विराटनगर । विराटनगर महानगरपालिकाले तोक आदेशको भरमा लाखौं रुपैयाँको ग्राभेल खरिद गरेको पाइएको छ । बर्खाको समयमा खाल्डाखुल्डी पुर्नका लागि समेत टेण्डरबाट गिटी खरिद गर्ने गरेको महानगरले बर्खा सकिएपछि चुनावलाई लक्षित गरेर तोक आदेशको भरमा झण्डै एक करोड रुपैयाँको ग्राभेल खरिद गरेको पाइएको हो ।
बर्खामा डुवानबाट नगरबासीलाई राहत पु¥याउने उद्देश्यले बाटोका खाल्डाखुल्डी पुर्नका लागि तत्काल गिटी खरिद गर्दा पनि विगतमा ठेक्का लगाउने गरेको थियो । तर, यस पटक भने महानगरले बर्खा सकिएपछि दोहो¥याएर वडाहरुमा गिटी बिच्छ्याउने काम ग¥यो । बर्खाको समयमा करिव ५० लाख रुपैयाँको ग्राभेल खरिद गरेको महानगरले बर्खा सकिएलगतै करिव एक करोड रुपैयाँको ग्राभेल तोक आदेशको भरमा खरिद गरेको थियो ।
महानगरका मेयर नागेश कोइरालाको तोक आदेशमा ठेकेदार कम्पनीले वार्डहरुमा गिटी झारेको थियो । त्यसरी तोक आदेशमा चार महिनाअघि झारेको ग्राभेलको अहिलेसम्म भुक्तानी भने भएको छैन । हतारमा ग्राभेल झार्दा निर्माण साइट छनोट गरी लगत स्टिमेट समेत तयार नगरिएकोले भुक्तानीमा समस्या भएको हो । ठेकेदार कम्पनीले भुक्तानी मागेपछि महानगरले तोक आदेशमा ठूलो रकमको ग्राभेल खरिद गरेको खुलेको हो । यसरी ग्राभेल खरिद गर्दा महानगरको भौतिक पूर्वाधार समितिसँग समेत छलफल गरिएको थिएन । समितिको निर्णय र सहमतिबेगर दोब्बर मूल्यमा गिटी खरिद गर्दा महानगरलाई नोक्सानी भएको छ । समितिका सभापति कुमार पोखरेलले पहिलेको दररेट भन्दा बढी भुक्तानी महानगरले नगर्ने बताएका छन् ।
चुनावको मुखमा मेयरको तोक आदेशमा महानरपालिकाका १३ वटा वडामा ग्राभेल झारिएको थियो । विराटनगरका १९ मध्ये १३ वटा वडामा ग्रमभेल झारिएको भएपनि सबैभन्दा धेरै वडा नम्बर ४, ५, र १२ ले पाएका छन् । यी वडाहरु मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा पर्छन् । महानगरका १, २, ३, ८, १०, १३, १५, १८ र १९ नम्बर वडामा पनि यस प्रकृतिको ग्राभेल झारिएको छ ।
पछिल्लो समय महानगरबाट सबैभन्दा धेरै ग्राभेल पाउनेमा विराटनगरको ४ नम्बर वडा रहेको महानगरका इन्जिनियर डेविड सिंहले जानकारी दिए । उक्त वडामा १६ लाख ६३ हजार ८३२ रुपैयाँ बराबरको ग्राभेल फिलिङ गरिएको छ । वडाध्यक्ष जितन थापाले भने ‘महानगरले ग्राभेल दिने भएपछि ६५ टिपर मागेको थिएँ, दुई चरणमा गरी १५ घनमिटर क्षमताको ४९ टिपर हाम्रो वडामा झरेको छ ।’
महानगरले प्रतिघन मिटर ग्राभेलको लगत स्टिमेट गर्दा १ हजार ९६८ रुपैयाँ ४५ पैसा गर्ने गरेको छ । ठेकेदार कम्पनीले काम गर्दा थप १५ प्रतिशत अर्थात् २९५ रुपैयाँ २७ पैसा ओभरहेड खर्च भुक्तानी गर्ने गरेको इन्जिनियर सिंहले जानकारी दिए । बर्खामा ग्राभेल खरिद गर्दा महानगरले प्रतिघन मिटर १ हजार २ सय रुपैयाँका दरले भुक्तानी दिएको थियो । महानगरले बर्खामा प्रतिटिपर ९ हजार रुपैयाँमा खरिद गरेको ग्राभेलका लागि पछिल्लो पटक १८ हजार रुपैयाँ भुक्तानी दिनु पर्ने भएको छ ।
लाखौं रुपैयाँको ग्राभेल झारेका निजी फर्महरुले भुक्तानीको दबाब दिनथालेपछि यतिबेला कुन ठाउँमा ग्राभेल झरेकोको छ भनेर प्राविधिक जाँच गर्ने काम महानगरले अगाडि बढाएको छ । महानगरका इन्जिनियर भरत न्यौपानेले भने ‘महानगरले अहिले प्राविधिक मूल्यांकन गर्ने काम गरिरहेको छ, प्राविधिक छानविन नगरी कुन ठाउँमा कति मूल्यको ग्राभेल झरेको छ भन्ने जानकारी नहुने भएकोले अहिले नै यति लाख रुपैयाँको खरिद भनेर भन्न सकिएन, काम भए नभएको र हुँदा कति लगत आउने हो त्यसको विवरण आएपछि मात्र भन्न सकिन्छ ।’
विराटनगर ४ पछि तोक आदेशमा वडा नम्बर ५ मा धेरै ग्राभेल झारिएको छ । तर, वडाध्यक्ष सन्तोष नेउपानेले भने महानगरले झारेको ग्राभेलको बारेमा जानकारी नभएको प्रतिक्रिया दिए । उनले भने ‘कति ठाउँमा कताकता होलेको छ त्यो हामीलाई थाहा छैन, हामीले वडाकै बजेटबाट हाल्यौं पछि मेयरले पनि हाल्नुभयो, प्रदेश सरकारले पनि हाल्यो भन्ने सुनेको छु ।’ आफ्नो वडाको धेरै भागमा डुवान हुने भएकोले जति दिनुहुन्छ दिनुहोस् भनेको भन्दै नेउपानेले भने ‘कताकता ग्राभेल हालिएको रहेछ म अब बुझेर भन्छु ।’
महानरले तोक आदेशमा खर्च गरेको गिटीको भुक्तानीका लागि कोटेशन बनाउने प्रक्रिया अगाडि बढाएको छ । महानरका एक प्राविधिक कर्मचारीले भने ‘अहिलेसम्म कोटेशनका फाइलहरु केही देखिएको छैन, प्राविधिक जाँचपछि प्रक्रिया मिलाउन कोटेशनको फाइल बनाइन्छ होला ।’
चुनावको बेला कुनै अमुक नेतालाई सहयोग र असहयोग गर्ने उद्देश्यले महानगरका पदाधिकारीले ग्राभेलको चलखेल गरेको चर्चा यतिबेला महानगरभित्र चलेको छ । वडाहरुमा यसरी झारिएको ग्राभेलको उपमेयरले अनुगमन गरेपछि मात्र भुक्तानी गर्न मिल्ने भएकोले यतिबेला कोटेशन बनाउने र त्यसलाई पारित गर्ने विषयमा केही समस्या देखिएको छ ।
महानगरपालिकाले मर्मत शीर्षकमा विनियोजन गरेको १० करोड रुपैयाँमध्येबाट तोक आदेशमा खरिद गरेको ग्राभेलको भुक्तानी गर्ने तयारी गरेको छ । महानगरले संघीय सरकारको समानीकरण अनुदानबाट प्राप्त विकास बजेटबाट खर्च गर्ने गरी ८ करोड ९७ लाख रुपैया र आन्तरिक स्रोतबाट खर्च गर्ने गरी १ करोड २ लाख रुपैयाँ मर्मत शीर्षकमा विनियोजन गरेको छ । यस बाहेक महानगरले झण्डै ४ करोड रुपैयाँ बराबरको निर्माण र खरिदको काम कोटेशनबाट गराएको बताइएको छ ।