पोस्तादाना आयातको खेलमा व्यापारी

विराटनगर । विराटनगरका प्रदीप मुरारका र दिनेश राठीसहित केही व्यवसायी नयाँ सरकार नबन्दै १० हजार टन पोस्तादानाको आयातका लागि लाइसेन्स लिने कसरतमा छन् ।

केही गरी उनीहरूले लाइसेन्स पाए भने १० हजार टन पोस्तादानामा १५ अर्ब रुपैयाँ फाइदा गर्ने देखिन्छ । मोरङ व्यापार संघका पूर्व अध्यक्ष खेमचन्द जैनका अनुसार पोस्तादानाको आयात टर्कीबाट गरिन्छ । टर्कीमा अहिले यसको निर्यातमूल्य (सीआईएफ कोलकाताको) प्रति टन २ हजार ८ सय डलर छ । नेपालमा हाल एक डलरको मूल्य १३२ रुपैयाँ छ ।

यो हिसाबले टर्कीबाट कोलकातासम्म १० हजार टन पोस्ता दाना ल्याइपुर्याउँदा नेरु ३ अर्ब ६९ करोड ६० लाख खर्च हुन्छ । त्यस्तै सो पोस्ता दाना कोलकाता बन्दरगाहबाट विराटनगरको गोदामसम्म ल्याउँदाको ढुवानीको खर्च ६ करोड ५० लाख रुपैयाँ लाग्छ । पोस्तादानाको मूल्यमा कोलकाता–विराटनगरको ढुवानी भाडा जोड्दा ३ अर्ब ७६ करोड १० लाख हुन्छ । यसमा भन्सार कार्यालयले १० प्रतिशत महसुल लिन्छ। सो दरले महसुलको रकम ३७ करोड ६१ लाख हुन्छ ।

अब पोस्ताको मूल्य ३ अर्ब ७६ करोड १० लाखमा महसुलको रकम ३७ करोड ६१ लाख रुपैयाँ जोडेर भन्सार कार्यालयले फेरि भ्याट लिन्छ । यो हिसाबले मूअकरको रकम ५३ करोड ७८ लाख २३ हजार रुपैयाँ हुन्छ । यसरी कोलकातासम्मको ढुवानी खर्चसहित ३ अर्ब ७६ करोड १० लाख रुपैयाँ परेको १० हजार टन पोस्ता दानाको भन्सार महसुल र भ्याट जोड्दा ९१ करोड ३९ लाख २३ हजार हुन आउँछ । यही रकम सरकारले राजस्वबापत प्राप्त गर्ने हो ।

सो पोस्ताको टर्की बन्दरगाहदेखि भन्सार विन्दुसम्मको परल मूल्य ३ अर्ब ७६ करोड १० लाख र तिरिएको कुल राजस्व ९१ करोड ३९ लाख २३ हजार रुपैयाँ जोड्दा ४ अर्ब ६७ करोड ४९ लाख २३ हजार रुपैयाँ हुन्छ । यसरी १० हजार टन पोस्ता आजका मितिमा टर्कीदेखि विराटनगरको गोदामसम्म ४ अर्ब ६७ करोड ४९ लाख २३ हजार रुपैयाँमा आइपुग्छ ।

व्यवसायी जैनले भने, ‘यो हिसाबले १ किलो पोस्ता दाना टर्कीदेखि विराटनगरको गोदामसम्म आइपुग्दा ४६७ रुपैयाँ ५० पैसामा आइपुग्छ । भारतमा १ किलो पोस्तादानाको होलसेल मूल्य नेरु २ हजारभन्दा बढी छ । यो हिसाबले नेपालको आयातकर्ताले १ किलो पोस्तादानाबाट १ हजार ५ सयभन्दा बढी आर्जन गर्नसक्ने देखिन्छ । र, मागिएको १० हजार टनमा व्यवसायीलाई १५ अर्बको फाइदा पुग्नेछ ।’
सरकारले पोस्तादानाको भन्सार महसुल प्रति किलो १ हजार रुपैयाँ निर्धारण गर्ने हो भने १० हजार टनको आयातमा राज्यलाई १० अर्बभन्दा बढी फाइदा हुने देखिएको छ । वर्तमान दरबन्दीअनुसार १० हजार टन पोस्ता दाना आयात गर्दा राज्यलाई करिब १ अर्ब मात्र राजस्व आउने देखिन्छ ।
पूर्वका व्यवसायीले पोस्ता दानाको भन्सार महसुल प्रति किलो १ हजार रुपैयाँ निर्धारण गर्न माग गरेका हुन्। हाल यसको आयात–महसुल १० प्रतिशत र भ्याट छ । जैनले सरकारले पोस्ता दानाको आयात महसुल प्रति किलो १ हजार रुपैयाँ निर्धारण गरेपनि नेपालका आयातकर्ता फाइदामा हुने जिकिर गरे । केही व्यवसायी नयाँ सरकार गठन हुनुअगावै अहिलेको सरकारलाई प्रभावमा पारेर १० हजार टन पोस्ता दानाको आयातका लागि अनुमतिपत्र हात पार्न कसरत गरिरहेका छन् ।

यही वेला पूर्वका व्यवसायीले सरकारले आयात गर्न चाहने सबै व्यवसायीलाई अनुमतिपत्र दिनुपर्ने माग गर्दै यसको भन्सार महसुल प्रति किलो १ हजार रुपैयाँ निर्धारण गर्न सुझाव दिएका हुन् । जैनले थपे, ‘सरकारले यही पोस्ता दानाको आयात महसुल भ्याटसहित प्रति किलो १ हजार रुपैयाँ निर्धारण गर्ने हो भने १० हजार टन पोस्तादानामा १० अर्बभन्दा बढी राजस्व प्राप्त गर्नेछ । यसमा व्यवसायीलाई पनि कुनै घाटा छैन । आखिर यहाँ आएको पोस्तादाना ९५ प्रतिशतभन्दा बढी तस्करी भएर भारत नै पुग्ने हो’, उनले भने, ‘त्यहाँको होलसेल बजारमा पोस्ताको मूल्य किलोको नेरु २ हजार र खुद्रामा २ हजार ५ सय छ ।’

अर्का आयातकर्ता पंकज दुगडले पनि चाहनेजति सबै व्यवसायीले पोस्तादानाको आयात गर्न पाउनुपर्ने माग गरे । ‘आफूले चाहेको र कानुनबमोजिमको उद्योग व्यवसाय गर्न पाउने अधिकार नेपालका हरेक नागरिकमा निहित छ’, दुगडले भने, ‘त्यसैले कुनै पनि वस्तुको आयात र व्यवसायमा सीमित वर्ग वा समूहलाई मात्र प्राथमिकता दिएर पोस्ने काम सरकारले गर्न मिल्दैन ।’

व्यवसायी हेमकरण दुगडले पनि सीमित समूहलाई पोस्ता दानाको आयातको अनुमति दिनु उदार अर्थतन्त्र विपरित हुने बताए । व्यवसायी दुगडले भने, ‘देशमा ५–७ जना मात्र व्यवसायी छैनन् । हरेक सरकारले उनीहरुलाई मात्र पोस्नु दुःखको विषय भएको छ । आफूलाई लोकतान्त्रिक भन्ने सरकारले लोकतन्त्रको मर्यादा ननाघ्ने गरी काम गर्नुपर्छ । त्यसैले चाहनेजति सबैले पोस्तादानाको आयातको अनुमति पाउनुपर्छ ।’
खासमा नेपालमा पोस्तादाना प्रतिबन्धित वस्तु होइन । तर भारत सरकारले भने यसलाई नारकोटिक समूहमा राखेर यसको आयातमा प्रतिबन्ध लगाएको छ । त्यसैले नेपालका व्यवसायीले सरकारको अनुमति नलिई ओजिएल अर्थात् खुला आयात प्रणाली (ओपन जनरल लाइसेन्स) अन्तर्गत पोस्तादानाको आयात गरे भने भारत सरकारले बन्दरगाहमै सडाउँछ । त्यसैले भारतले बिच बाटामै पोस्तादाना नरोकिदियोस् भनेर नेपाली व्यवसायी यसको आयात गर्दा लाइसेन्स लिने गर्दछन् र यसैमा मोटो रकमको लेनदेन गरिन्छ । यसअघि नेपालका व्यवसायीले २०५३ सालमा अफगानिस्तानबाट पाकिस्तान हुँदै आयात गरेको करोडौँको पोस्तादाना कोलकाता बन्दरगाहमै रोकेर कुहाइदिएको थियो । त्यस्तै २०६६ सालमा विराटनगरका व्यवसायीले सिंगापुरबाट बंगलादेशको मोगंला पोर्ट र फूलबारी नाका हुँदै ३ हजार टन पोस्तादानाको आयात गरे। त्यो बेलामा पनि पोस्तादाना फूलबारी नाकामै कुहाइदियो ।

यसअघि २०५३ को कोलकाता बन्दरगाहमा भएको घटनाको डरले व्यवसायीले २०६६ सालमा फूलबारी नाकाको प्रयोग गरेका थिए । तर भारत सरकारले २०६६ मा पनि पोस्तादाना नेपाल भित्रन दिएन । यसपछि आर्थिक वर्ष २०७७–७८ मा तत्कालीन ओली सरकारले विराटनगरका प्रदीप मुरारका र दिनेश राठीलाई १–१ हजार टन गरी कुल २ हजार टन पोस्तादाना आयात गर्ने लाइसेन्स दियो । पोस्तादाना मुरारका र राठीले टर्कीबाट भारतको विशाखापट्टनम बन्दरगाह हुँदै वीरगञ्जको सिर्सिया बन्दरगाहमा ल्याएर आयात गरे । किनकि मुरारका र राठीले कोलकाता बन्दरगाह र फूलबारी नाकाको घटना देखिसकेका थिए ।

बिहिबार, ०७ पुष, २०७९, बिहानको ०८:१९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर