विराटनगर । मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्न कोशी अस्पताललाई प्रयोग गर्ने सम्झौता भएको छ ।
मंगलबार शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र पूर्वाञ्चल विश्वविद्यालयबीच कलेजको प्रयोगात्मक अभ्यासका लागि कोशी अस्पताल प्रयोग गर्ने त्रिपक्षीय सम्झौता भएको हो।
दुई साताअघि मन्त्रिपरिषदले पूर्वाञ्चल विश्वविद्यालयलाई मेडिकल कलेज सञ्चालन गर्न स्वीकृति दिएपछि कोशी अस्पताललाई प्रयोग गरेर कलेज सञ्चालन गर्ने त्रिपक्षीय सम्झौता गरिएको उपकुलपति प्रा.डा.यादवराज कोइरालाले जानकारी दिए । कोशी अस्पताललाई प्रयोगात्मक अभ्यासका लागि प्रयोग गरेर विश्वविद्यालयमा मेडिकल कलेज चलाउने प्रक्रिया अब अगाडि बढेको उनको भनाइ छ ।
अब चिकित्सा शिक्षा आयोगले सिट बाँडफाँड गरेपछि मेडिकल कलेजमा विद्यार्थी भर्नाको प्रक्रिया अगाडि बढ्नेछ । सम्झौता पत्रमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदी, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेल र विश्वविद्यालयका उपकुलपति प्रा.डा.कोइरालाले हस्ताक्षर गरेका छन्।
यसअघि २०७८ माघमै कोसी अस्पतालले विश्वविद्यालयलाई अभ्यासका लागि अस्पताल प्रयोग गर्न दिने सहमति गरेको थियो । त्यसको एक वर्षपछि गत माघ २३ गते मन्त्रिपरिषद् बैठकले विश्वविद्यालय र कोसी अस्पतालबीचको सम्झौता अनुमोदन गर्दै मेडिकल कलेज सञ्चालनको बाटो खोलेको थियो ।
मेडिकल कलेज सञ्चालनका लागि न्युनतम् ३ सय बेडको अस्पताल चाहिन्छ । प्रावधान छ। विश्वविद्यालयसँग हाल सो क्षमताको अस्पताल नभएकोले चिकित्सा शिक्षा अध्ययन गर्ने विद्यार्थीले कोशी अस्पतालमा अभ्यास गर्नेगरी सम्झौता गरिएको हो ।
२०५२ सालमा स्थापना भएको विश्वविद्यालयको लागि मोरङको गोठगाउँस्थित राष्ट्रिय वनको ८०५ बिघा जमिन मेडिकल कलेज सञ्चालनका निम्ति छुटाइएको थियो । २०६२ सम्ममा मेडिकल कलेज सञ्चालन गर्न ६० करोडको लगानीमा ९ वटा भवन निर्माण गरिएको भएपनि प्रयोगविहिन रहेका थिए ।
विश्वविद्यालयले चिकित्सक र ३५ जना स्टप नर्सलाई २०६६ सालमै नियुक्ति दिएर तलब खुवाउँदै आएको छ ।