विराटनगर । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान) ले उर्जा क्षेत्रको प्रवद्र्धन र विकासका लागि बिहीबारबाट विराटनगरमा दुई दिने कार्यशाला गर्ने भएको छ ।
उर्जा उत्पादनको प्रचूर सम्भावना रहेको प्रदेश १ को विकास गरी आर्थिक वृद्धि र सम्वृद्धिको मुख्य स्रोतको रुपमा अगाडि बढाउने वातावरण तयार गर्न कार्यशालाले योगदान गर्ने इप्पानको विश्वास छ । २७ हजार मेगावाट भन्दा बढी उर्जा उत्पादन गर्ने सम्भावना रहेकोले इप्पानले प्रदेश १ को दीगो विकासका लागि उर्जा विषयक कार्यशाला आयोजना गरेको हो ।
आईएफसीको सहयोगमा आयोजना हुने कार्यक्रम बिहीबार र शुक्रबार दुई दिन सञ्चालन हुने बताइएको छ । कार्यक्रम प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङले उद्घाटन गर्ने ईप्पानले जनाएको छ ।
इप्पानले नेपालमा जलविद्युतको क्षेत्रमा काम गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आएको छ । निजी क्षेत्र र देशमा जलविद्युत्को विकासमा संलग्न सरकारी संस्थाहरूबीचको लिङ्कको रूपमा कामगर्दै आएको संस्थाले उर्जा क्षेत्रमा लगानीको वातावरण तयार पार्ने कार्यमा योगदान गर्दै आएको छ ।