विराटनगर । विराटनगर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण गरीने भएको छ ।
भ्याटबाहेक २ अर्ब ४२ करोड लागतमा निर्माण हुने टर्मिनल भवन १६ हजार २७७ वर्ग मिटरमा निर्माण गरिने भएको हो ।
सोमबार पर्यटन मन्त्री सुदन किरातीले एक कार्यक्रमका बिच टर्मिनल भवनको शिलान्यास गरेका छन ।शिलान्यास गर्दै मन्त्री किरातीले तोकिएकै समयमा भवन सक्न ठेकेदारलाई निर्देशन दिए ।
टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो भएको नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १५ हजार वर्ग मिटरको छ । गौतमबुद्ध विमानस्थलको टर्मिनल भवन पनि १४ हजार वर्ग मिटरको छ ।
विमानस्थलको धावन मार्ग विस्तारका लागि यसअघि जग्गा अधिग्रहण गर्ने प्रक्रिया शुरु भएको थियो । संघ सरकारले ५० प्रतिशत प्रदेश सरकारले ४० प्रतिशत र महानगरपालिकाले १० प्रतिशत तिर्ने सहमति भएको थियो । तर आर्थिक अभावमा भएको भन्दै अधिग्रहण गर्ने भनिएको जग्गाको रोक्का फुकुवा गरिएको थियो ।
तीन वर्षभित्र टर्मिनल भवन निर्माण ठेक्का केसी डाफे जेभीले लिएको छ ।
यसअघि २०२५ सालमा विराटनगर विमानस्थलको टर्मिनल भवन निर्माण भएको थियो ।विराटनगर विमानस्थलको धावन मार्ग पनि विस्तार गरिने भएको छ । महानिर्देशक अधिकारीका अनुसार धावन मार्ग २७० मिटर विस्तार गरिने भएको हो। विमानस्थलको धावन मार्ग एक हजार ५ सय मिटर छ ।