मोटरसाइकलका कारण ५७ प्रतिशत दुर्घटना

सुनसरी । प्रदेश १ मा हुने सडक दुर्घटनामा सबैभन्दा धेरै मोटरसाइकलसँग सम्बन्धित रहेको पाइएको छ । प्रदेश १ मा भएका कूल सडक दुर्घटनाको करिव ५७ प्रतिशत हिस्सा मोटरसाइकलको रहेको प्रदेश १ ट्राफिक कार्यालय इटहरीले जनाएको छ ।

ट्राफिक प्रहरीले गतवर्ष प्रदेश १ मा भएको सडक दुर्घटनाहरुको अध्ययनका आधारमा मोटरसाइकल दुर्घटनाको अवस्था उल्लेख्य रहेको निष्कर्ष निकालेको हो । पछिल्लो समय सडक दुर्घटनामा पनि ८० प्रतिशतले वृद्धि भएको ट्राफिक प्रहरीको तथ्यांकले जनाएको छ ।

ट्राफिक प्रहरी प्रमुख तथा एसपी श्यामकुमार महतोले सडक दुर्घटनामा हुने मृत्युदर पनि २६ प्रतिशतले बढेको बताएका छन् । प्रदेशभर दुर्घटनाबाट तीन वर्षअघि ३३२, २ वर्षअघि ४४४ र गत वर्ष ५३१ जनाको मृत्यु भएको पनि उनले बताए । यद्यपि, पछिल्लो समय विभिन्न सचेतना अभियान सञ्चालनको कारण कमी आएको उनको दाबी थियो ।

प्रदेश १ अन्तरगत झापा, मोरङ र सुनसरी दुर्घटनाका हिसाबले सबैभन्दा बढी जोखिममा रहेको एसपी मेहताले जानकारी दिए । यी जिल्लाहरुमा प्रदेश १ मा दुर्घटनाबाट मृत्यु भएकाहरुको ७५ हिस्सा रहेको र बाँकी २५ प्रतिशत मृत्यु प्रदेशका ११ जिल्लामा हुने गरेको पाइएको छ ।
ट्राफिक सचेतना अभावका कारणले पनि सडक दुर्घटनामा परेर धेरैले ज्यान गुमाउने गरेको एसपी महतोले बताए । ट्राफिक नियम उल्लंघन गर्नेमा पढेलेखेका र बौद्धिक समुदायका व्यक्तिहरु नै बढी हुने गरेकोले दुर्घटनामा पनि त्यही वर्गमा मानिसहरुको मृत्यु बढी हुने गरेको बताइएको छ ।

एसपी मेहताका अनुसार मोटरसाइकल र साइकल, मोटरसाइकल र पैदल यात्रु, मोटरसाइकल र ट्याक्टर, मोटरसाइकल र बस, मोटरसाइकल र ट्रिपरको दुर्घटना हुने गरेको छ । दोस्रोमा इ रिक्सा र अटोले १६.४ प्रतिशत, कार जिपले १०.८ प्रतिशत, ट्रक, ट्रिपर र ट्याक्टरको ५.८ प्रतिशत दुर्घटनामा जिम्मेवार छ भने ट्यांकर र डोजर ४ं.७ प्रतिशत, बस र माइक्रो ४.४ प्रतिशत दुर्घटनामा जिम्मेवार रहेको पनि मेहताले बताए ।

गतवर्ष भएको ३ हजार ८०० सय दुर्घटनालाई केलाउँदा ९० प्रतिशत कारण मान्छे अर्थात् चालक रहेको पनि मेहताले बताए । ‘साइकल, मोटरसाइकल, बस, ट्रक सबैको चालकको कमजोरी वा ट्राफिक नियम पालना नगर्दा दुर्घटना भएको छ,’ उनले भने, ‘सबैभन्दा बढी संख्या तीब्र गतिले दुर्घटना गराउँछ । दोस्रोमा ट्राफिक नियमको उल्लंघन र ३ नम्बरमा मापसे, ४ नम्बरमा लाइसेन्स नहुने र ५ नम्बरमा ओभरटेक हुदा दर्घुटना भएको देखिन्छ ।’ यस्तै, ८६ प्रतिशत चालकको लापरवाहीले गर्दा दुर्घटना भएको देखिन्छ भने १२ प्रतिशत दुर्घटनाको कारण पैदल यात्रुको कारणले भएको पनि उनले बताए ।

बिहिबार, २८ पुष, २०७९, बिहानको ०९:०६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर