ट्याङ्करसहित १६ हजार लिटर तेल चोर्ने प्रयास असफल

ट्याङ्कर चालक दुई जना र तेल किन्ने दुई जना पेट्रोल पम्पका संचालक पक्राउ

विराटनगर । अमलेखगञ्जबाट विराटनगर इन्धन लिएर आउँदै गरेको ट्याङ्करसहित तेल चोर्ने प्रयास असफल भएको छ ।

गत माघ ११ गते अमलेखगञ्ज डिपोबाट इन्धन लोड गरेर विराटनगर आउँदै गरेको ट्याङ्कर खाली अवस्थामा गत १४ गते सप्तरीको रुपनीमा फेला परेको थियो । नेपाल आयल निगम प्रादेशिक कार्यालय विराटनगरका प्रमुख अशोक साहका अनुसार उक्त ट्याङ्कर सप्तरीको विक्की टे«डर्स भन्दा दुईसय मिटर पर वेवारिसे अवस्थामा रहेको जानकारी पाएपछि प्रहरीले रित्तो ट्याङ्कर फेला परेको थियो ।

त्यसपछि छानविन गर्दा उक्त ट्याङ्करले नेपाल आयल निगमको आधिकारिक विक्रेता दिलिप ट्रेडर्स र भण्डारा स्टोर्सलाई डिजेल विक्री गरेको खुलासा भएको थियो । निगमको आधिकारिक विक्रेताले यसरी अनाधिकृत रुपमा चोरीको तेल खरिद गर्नु कानूनविपरीत हुन्छ ।

प्रहरीले आयल निगमसँगको समन्वयमा खरिद गर्ने पेट्रोल पम्पका दुवै सञ्चालकहरु तथा ट्याङ्कर चालकलाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा पेट्रोल पम्पका संचालक शेखर गुप्ता र श्यामकुमार साह रहेका छन् भने ट्याङ्कर चालक सप्तरीको कन्चनरुप नगरपालिकाका नवराज भुजेल र विराटनगर ४ का अनिल कुमार चौधरी रहेका छन् ।

उक्त ट्याङ्कर ढुवानी व्यवसायी गुणराज निरौलाको रहेको बताइएको छ । निरौला यसअघिका पेट्रोलियम पदार्थ ढुवानी व्यवसायी संघ प्रदेश १ का पूर्व अध्यक्ष हुन् । ‘ट्याङ्कर धनीले ड्राइभरलाई जागिरबाट निकालेको रहेछ । उसको ठाउँमा अर्को ड्राइभर राखेको थाहा पाएपछि रिसाएका ड्राइभरले बिचैमा तेल बेचेको भन्ने कुरा आएको छ, हामी अनुसन्धानकै क्रममा छौं,’ साहले भने । उनले चोरीको तेल खरिद गर्ने दुवै पेट्रोल पम्महरु र ट्याङ्करलाई नियमावली अनुसार कारबाही गर्न केन्द्रमा आजै लेखिपठाएको पनि जानकारी दिएका छन् ।

चोरी भएको ट्याङकर नम्बर को १ ख ३६५५ हो । ८ हजार लिटरको चार वटा च्याम्बर भएको ट्याक्टरबाट १६ हजार लिटर तेल चोरी गर्ने प्रयास भएको थियो ।

मङ्गलबार, १७ माघ, २०७९, दिउँसोको ०४:२२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर