विराटनगर । पुस्तक प्रकाशन गर्दा अनियमित गरेको भन्दै पाठ्यक्रम विकास केन्द्रले कक्षा ११ र १२ मा एड्भान्स सरस्वती प्रकाशनले प्रकाशित गरेको सामाजिक अध्ययन जीवनोपयोगी शिक्षा विषयको किताब बिक्रीमा रोक लगाइएको छ ।पुस्तक प्रकाशन गर्दा आचारसंहिता उल्लंघन गरी अनियमितता गरेको आरोप लगाउँदै पाठ्यक्रम विकास केन्द्रले पुस्तक बिक्री वितरण र पठनपाठनमा रोक लगाएको हो ।
केन्द्रका अधिकृत तारा पाण्डे तिवारीले सूचना जारी गर्दै प्रालिले उक्त विषयको पाठ्यसामग्री प्रकाशन गर्दा अनियमित गरेको पाइएकोले पुस्तक प्रयोग नगर्न आग्रह गरेकी हुन् ।
केन्द्रले २०७७ मा कक्षा ११ र २०७८ मा कक्षा १२ को सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विषयको पाठ्यसामग्री प्रयोग गर्न दिएको स्वीकृतिसमेत रद्द गरिदिएको छ । एड्भान्सलाई अब दुई वर्षसम्म पुस्तक प्रकाशनको कुनैपनि स्वीकृति नदिने निर्णय गरेको छ । उक्त प्रकाशन गृहको पुस्तक अधिकांश निजी विद्यालयमा पठनपाठन भइरहेको छ ।
शैक्षिक सत्रको मध्यमा पाठ्यपुस्तकको अनुमति रद्द गरेपछि शिक्षक, विद्यार्थी भने अन्योलमा परेका छन् । केन्द्रले प्रतिबन्ध लगाएको पुस्तक कक्षा कोठामा भेटिए कारवाही गर्ने चेतावनी दिएको छ ।
पाठ्यसामग्री तयार पर्दा आचारसंहिता पालना नगरेको भन्दै केन्द्रका सूचना अधिकारी बाबुराम ढुंगानाले अनुमति रद्द गर्ने बताए । ‘पुस्तकमा बौद्धिक सम्पत्तिको दुरुपयोग गरिएको पनि पनि भेटिएको छ, उजुरी प¥यो कारबाही ग¥यौं,’ उनले भने, ‘थप कारबाहीको प्रक्रियामा छ ।’
शिक्षक र विषय विज्ञहरुले पाठ्यक्रममा तोकिएको भन्दा अनावश्यक पाठ्य सामग्री राखिएको गुनासो गर्दै आएका थिए । पुस्तकमा कतिपय तथ्यगत त्रुटिसमेत रहेको उनीहरुले औंल्याउँदै आएका थिए । तर, प्रकाशन गृहले विद्यालय सञ्चालक र शिक्षकलाई कमिसन दिएर उक्त पुस्तक लागू गराएको केन्द्रको आशंका छ ।
सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा विद्यालयको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ अनुसार लागू गरिएको नयाँ विषय हो । कक्षा ११ र १२ मा यो वा गणित विषय छनोट गरेर अध्ययन गर्न पाइने व्यवस्था गरिएको छ ।