विराटनगर । नेपाली काँग्रेसका नेता एवं प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेश संरचनालाई कमजोर बनाउने काँग्रेस महामन्त्री गगन थापाले अभिव्यक्ति स्टण्डबाजी मात्र भएको बताएका छन् ।
प्रदेश संरचना राख्ने कि नराख्ने भन्ने विषय आगामी ५ वर्षपछि जनताले मूल्यांकन गर्छन् भन्ने थापाको भनाइ स्टण्डबाजी मात्रै रहेको कार्कीको भनाइ छ ।
थापाले केही साता अगाडि विराटनगरमा आयोजित एक कार्यक्रममा यस्तो बताएका थिए । काँग्रेसका महामन्त्री समेत रहेको र संघीय सांसद बनेर संविधानमा हस्ताक्षर गर्नेमा थापा पनि रहेको इंगित गर्दै कार्कीले उनीहरुबाटै यस्तो कुरा हुनु स्टण्डबाजी मात्रै रहेको दाबी गरे ।
कार्की कोइराला पक्षबाट प्रदेश १ काँग्रेसको प्रदेशसभा संसदीय दलको नेतामा प्रतिस्पर्धा गरेका नेता हुन् । उनी संस्थापन र सिटौला पक्षका संयुक्त उम्मेद्वार उद्धब थापासँग पराजित भएका थिए । प्रदेश सरकारको मन्त्री बनेको अवधिमा आफूले गरेका काम र उपलब्धि सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा कार्कीले प्रदेश बलियो बन्नका लागि संघबाट प्रदेशको अधिकार प्रदेशमै ल्याउनुपर्नेमा जोड दिए ।
अघिल्लो ५ वर्षको कामको मूल्यांकनका आधारमा प्रदेश रहने नरहने टुंगो लाग्छ भन्ने काँग्रेस महामन्त्री गगन थापाको भनाईबारे सोधिएको प्रश्नमा उनले यो स्टण्ड मात्रै रहेको बताए । ‘स्टण्डबाजहरुले आफूलाई स्टण्ड राख्नका लागि जेजे कुरा भन्दा सामाजिक सञ्जालहरुमा छाउन सकिन्छ, त्यही हिसावले भन्ने गर्छन्,’ कार्कीले भने, ‘आफूले बनाएको, आफैंले हस्ताक्षर गरेर ल्याएको संविधानको बर्खिलाप हुनेगरी कुरा गर्न सुहाउँदैन ।’ आफैं संसदमा बसेपछि कि त संघीयता खारेज गर्ने प्रस्ताव लिएर जानुपर्ने भन्दै उनले त्यो पनि लान नसक्ने अनि यहाँ आएर बोल्नु भनेको स्टण्डबाज नै भएको बताए ।
कार्कीले गगन थापाले अनावश्यक बोलेको पनि टिप्पणी गरे । ‘संघीय संसदमा हुँदा प्रदेश बलियो बनाउनुपर्छ । प्रदेशको अधिकारहरु हस्तान्तरण गर्नुपर्छ । संघीय प्रहरी ऐन बन्नुपर्छ, संघीय निजावमती ऐन पारित गर्नुपर्छ, संघीय शिक्षा ऐन, संघीय स्वास्थ्य ऐन पारित गर्नुपर्छ भनेर कहिल्यै नभन्ने अनि प्रदेशको काम हेर्छु भनेर पाखुरा सुर्किने ?’, कार्कीले भने, ‘यो अनावश्यक कुरा हो, यस्तो कुरा गर्नेहरुले आफू कुन पोष्टमा छु भन्ने पनि ख्याल गर्नुपर्छ ।’
मन्त्री कार्कीले आफ्नो कार्यकालमा प्रदेश १ सरकारको प्रशासनिक भवन, प्रदेशसभा हल तथा मुख्यमन्त्री, मन्त्रीहरुको क्वाटर निर्माणको लागि विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकामा गरेर १२ विगाहा जग्गा प्राप्त हुने प्रक्रिया अगाडि बढेको जानकारी दिए । संघीयतालाई संस्थागत गर्न संरचना निर्माणको काम आगामी दिनमा अगाडि बढ्ने उनको विश्वास छ ।