महानगरले वर्षौंपछि खुलायो अबरुद्ध सडक

विराटनगर । स्थानीयको अवरोधले गर्दा लामो समयदेखि निर्माण हुन नसकेको विराटनगरको दुई सडक जोड्ने लिङ्क रोड महानगरपालिकाले खुलाएको छ । रानी–धरान सडक खण्डको कलेज मोड लाई ट्राफिक चोक–रोडशेष सडक जोड्ने लिङ्क रोडको अवरोध महानगरले खुलाएको हो ।

विराटनगरका उद्योगी के एल दुगडको स्वामित्वमा रहेको जग्गा हुँदै जाने लिङ्क रोड निर्माणमा दुगड परिवारले अवरोध गरेको थियो । एसियाली विकास बैंकको ऋण सहयोगमा विराटनगरमा सञ्चालन गरिएको ढल निकास परियोजना निर्माणकै क्रममा उक्त सडक निर्माणको काममा अवरोध पु¥याइएको थियो । महानगरका पूर्व मेयर भीम पराजुलीले पहल गर्दासमेत खुलाउन नसकेको बाटो आइतबार महानगरका प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद कोइरालाको पहलमा नगररक्षक र वातावरण शाखाका कर्मचारीहरुले खुलाएका हुन् ।

हिमालय दर्शन कलेज र डा. चन्द्रिका प्रसादको क्लिनिकको उत्तर तर्फ करिब ६५० फिट लामो सडक आधा निर्माण भएपछि अबरुद्ध थियो । आधा सडक निर्माण गर्न बाँकी हुँदा त्यस क्षेत्र फोहर थुपार्ने र डम्पिङ साइड जस्तो बनाइएका कारण महानगरले अवरोध हटाएको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए । त्यस क्षेत्रमा गाँजा तथा लागुऔषध प्रयोगकर्ताहरुको अखडा बन्न थालेपछि स्थानीयले समेत सडक खुलाउन माग गर्दै आएका थिए ।

महानगरका कर्मचारीहरुले सडक वरिपरिका झाडी सफा गर्नुका साथै मापदण्ड अनुसार अवरोध हटाएको थियो । व्यापार के एल दुगडले टिन लगाएर गरेको अवरोध हटाएको थियो भने डा. चन्द्रिका प्रसादको क्लिनिकबाट भएका अवरोध पनि पन्छाएको थियो ।खुला गरेको अबरुद्ध सडक तत्काल निर्माण गर्ने महानगरको तयारी छ । महानगरले तत्काल कालोपत्रे नगरेपनि दुईतर्फि आवतजावत गर्न मिल्ने गरी सडक मर्मत गर्ने जनाएको छ । उक्त सडकको पूर्वतर्फबाट महानगरले करिब ३०० फिटमा नाला, ढल र कालोपत्रे गरिसकेको छ । बाँकी ३७० फिटमा ढल तथा नाला र सडक कालोपत्रे गर्न बाँकी रहेको छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत कोइरालाले नक्सा बमोजिम सडकको साइड क्लियर गरेको जानकारी दिए । उनले भने ‘त्यस क्षेत्रमा निकै फोहर थुप्रिएको थियो, महानगरलाई फोहर बनाउने होइन सफा राख्नु पर्छ र सडकमा हुने अतिक्रम र अवरोध हटाउनु पर्छ भनेर हामीले त्यहाँ काम गरेका हौं ।’

विराटनगर महानगरपालिकाले हरेक शुक्रबार विराटनगर सफाइको कार्यक्रम पनि गर्दै आएको छ । विराटनगर सफाइका क्रममा विभिन्न सडक, चोक र पार्कमा मेयरसहित जनप्रतिनिधिहरुको उपस्थिति रहने गरेको छ ।

मङ्गलबार, १६ फागुन, २०७९, बिहानको ०८:३९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर