चर्को ब्याजदरविरुद्ध उद्योगीहरू आज देखी सडकमा आउने

विराटनगर । बन्द, हड्ताल तथा आन्दोलनको सधैं विपक्षमा रहने उद्योगी व्यवसायी अन्ततः बन्द हड्तालसहितको कार्यक्रमसहित सडकमा आउने भएका छन् ।

बैंकहरुले चर्को ब्याजदर लादेको भन्दै औद्योगिक नगरी विराटनगरका उद्योगी व्यवसायी बिहीबारदेखि सडकमा आउने भएका हुन् । माग पूरा नभएसम्म आन्दोलनको कार्यक्रमबाट पछि नहट्ने घोषणा पनि उद्योगी व्यवसायीले गरेका छन् ।

उद्योगी व्यापारीहरुका विभिन्न संघ संगठनहरुले आन्दोलन घोषणा गरेका हुन् । मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ को संयुक्त आयोजनामा तीन दर्जनभन्दा बढी बस्तुगत संघसंस्थाको एैक्यबद्धतामा बिहीबारबाट उद्योगी व्यवसायीहरू आन्दोलनमा उत्रिँदैछन् ।

उद्योगी व्यवसायीहरुले सरकार र नेपाल राष्ट्र बैंकले आफूहरुलाई विस्थापनमै पार्ने नियत राखेर चर्को ब्याजदर लादेको भन्दै आन्दोलनमा जानुपर्ने बाध्यता सिर्जना भएको बताएका छन् । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आन्दोलन घोषणा गरेका हुन् ।

उद्योगी व्यवसायीहरुका तीन दर्जनभन्दा बढी संघ संस्थाहरुले बिहीबारदेखि उद्योग र पसलहरू बन्द गरेर राष्ट्र बैंकको विराटनगरस्थित कार्यालयमा धर्ना दिने, एक दिन बजार बन्द गर्ने लगायतका कार्यक्रम घोषणा गरेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले जानकारी दिए । ‘आन्दोलन निष्कर्षमा नपुगेसम्म हामी पछि हट्ने छैनौं’, अध्यक्ष रिजालले भने, ‘आन्दोलनलाई देशव्यापी बनाउनेछौं ।’

उनीहरूले पाँच सुत्रीय माग अघि सारेका छन् । चालु पुँजी कर्जा निर्देशिका खारेज गर्नुपर्ने उनीहरुको पहिलो माग छ । चालु पुँजी कर्जा २५ प्रतिशतमा सिमित राख्ने निर्देशिकाले आफूहरु मारमा परेको उद्योगीको भनाइ छ । एकल अंकको ब्याजदर कायम गर्नुपर्ने उनीहरुको अर्को माग छ । अहिले ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरुको भनाइ छ । स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्ने तथा बैंकर र व्यवसायीलाई अलग गर्नुपर्ने माग पनि उनीहरुको छ ।

‘बन्द हड्तालमा उत्रनु हाम्रो रहर होइन, बाध्यता भयो,’ नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले भने, ‘हाम्रो आवाज सम्बोधन नभएपछि सडकमा जानुपर्ने बाध्यता आइपर्यो । हामी माग पूरा नभएसम्म आन्दोलन जारी राख्नेछौं ।’ बिहीबारदेखि सुरू हुने आन्दोलन देशव्यापी बनाएर अगाडि बढने उनले बताए ।

‘मोरङ व्यापार संघमा बिहीबार बिहान ९ बजे भेला हुनेछौं । त्यसपछि विरोधस्वरुप वृहत ¥यालीले बजार परिक्रमा गर्दै विराटनगरस्थित राष्ट्र बैंकको कार्यालय अगाडि धर्ना दिनेछौं,’ उनले भने, ‘विहान १० देखि ४ बजेसम्म धर्नाको कार्यक्रम रहेको छ ।’ माग पूरा नभएसम्म राष्ट्र बैंक घेराउ र धर्नाको कार्यक्रम निरन्तर रहने उनले बताए ।

‘लगातार विहीबार शुक्रबार अन्दोलन गरेपछि शनिबार समिक्षा हुनेछ । त्यसदिनसम्म पनि मागको सुनवाइ नभए आइतबारबाट आन्दोलनको स्वरुप परिर्वतन गर्नेछौं,’ उनले भने, ‘आइतबार राष्ट्र बैंकको कर्मचारीलाई कार्यालयभित्र पनि जान नदिएर काम कारवाही ठप्प पार्नेछौं ।’ उद्योगी व्यवसायीहरूको माग सुनवाइ नभए सडक सर्घषको आन्दोलनले निरन्तरता पाउने उनले बताए ।

उद्योग संगठन मोरङका उपाध्यक्ष नन्दकिशोर राठीले राज्यले उद्योगी व्यवसायीहरूको मागलाई बेवास्ता गरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए । ‘पटक–पटक चर्को ब्याजकोविरुद्ध उद्योगी व्यवसायीहरुले राज्यलाई अवगत गराए पनि माग सुनवाइ नभएपछि व्यवसायीहरु सडकमा आउन बाध्य हुनुपरेको छ,’ उनले भने, ‘एक वर्षदेखि चर्को ब्याजदरको विरुद्ध उद्योगी व्यवासायीहरुले राज्यलाई जानकारी गराएका छौं । माग पूरा नभएपछि आन्दोलनमा उत्रिनु परेको छ ।’

बिहिबार, ०७ पुष, २०७९, बिहानको ०८:१३ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर