पुस्तक पनि सरोकारवालालाई प्रदान गरिएको थियो।

महाभारत पर्वतको अग्लो डाँडा सन्दकपुरसँगै थुप्रै पर्यटकियस्थल रहेको सन्दकपुर गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि मोरङ र सुनसरीमा सरोकारवाला निकायसँग अन्तरक्रियाका क्रममा सबैले सन्दकपुरको आकर्षण अभूतपूर्व रहेको बताएका थिए।

सन्दकपुर गाउँपालिका २ का अध्यक्ष सनम राईको नेतृत्वको टोलीले पर्यटन प्रवद्र्धनका लागि निर्माण गरेको फोटो बुक प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की, वन वातावरण तथा पर्यटन मन्त्री जीवन आचार्य, भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रसाद चापागाई ‘सचिन’ लाई हस्तान्तरण गरेको थियो ।

फोटो बुक हस्तान्तरणसँगै टोलीले सन्दकपुरको पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासका लागि सहयोग गर्न आग्रह गरेको थियो । मुख्यमन्त्री कार्की र मन्त्रीद्धय आचार्य र चापागाईले आगामि आर्थिक वर्षको बजेटबाट सन्दकपुर गाउँपालिकाको पर्यटन विकासमा टेवा पुग्ने खालका योजनाहरुमा सम्बोधन गर्ने प्रतिवद्धता जनाएका थिए । सन्दकपुर गाउँपालिकाको पर्यटकिस्थल, धार्मिकस्थल, सास्कृतिक क्षेत्र, खोलानाला, झरना, सिमसार, जैवीक विविधता, वन्यजन्तु र पोखरीहरुको फोटो संकलन गरि निर्माण भएको फोटो बुक राजनीतक दलहरुका नेताहरुलाई पनि हस्तान्तरण गरिएको थियो ।

टोलीले नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क बहादूर नेम्बाङ ‘मिक्सो’, प्रदेश उपाध्यक्ष बिजय साम्पाङ लगायतको टोलीसँग अन्तरक्रिया गरेको थियो । अन्तरक्रियामा प्रदेश अध्यक्ष नेम्बाङ सहितको टोलीले आगामि आर्थिक वर्षको बजेटमा बजेट विनियोजन गरि सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । टोलीले नेकपा एकिकृत समाजवादी पार्टी प्रदेश सचिव महेश रेग्मीले सहितको टोलीसँग अन्तरक्रिया गरेको थियो । पर्यटन प्रवद्र्धनमा सहयोग गर्न र पार्टीको प्रदेशको टोली नै पनि सन्दकपुर पदयात्रा गरेर सहयोग गर्न टोलीले आग्रह गरेको थियो ।

सन्दकपुर पर्यटन प्रवद्र्धन अभियान टोलीले नेपाल पर्यटन बोर्डका संचालक समिति सदस्य कृष्ण साहासँग अन्तरक्रिया गरेको थियो । पर्यटन बोर्डका सदस्य साहलाई सन्दकपुर गाउँपालिकाले प्रकाशन गरेको फोटो बुक र ब्रोसर हस्तान्तरण गरिएको थियो । फोटो बुक हस्तान्तरणपछि सन्दकपुर गाउँपालिका २ का अध्यक्ष सनम राईले पर्यटन प्रवद्र्धनका लागि समुदायलाई नै प्रशिक्षण गर्नुपर्ने भएकाले जनचेतनामुलक कार्यक्रम संचालनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

जवाफमा पर्यटन बोर्डका सदस्य कृष्ण साहले आगामि आर्थिक वर्षको बजेटमा सन्दकपुरको पर्यटन प्रवद्र्धन र विकासका लागि आवश्यक कार्यक्रम संचालनका लागि पहल गर्ने बताए । टोलीले प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव मोहनराज चापागाईसँग पनि पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधारका योजना कार्यान्वयनका लागि अन्तरक्रिया गरेको थियो ।

प्रदेश प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुरमा बढी भन्दा बढी पर्यटक पुर्याउनका लागि प्रदेशका राजधानी विराटनगरका पत्रकारहरुसँग अन्तरक्रिया गरेको थियो।

सन्दकपुर भ्रमण गरेका प्रेश सेन्टर नेपालका प्रदेश अध्यक्ष बिनोद घिमिरेले सन्दकपुर गाउँपालिका भित्रका सबै पर्यटकीय क्षेत्रको प्रचार गर्न सके गाउँपालिकाको मात्रै नभएर प्रदेशकै अर्थतन्त्र विकासमा सहयोग पुग्ने बताए । उनले भने ‘‘सन्दकपुरको पर्यटन प्रवद्र्धनबाट पश्चिम बंगालको अर्थतन्त्र विकास भएको छ हामीले पनि लगानी गरि हाम्रो प्रदेशको अर्थतन्त्र विकासमा लाग्नुपर्छ ।’

अन्तरक्रियामा बोल्दै सन्दकपुर ५ मा रेडपाण्डा पर्यटन प्रवद्र्धनका लागि अग्रसर मानबहादुर गुरुङ्गले विश्वमा लोपोन्मुख अवस्थामा रहेको रेडपाण्डाको अवलोकनका लागि आउन पत्रकारहरुलाई निम्तो दिए । अन्तरक्रियामा ‘भिजिट सन्दकपुर फोटो बुक’ का फोटोग्राफर सुजन तिमसिनाले सन्दकपुर प्रदेशको मात्रै नभएर विश्वकै ६० बढी हिमालका चुचुराहरुको दृश्यावलोकन गर्न सकिने एक मात्र पर्यटकीय गन्तव्य भएकाले सबै संचारकर्मीले प्रवद्र्धनमा सहयोग गर्न आग्रह गरेका थिए । टोलीले नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्ष लिलाबल्लव घिमिरे, महासचिव विवेक गौतम, कोषाध्यक्ष विमल लामिछानेसँगै पनि छुट्टै अन्तरक्रिया गरेको थियो ।

 

शनिबार, १६ बैशाख, २०८०, दिउँसोको ०३:२६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर