विराटनगर । आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले खोटाङमा भएको आगलागी पीडितका परिवारलाई प्रदेश सरकारले उचित राहत उपलब्ध गराउने बताएका छन् ।
खोटाङ आगलागीको घटनाले आफूलाई दुःखित तुल्याएको भन्दै उनले. पीडित परिवारको बासको व्यवस्थाका लागि आवश्यक राहत र सहयोग गर्ने बताएका हुन् । मन्त्री कार्कीले मंगलबार एक विज्ञप्ति जारी गर्दै आगलागीबाट मानवीय क्षति नभए पनि भौतिक संरचना र विस्तारित बजार क्षेत्रमा क्षति पुगेकोले सरकारले त्यसलाई गम्भीर रुपमा लिएको उल्लेख गरेका छन् ।
गएराति जिल्लाको केपिलासगढी गाउ“पालिका वडा नं. ४ बाक्सिला बजारमा दीपक गुरुङको घरबाट बिजुलीको तार सर्ट भई सुरु भएको आगलागीले बजार क्षेत्रका ५ घर जलेका थिए । आगलागीबाट त्यहाँ सञ्चालनमा रहेका विभिन्न पसल र संस्थाका कार्यालयमा क्षति भएको थियो । आगलागीबाट झण्डै ४ करोड ९९ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको थियो ।