विराटनगर । प्रदेश १ को सबैभन्दा ठुलो सरकारी अस्पताल कोशीमा बिग्रिएको दुई महिनापछि ‘सिटी स्क्यान’ मेसिन बनाएर सञ्चालनमा ल्याएको छ ।
साढे आठ लाख इमेज निकालिसकेको कोशीको यो सिटी स्क्यानको ट्युब बिग्रिएपछि ४ कार्तिकदेखि थन्किएको थियो । ट्युब परिवर्तन गर्न १ करोड खर्च लाग्ने थियो । नारायणी क्षेत्रीय अस्पताल वीर गन्जमा सिटी स्क्यान बिग्रिएर थन्किएको थियो । उक्त सिटीक्स्यानको ट्युब राम्रो रहेको प्राविधिक जाँच गरेर थाहा भएपछि कोसी अस्पतालका मेसु डा। लक्ष्मीनारायण यादवको पहलमा स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर उक्त ट्युब ल्याएर जडान गरेपछि सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।
फिलिपस कम्पनीको सिटी स्क्यानमा ट्युब जडान गरेपछि पूर्ण रूपमा सञ्चालनमा आएको प्राविधिक इन्जिनियर शेखर रन्जितले जानकारी दिए । ‘काशीमा रहेको सिटी स्क्यानमा ट्युब जडान गरेर हामीले आइतबार प्राविधिक जाँच पनि गरियो । राम्रोसँग चलेको छ,’ उनले भने, ‘सोमबार ७ जनाको सिटी स्क्यान गरिएको छ ।’
कोशीमा दैनिक २५ जनासम्मको सिटी स्क्यान हुने गरेको छ । ६ जना रेडियो लोजिष्ट डाक्टर र ४ जना टेक्निसियन रहेका छन् । दैनिक २ सय देखि २ सय ५० जनाको भिडियो ए–क्सरे र २ सय भन्दा बढी ए–क्सरे हुने गरेको छ ।
यसअघि दुई महिनासम्म ‘सिटी स्क्यान’ बिग्रिदा कोशीमा आउने बिरामीले महँगो शुल्क तिरेर निजी अस्पताल जान बाध्य थिए ।
कोशीमा अस्पतालमा दैनिक आउने १ हजार देखि १ हजार ५ सय बिरामीमध्ये ४० प्रतिशतलाई अल्ट्रासाउन्ड र ८÷१० प्रतिशतलाई सिटी स्क्यान, एमआरआई र एक्सरेको आवश्यकता पर्ने गरेको छ ।