गृहमन्त्री नपाएपछि सरकारबाट बाहिरिने रास्वपाको निर्णय, समर्थन फिर्ता नलिने

काठमाडौं । गैरसांसदको रुपमा गृहमन्त्री नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले तत्काल सरकारबाट बाहिरिने निर्णय गराएका छन् ।

लामिछानेलाई मन्त्री नबनाउने र गृहमन्त्रालय रास्वपालाई नदिने सन्देश प्रधानमन्त्री प्रचण्डले दिएसँगै रास्वपाले सरकारमा रहेका मन्त्रीहरु फिर्ता गर्ने निर्णय गरेको हो ।

आज पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त वैठकमा सरकारमा निरन्तरता दिने वा नदिनेबारे छलफल भएको थियो । बैठकले सभापतिको चाहना बमोजिम सरकारबाट बाहिरदिने निर्णय लिएको नेताहरुले बताएका छन् ।

सरकारबाट बाहिरिने निर्णय लिएको राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन भने कायम राख्ने भएको छ । सरकारको समर्थन भने तत्काल फिर्ता नलिने सो पार्टीको निर्णय छ ।

संसदमा १९ सांसद भएको रास्वपा बाहिरिँदा प्रचण्ड नेतृत्वको सरकार अल्पमतमा पर्दैन। संवैधानिक व्यवस्था अनुसार उसले समर्थन फिर्ता लिएमा प्रधानमन्त्री प्रचण्डले फेरि एक पटक प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने हुन्छ ।

संविधानको धारा १०० को उपधारा २ मा सरकारमा सहभागी कुनै दलमा विभाजन भयो वा सरकारबाट बाहिरियो भने ३० दिनभित्र प्रधानमन्त्रीले संसदमा विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

रास्वपाले सरकार छोड्ने निर्णय गरेसँगै थप दुई मन्त्रालय खाली हुने भएका छन् । यसअघि प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातावरण मन्त्रालय आफैंसँग राखेका थिए ।

तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुरानो नागरिकता कायम नरहेकाले उनको सांसद पद बदर भएको सर्वोच्च अदालतले फैसला गरेपछि पदमुक्त भएका थिए । उनी पदमुक्त भएसँगै गृह मन्त्रालय पनि प्रधानमन्त्रीले आफैंसँग राखेका छन् ।

रास्वपाबाट शिशिर खनाल शिक्षा मन्त्री, डोलप्रसाद अर्याल श्रम मन्त्री र डाक्टर तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बनेका थिए। आजको निर्णयसँगै रास्वपाको पहिलो सत्तायात्रा ४० दिन नपुग्दै टुंगिएको छ । गत पुस ११ गते रास्वपा सभापति लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको शपथ लिएका थिए ।

आइतबार, २२ माघ, २०७९, दिउँसोको ०४:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर