मोरङ कारागारका चौकीदार गिरीको फेरि जेल सरुवा

विराटनगर । मोरङ कारागारमा आतंक मच्याएको आरोप लाग्ने गरेका चौकिदार अभिषेक गिरीलाई मकवानपुरको भीमफेदी कारागार स्थानान्तरण गरिने भएको छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरिरहेका गिरीलाई सरुवा गरेर मोरङबाट भीमफेदी कारागार लैजानका लागि आइतबार पत्र प्राप्त भएको हो ।

गृहमन्त्री रवि लामिछानेको निर्देशनमा कारागार व्यवस्थापन विभागले गिरीलाई ‘जतिसक्दो चाँडो’ स्थानान्तरण गर्नु भनेर मोरङ कारागारलाई पत्र पठाएको हो । उनको सरुवाको निर्णय भने केही दिनअघि भएको बताइएको छ ।

विभागका महानिर्देशक चक्रपाणी पाण्डेले गिरीलाई भीमफेदी स्थानान्तरण गर्न पत्राचार भइसकेको पुष्टि गरे । उनका अनुसार अब मोरङका प्रमुख जिल्ला अधिकारी र जेलरले समन्वय गर्दै गिरीलाई स्थानान्तरणका लागि वातावरण तयार पार्नुपर्नेछ । मोरङका प्रजिअ काशीराज दाहालले गिरीको स्थानान्तरणको तयारी गर्न कारागारलाई निर्देशनसमेत दिएका छन् ।

चौतर्फी विरोध हुँदाहुँदै नेपाली कांग्रेसका स्थानीय नेताको दबाब र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणको ठाडो निर्देशनमा गिरीलाई २०७८ मंसिर ९ गते मोरङ कारागार ल्याइएको थियो । रातारात मोरङ ल्याएर चौकीदारको जिम्मेवारी दिएपछि गिरीले आतंक सिर्जना गरेको आरोप लाग्दै आएको थियो ।

गिरीलाई प्रवेश गराउनुअघि मोरङ कारागारको अवस्था तनावपूर्ण बनेको थियो । कैदीबन्दी गिरीको विरोधमा उत्रिएका थिए । तर, सरकारकै सहयोगमा कारागार छिरेर आतंक मच्चाउन थालेसँगै गिरीविरुद्ध बोल्ने र उनको विरोध गर्ने आँट कसैले गर्न सकेनन् । त्यतिबेला उनलाई मोरङ ल्याउनकै लागि चौकीदार कात्तिक कामत र सिटी नाइके युवराज परियारसहितका कैदीलाई सिन्धुली कारागार सरुवा गरिएको थियो ।

२०७८ असोज १८ गते गिरीको सहजताका लागि चौकीदार नविन राईलाई झुम्का कारागार स्थानान्तरण गरेर किरण गुरुङलाई कामचलाउ चौकीदारको जिम्मेवारी दिइएको थियो । गिरीकै योजना र इसारामा कात्तिक २४ गते मोरङ कारागारमा झडप हुँदा गुरुङसहित ६ जना कैदीबन्दी घाइते भएका थिए ।

मोरङ कारागारका निमित्त जेलर तुलसीराम भगतका अनुसार सार्वजनिक विदाका कारण गिरिको स्थानान्तरणको प्रक्रिया अघि बढाउन सकिएको छैन । ‘कार्यालय खुलेपछि प्रक्रिया पूरा गरेर गिरीलाई भीमफेदी लगिने छ,’ उनले भने, ‘स्थानान्तरणको वातावरण तयार पार्न सुरक्षा निकायसँग पनि समन्वय भइरहेको छ ।’ भगतले गिरीको सरुवासँग सम्बन्धित पत्र भने कार्यान्वयनतर्फ गइसकेको जानकारी दिए ।

सोमबार, ०२ माघ, २०७९, साँझको ०५:५७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर