

विराटनगर । बैंकको चर्को ब्याजदर विरुद्ध विराटनगरका उद्योगी व्ययवासीहरूले विराटनगरस्थित नेपाल राष्ट्र बैंकको कार्यालय अगाडी धर्ना दिएका छन् ।
मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जन बढी बस्तुगत विभिन्न संघसंस्थाको एकबद्धतामा बिहीबारदेखि राष्ट्र बैंकको कार्यालयमा धर्ना दिएका हुन् ।
राष्ट्र बैंक घेराउ र धर्नाको कार्यक्रम माग पुरा नभएसम्म जारी रहने मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जानकारी दिए । उनीहरूले बिहान साढे ९ बजे मोरङ व्यापार संघबाट निस्किएको विरोध र्यालीले बजार परिक्रमा गर्दै १० बजेदेखि ४ बजेसम्म राष्ट्र बैंकको कार्यालय अगाडी धर्ना दिएर बसेका छन् । उद्योगी व्यवसायीहरूको माग पुरा नभए थप सशक्त आन्दोलन अगाडी बढाउने उनीहरूको भनाई छ ।
धर्ना कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले राष्ट्र बैंकको मौद्रिक नीतिका कारण नेपालका व्यवसायी मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताए । उनले अहिले १६ प्रतिशत पुगिसकेको ब्याजदर एकल अंकमा नआएसम्म, स्प्रेडदरलाई ४.४ बाट घटाएर २ प्रतिशतमा नझारेसम्म, संस्थागत निक्षेपको ब्याजलाई २ प्रतिशत नबनाएसम्म र चालु पुँजी कर्जा निर्देशिका खारेज नगरिएसम्म आन्दोलन नरोकिने चेतावनी दिए ।
‘बन्द हडतालमा उत्रनु हाम्रो रहर होइन, बाध्यता भयो,’ उनले भने, ‘हाम्रो आवाज सम्बोधन नभएपछि सडकमा जानुपर्ने बाध्यता आइपर्यो । हामी माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने छौँ ।’
नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले राष्ट्र बैंकले खुल्ला अर्थनीतिका नाममा नेपालका वाणिज्य बैंकलाई सामन्त बनाइरहेको आरोप लगाए । अध्यक्ष घिमिरेले राष्ट्र बैंककै आडमा व्यापारिक बैंकहरू चोरी खान पल्किएको टिप्पणी गरे । घिमिरेले अहिलेको विकराल परिस्थिति र व्यापारिक मन्दी ल्याउन सरकार र राष्ट्र बैंक दुवै जिम्मेवार भएको धारणा राखे ।
उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष प्रदीप मुरारकाले राष्ट्र बैंकको मौद्रिक नीतिको समीक्षामा स्प्रेड दर ४ प्रतिशत बनाउने भनिए पनि त्यसलाई किन कार्यान्वयन गरिएन भन्दै आक्रोश व्यक्त गरे । वरिष्ठ उपाध्यक्ष मुरारकाले ब्याज घट्न नदिने ठुलो खेलाडी राष्ट्र बैंक नै भएको दाबी गर्दै स्प्रेड दर ४ प्रतिशत बनाउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरे ।
उनले देशैभरका व्यवसायीले चालु पुँजी कर्जा निर्देशिकाको विरोध गरिरहेको उल्लेख गर्दै यस निर्देशिकाले देशको अलिअलि बचेको उद्योग व्यवसायलाई पनि धराशायी बनाउने दाबी गरे ।
मोरङ व्यापार संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले चर्को ब्याजदर कायम गरेर राज्यले उद्योगी व्यवसायीहरूको मेरुदण्ड भाच्ने काम गरेको बताए । ‘राज्यले उद्योगी, व्यवसायीहरू चाहिँदैन जस्तो गरी हाम्रो मागलाई सुनवाइ गरेको छैन,’ उनले भने, ‘राष्ट्र बैंकको नीतिको कारण अहिले उद्योगधन्दाहरू धराशायी भएको छ ।’ चर्को ब्याजदर तत्काल घटाएर एकल अंकमा नल्याएसम्म आन्दोलन नरोकिने उनले बताए ।
अटोमोवाईल्स एसोसिएसन नेपाल प्रदेश १ का सचिव मनोज विक्रम शाहले उद्योगी व्यवसायीहरूले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरूलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताए ।
व्यवसायीले शुक्रवार पनि नेपाल राष्ट्र बैंकको प्रादेशिक कार्यालयको प्रवेशद्वारमा धर्ना दिने कार्यक्रम राखेका छन् । उनीहरूले पाँच सूत्रीय माग अघि सारेर आन्दोलनमा उत्रिएका हुन् । चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने उनीहरूको पहिलो माग छ । चालु पुँजी कर्जा २५ प्रतिशतमा सीमित राख्ने निर्देशिकाले आफूहरू मारमा परेको उद्योगीको भनाइ छ ।
एकल अङ्कको ब्याजदर कायम गर्नुपर्ने उनीहरूको अर्को माग छ । अहिले ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरूको भनाइ छ ।
स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने माग पनि उनीहरूको छ ।