विराटनगर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि फेरिएको राजनीतिक समिकरणले झापाबाट निर्वाचित नेताको हातमा संघ र प्रदेश १ सरकार निर्माणको चावी पुगेको छ ।
झापाबाटै निर्वाचित एमाले अध्यक्ष केपी शर्मा ओली केन्द्र सरकार सञ्चालनका लागि बनेको उच्चस्तरीय संयन्त्रको संयोजक छन् भने सरकारको सहयात्री चौथो दल राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि झापाकै हुन् ।
सरकारको मुख्य घटक एमालेसँग ७८ सांसद छन् भने लिङ्देनसँग १४ जना सांसद छन् । ३२ सांसद रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री छन् । नेकपा एमालेको राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहाल पनि झापाकै हुन् ।
संघीय सरकारको चावी झापामै केन्द्रीत भइरहेको बेला प्रदेश १ सरकारको चावी पनि झापामै केन्द्रीत भएको छ । नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की आगामी प्रदेश १ सरकारका मुख्यमन्त्रीका दाबेदार हुन् । कार्की झापा क्षेत्र नम्बर ५ (२)बाट निर्वाचित सांसद हुन् । कार्की यसअघिको प्रदेशसभामा पनि सदस्य हुन् भने प्रदेश १ को पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री समेत हुन् ।
यस्तै समानुपातिक कोटाबाट निर्वाचित काँग्रेस प्रदेश १ का सभापति उद्धब थापा संसदीय दलको नेता निर्वाचित भएका छन् । राजनीतिक समीकरण फेरबदल भएमा उनी सम्भावित मुख्यमन्त्री पनि हुन् । हालका लागि भने प्रमुख प्रतिपक्षी दलका नेता निश्चित छ । प्रदेश १ संसदको दोस्रो ठूलो दल नेपाली काँग्रेससँग २९ जना सांसद छन् । २९ सांसदलाई प्रदेशको प्रभावकारिताको विषयमा र सरकारको खबरदारीमा थापाको योजनामै अगाडि बढाइने छ ।
प्रदेशसभाको चौथो ठूलो दलको रुपमा आएको राप्रपा नेपाल संसदीय दलका नेतामा पनि झापाकै भक्तिप्रसाद सिटौला चयन भएका छन् । सिटौला झापा क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित भएका हुन् । झापाको प्रदेशसभामा ६ सांसद छन् ।प्रदेश १ को झापा जिल्ला सबैभन्दा धेरै सांसदहरु रहेको जिल्ला पनि हो । झापामा प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक तथा प्रत्यक्ष जितेका सांसदहरुको संख्या ३१ छ ।झापामा प्रतिनिधिसभामा ५ निर्वाचन क्षेत्र रहेको छ भने प्रदेशसभामा १० निर्वाचन क्षेत्र छ । निर्वाचन आयोगमा राजनीतिक पार्टीहरुले समानुपातिक तर्फको बन्दसूचीमा रहेको नाम सिफारिस गर्ने क्रममा झापाकै उम्मेद्वार प्राथमिकतामा परेको थियो । झापाबाट प्रतिनिधिसभामा पनि ६ जना सांसद बनेका छन् भने प्रदेशसभामा समानुपातिकबाट १० सांसद भएका छन् ।
झापामा समानुपातिकतर्फ प्रतिनिधिसभा सांसद हुनेहरु नेपाली काँग्रेसका सरिता प्रसाई, एमालेका कालुराम राई, सुनिता बराल, हर्कमाया विश्वकर्मा र अमृत राजवंशी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले पनि झापाबाट इन्दिरा रानामगर र निशा डाँगीलाई समानुपातिक सांसद बनाएको छ ।
यता, प्रदेशको समानुपातिकतर्फ एमाले, काँग्रेस र राप्रपाले मात्रै झापाबाट तीन–तीन जनाको नाम सिफारिस गर्दा माओवादी केन्द्रका पनि १ जना प्रदेशसभा सदस्य भएका छन् । एमालेबाट १५ जना प्रदेशसभाका समानुपातिक सांसदमध्ये झापाका कमला थापा मगर, तारादेवी ढकाल र नम्बरलाल धिमाल छन् ।
समानुपातिनक १२ जना प्रदेश सांसद पाएको काँग्रेसले झापाबाट उद्धब थापा, मोहन महर्जन र लखिकुमारी गणेशलाई सांसद बनाएको छ भने ४ जना समानुपातिक सांसद पाएको माओवादी केन्द्रले झापाकै बन्दना झाँगडलाई सांसद बनाएको छ । ४ जना समानुपातिक सांसद पाएको राप्रपाबाट प्रदेशसभामा झापाकै ३ जना परेका छन् । जसमा निमसरी राजवंशी, अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा रहेका छन् ।