विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश १ सभाका सदस्य अमृत अर्यालले संसदीय दलको नेतामा आफ्नो पराजयको दोष निवर्तमान सूचना तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई लगाएका छन् ।
शनिवार पत्रकार सम्मेलनको आयोजना गरेर उनले कार्कीकै डिजाइनमा आफूलाई हराइएको आरोप लगाएका हुन् । प्रदेश १ संसदीय दलको नेता छान्न समन्वय गर्ने जिम्मेवारी पाएका कार्कीले सांसदहरूलाई प्रेसर दिएको तथा आफूलाई डिस्करेज गरेको उनको आरोप छ ।
आफ्नो पक्षमा थोरै मत आउँछ भन्ने पूर्वजानकारी ४ दिन अगाडि नै भए पनि पार्टीभित्र भएको अन्यायविरुद्ध दलको नेताका लागि प्रतिस्पर्धामा आएको उनले दाबी गरे ।
‘नेताहरूले प्रदेशसभा सदस्यहरूलाई धम्की दिएर भोट नहाल्न दबाब दिएको मसँग प्रमाण छ’, अर्यालले भने, ‘मलाई भोट नहाल्न भन्दै ४ जना नेताहरूले धम्की दिएका रहेछन् ।’
ज्ञानेन्द्रबहादुर कार्कीप्रति आक्रोशित देखिएका अर्यालले पार्टीको जिम्मेवार नेताको रूपमा काम गर्न नसकेको आरोपसमेत लगाए । कार्कीकै कारण नेपाली कांग्रेसले सरकार गुमाउनु परेको पनि उनको आरोप छ ।
प्रदेशसभा सदस्यमा उठ्ने आफ्नो चाहना नरहे पनि नेताहरूकै आग्रहका कारण उठेको समेत उनले बताए । मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभामा उठ्न चाहे पनि वाम–लोकतान्त्रिक गठबन्धन हुँदा माओवादी केन्द्रका शिवकुमार मण्डलले टिकट पाउने भएपछि आफू प्रदेशसभा सदस्यमा उठेको अर्यालले बताए । नेताहरूले प्रदेशको मुख्यमन्त्री बनाउने आश्वासन दिएकाले आफू प्रदेशसभामा उठ्न तयार भएको पनि उनले खुलासा गरेका छन् ।
‘पाटीका ४ नेताले मुख्यमन्त्री बनाउँछु भनेपछि म प्रदेशसभामा उठेको थिएँ । जनताले मलाई मत दिएर जिताउनु पनि भयो’, अर्यालले भने, ‘तिनै नेताले पछि मलाई हराउन चलखेल गरे ।’
शुक्रवार भएको कांग्रेस प्रदेश १ संसदीय दलको चुनावमा उनले दुई मत मात्रै प्राप्त गरेका थिए । नेता अर्यालले आफूलाई प्रस्तावक सोलुखुम्बुकी डोल्मा तामाङले मात्रै भोट हालेको पत्रकार सम्मेलनमा बताए । समर्थक बसेकी सुनिताकुमारी गुरुङ रामले भने आफूलाई भोट नहालेको उनको दाबी छ । सुनितालाई दबाब दिएर भोट हाल्न नदिएको उनको आरोप छ ।
संसदीय दलको चुनावमा तीन जना उम्मेदवार थिए । संस्थापन पक्षका अर्याल, नेता कृष्णप्रसाद सिटौला पक्षका उद्धव थापा र संस्थापनइतर पक्षका केदार कार्कीबीच प्रतिस्पर्धा भएको थियो । दलको नेतामा १८ मत ल्याएर थापा निर्वाचित भए भने कार्कीले ९ मत र अर्याल २ मत पाएका थिए ।
आब कहु मन केना ल गैये