चन्द्रकुमार राई हत्या प्रकरणको फैसला

मुख्य अभियुक्त केकेलाई मतियार भन्दै दुई वर्ष कैद

घटनामा संलग्न नौं जनालाई सफाइ, पाँचलाई दुई वर्ष कैद र एक जनालाई जन्मकैद

विराटनगर । मोरङको बेलबारी नगरपालिका– ५ का ३८ साले चन्द्रकुमार राईको हत्या प्रकरण कर्तब्य ज्यान र ज्यान मार्ने उद्योग मुद्दामा मोरङ अदालतले फैसला गरेको छ ।

कर्तब्य ज्यान र ज्यान मार्ने मुद्दामा २० जना प्रतिवादी भएपनि पक्राउ परेका १४ जनाको हकममा मोरङ अदालतका न्यायाधीश राजेशकुमार कटुवालको इजलाशले फैसला गरेको हो । ६ जना प्रतिवादी फरार रहेकोले उनीहरूको हकमा मुद्दा मुल्तवीमा रहेको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । यो मुद्दाको कसुर ठहर पुस ३ गते भएको थियो भने कैद निर्धारण बिहीबार भएको सूचना अधिकारी बुढाथोकीले बताए ।

कर्तब्य ज्यान र ज्यान मार्ने उद्योगमा एक जना प्रतिवादीलाई मात्र कर्तब्य ज्यान मुद्दा ठहर गर्दै जन्मकैदको फैसला गरेको छ । मतियार बनाएको पाँच जनालाई दुई वर्ष कैद र ९ जनालाई सफाइ दिएको हो ।अदालतले विनयकुमार सरदारलाई जन्मकैदको बिहीबार सजाय निर्धारण गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा पनि सरदारलाई ३ वर्ष कैद र ३ हजार जरिवना तोकेको छ । मृतक परिवारलाई १ लाख क्षतिपूर्ती र घाइते भएका समुन्द्र राईलाई ३ लाख ७० हजार ४०८ रुपैयाँ क्षतिपूर्ती प्रतिवादी सरदारलाइ दिलाउन अदालतले फैसला गरेको छ ।
राजेन्द्र राई थुलुङ्ग, विशाल कुमार खवास, विरेन्द्र कुमार खाँ, दिपेन्द्र भन्ने दिपेन कुमार चौधरी र केके भन्ने कृष्ण कुमार चौधरीलाई कर्तब्य ज्यान मुद्दाबाट सफाइ दिएर मतियार ठहर गर्दै दुई वर्ष मात्र कैद सजायँ बिहीबार निर्धारण गरेको छ । दुई वर्ष कैद सजाय पाएका पाँच जना प्रतिवादीले कैद भुक्तान गरिसकेकोले उनीहरू थुनामुक्त हुनेछन् ।

यसैगरी यानबहादुर राई, बलराम चौधरी, राजेन राई, अनोजकुमार माझी, प्रेम चौधरी, जितेन्द्रकुमार चौधरी, होम नाराायण धामी, यक्षकुमार चौधरी र निनल खवासले सफाइ पाएका छन् । सफाइ पाएका मध्ये माझीको मृत्यु भइसकेको छ । फरार रहेका प्रभात चौधरी, दिनेश चौधरी, अशोक खवास, शम्भू भन्ने दिनेश मास्के, कचाल भन्ने गीतार खवास र दिपु खवास फरार रहेकोले उनीहरुको हकमा मुद्दा मुल्लतबीमा राखेको छ ।
दुई वर्ष कैद सजाय फैसला गरेको केके भन्ने कृष्णकुमारलाई प्रहरीले घटनाको मुख्य अभियुक्त भन्दै पक्राउ गरेको थियो ।०७७ भदौ १२ गते बेलबारी– ५ कसेनी लोहन्द्रा खोलामा केकेसहितको समुहले धारिलो हतियार प्रहार गरेर चन्द्रहादुरको हत्या गरेका थिए भने समुन्द्र राई, सहीकुमार राई र गौरव राई घाइते भएका थिए । त्यसबेला केकेको कारणले विवाद भई झडपको अवस्था सिर्जना हुँदा चन्द्रबहादुरको हत्या भएको थियो ।

चन्द्रबहादुरको हत्यापछि केके फरार भएका थिए । हत्या भएको ११ महिनापछि केकेलाई मोरङ प्रहरीबाट खटिएको सादा पोशाकको टोलीले सुन्दरहरैंचा नगरपालिकाको बाँसवारीबाट पक्राउ गरेको थियो ।चन्द्रबहादुरको हत्यापछि मोरङ प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका जितेन्द्रकुमार चौधरी, विशालकुमार खवास, विरेन्द्रकुमार खाँ, दिपेन्द्रकुमार चौधरी, राजेन्द्र राई थुलुङ्ग, थानु भन्ने यानु चुलुङ्ग र विनयकुमार सरदारसहित फरार भएका १३ जना विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा २०७७ असोज ६ गते कर्तब्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गराएको थियो ।

थुनछेक बहस सकिएपछि मोरङ अदालतका तत्कालीन न्यायाधीश तेज बहादुर खड्काको इजालशले ०७७ असोज ९ गते जितेन्द्रकुमार चौधरीलाई ४ लाख र ज्ञानु भन्ने ज्ञानव थुलुङ राई २ लाख रुपैयाँ धरौटीमा छोडन आदेश दिएका थिए भने अन्य पाँच जना विनयकुमार सदरदार, राजेन्द्र राई, दिपेन्द्र चौधरी, विरेन्द्रकुमार खाँ र विशालकुमार खवास पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएका थिए ।

फैसलाप्रति पीडितको असन्तुष्टि

मृतकका दाजु धनबहादुर राईले अदालतको फैसलाबाट पीडामा परेकाहरु थप पीडित बन्नुपर्ने अवस्था आएको गुनासो पोखे । घटनामा संलग्नलाई अपराधबाट चोख्याउने काम भएकाले न्यायकर्ताबाट नै थप अन्याय र पीडा महसुस भएको उनको दुःखेसो छ । ‘के–कुन प्रभावका कारण अपराधीलाई चोख्याइयो र हामी पीडितमाथि थप अन्याय गरियो भन्ने कुराको छानबिन गरेर न्यायका लागि आवाज उठाइदिन सबैसामु आग्रह गर्छु,’ धनकुमारले भने ।

घाइतेमध्ये भाइ समुन्द्रसहित उपस्थित भएर उनले पत्रकार सम्मेलन गरेका हुन् । समुन्द्रको टाउकाको शल्यक्रिया गरेर हड्डी निकालिएको छ । उक्त हड्डी देखाउँदै धनकुमारले भने, ‘भाइहरु र भतिजको उपचारमा ७ लाख रूपैयाँभन्दा बढी खर्च भयो । ऋण गरेर उपचार गरियो । कसैले पनि सहयोग गरेनन् । पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले ज्यालामजदुरी गरेर जीविका चलाउनुपर्ने हाम्रो बाध्यता छ ।’
उनकाअनुसार घटनापछि पीडक पक्षबाट अनेक धम्की खेप्नु परेको बताए । ‘पैसाको प्रलोभन देखाउँदै मुद्दा फिर्ता लिन दबाब दिए । नमानेपछि धम्की दिन थाले,’ उनले भने, ‘अहिले अदालतको फैसला पनि पीडककै पक्षमा आइदियो । थप उपचारका लागि रकम जुटाउन समस्या भइरहेको छ ।’

कुनैपनि मुद्दाको फैसलामा चित्त नबुझेमा फैसलाको पूर्णपाठ आइसकेपछि सरकारी वकिलमार्फत माथिल्लो अदालतमा पुनरावेदन गराउन पाउने अधिकार पीडितलाई छ । धनकुमारले कानुनी व्यवस्था अनुसार मोरङ जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत विराटनगरमा पुनरावेदन गर्नका लागि सरकारी वकिललाई आग्रह गरिने बताए ।

५७ टाँका लगाएको सुमन्द्रको उपचारमा समस्या

०७७ भदौ १२ गते बेलबारी – ५ कसेनी लोहन्द्रा खोलामा केके भन्ने कृष्णकुमार चौधरीसहितको समुहले धारिलो हतियार प्रहार गरेर चन्द्रहादुरको हत्या गरेका थियो भने समुन्द्र राई, सहीकुमार राई र गौरव राई घाइते भएका थिए ।

घाइते भएका मध्ये सुमन्द्र गम्भीर घाइते भएका थिए । उनको टाउँमा बन्चरो प्रहार गरेको कारणले गहिरो चोट लागेको थियो । विराट टिचिङ्ग हिस्पटलमा टाउँकोमा ५७ टाँका लगाएको थियो । मतिष्कभित्र हड्डी पसेपछि त्यसलाई निकालेको थियो । हड्डी निकालेको ठाउँमा स्टिल लगाउनुपर्ने चिकित्सकले सल्लाह दिएको मृतकका दाजु धनबहादुर राईले बताए ।

‘दुई जना भाइ र भतिजको उपचारमा मात्र ७ लाख भन्दा बढी रकम उपचारमा सकियो । थप उपचारको लागि अझै ५÷७ लाख रुपैयाँ आवश्यक पर्ने चिकित्सकहरूले भनेका छन्,’ उनले भने यति धेरे पैसा हामीसँग छैन । यसअघि गरेको उपचार खर्च पनि ऋण खोजेर गरेको हो ।’ अदालतले पनि उपचार खर्च ३ लाख ७० हजार ४ सय ८ रुपैयाँ भराइदिन फैसला गरेको उनले सुनाए । ‘६ लाख रुपैयाँ उपचार खर्च भएको बिलसहित प्रमाणमा हामीले पेश गरेका थियौं,’ उनले भने, ‘फैसला आउँदा ३ लाख ७० हजार ४०८ रुपैयाँ आएको रहेको छ ।’ थप उपचार गर्ने आफू र भाइसँग पनि पैसा नभएको उनले सुनाए ।

आक्रमणबाट घाइते भएका भाइ सहीकुमार राईपनि अहिले राम्रोसँग हिडडुल गर्न नसक्ने भएको उनले बताए । ‘कान्छो भाई सही कुमार अहिले कुनै काम गर्न सक्दैन,’ उनले भने, ‘एक ठाउँबाट अर्को ठाउँसम्म जान सक्छ । तर काम भने केही गर्न नसक्ने गरि त्यो आक्रमणबाट घाइते भएको हो ।’

कान्छा भाइ सहिकुमारलाई आक्रमणकारीले बन्चरोको पासो र हम्मरले मेरुदण्डमा आक्रमण गरेको कारणले घाइते भएको उनले सुनाए । एक जना भाइको ज्यान लिने गरी भएको हत्या, दुई जना भाइ गम्भीर घाइते र एक जना भतिज घाइते हुने गरी भएको घटनाका मुख्य अभियुक्तहरुलाई मतियार बनाएर दुई वर्ष मात्र कैद सजाय सुनाएर अन्याय भएको बताए । ‘जिल्लाको फैसला विरुद्ध जिल्ला सरकारी वकिलल र आफ्नो निजी कानुन व्यवसायहरुसँग सल्लाह गरेर उच्च अदालत जाने तयारी गरिएको छ,’ उनले भने । उपचारवापत खोजेको ऋण तिर्न नसक्दा भएको एक कठ्ठा जग्गा पनि साहुलाई जिम्मा लगाउनुपर्ने अवस्था आएको गुनासो धनकुमारको छ ।

घाइते समुन्द्रले पनि धेरै चिसो र गर्मी हुँदा चोट लागेको ठाउँ सहनै नसक्ने गरी दुख्ने गरेको बताए । सवारीचालक रहेका उनी घटनाअघि दैनिक ५–६ सय रूपैयाँ कमाउँथे । ‘अहिले भीडभाडमा बस्न सक्दिन । धेरै रिंगटा चल्छ । प्राय पुराना कुराहरु स्मरणमा छैनन् । उपचार गराउने चाहना भए पनि पैसा छैन । घटना गराउनेले सहयोग गरेनन्,’ समुन्द्र भन्छन् ।
यस्तो थियो घटना

लोहन्द्रा खोलामाथि रहेको सुनसरी–मोरङ सिंचाइ आयोजनाको साइफनसहितको पक्की पुल २०७४ साल साउनको बाढीले बगाएपछि खोला वारपार गर्नलाई समस्या भयो । मानिस र दुई चक्के सवारी साधन आवतजावत गर्न मिल्ने गरी स्थानीय युवाले बाँसको भाटा प्रयोग गरेर खोलामाथि अस्थायी पुल बनाएका थिए । त्यसको खर्च उठाउनभन्दै युवाहरुले पुल वारपार गर्दा प्रतिमोटरसाइकल २५ रुपैयाँ लिन्थे ।उक्त पैसासँग जोडिएको विवाद बढेर सामूहिक आक्रमणमा परिणत हुँदा ज्यानै जाने घटना भएको प्रहरीको निस्कर्ष छ । प्रहरीका अनुसार पुलबाट उठाएको पैसा आफूहरुलाई पनि दिनुपर्ने भन्दै बेलबारी–५ का दिनेश भनिने घलेन्द्र श्रेष्ठलगायतका युवाले २०७७ भदौ ११ गते राति विवाद गर्न थाले । मोटरसाइकलमा आइपुगेका ग्रामथान–२ का केके भनिने कृष्णकुमार चौधरी पनि विवादमा सामेल भए । त्यसपछि चौधरीले फोन गरेर विनयकुमार सरदारलाई बोलाए ।

केही युवासहित विनय आइपुगेपछि झन् उग्र बनेको विवाद स्थानीयले साम्य पारेर पठाए । तर, रिसइबी साँधेर बसेका विनयले केही युवालाई भेला पारेर ल्याउँदै भोलिपल्ट घटना गराएको अनुसन्धानबाट खुलेको छ । झगडा चाल पाएर सम्झाउन पुगेका चन्द्रकुमारको उनीहरुकै आक्रमणमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । विवाद सामूहिक आक्रमणमा परिणत हुँदा एकै परिवारका एक जनाको मृत्यु र ३ जना घाइते भएका हुन् ।
मृतक चन्द्रकुमार नृत्य प्रशिक्षक हुन् । अविवाहित उनी विराटनगरमा बसेर नृत्य सिकाउँथे । कोरोना संक्रमणका लकडाउन भएपछि गाउँमै गएर बसेका थिए ।

आइतबार, १७ पुष, २०७९, बिहानको ०७:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर