प्रदेश सरकार बनाउन निर्णायक निर्मला

‘पार्टीको निर्णय नै मुख्य कुरा हुन्छ । तर, मलाई चाहिँ पहिचानको पक्षमा उभिएका शक्तिहरुसँग गठबन्धन भए राम्रो हुन्छ भन्ने लागेको छ ।’

विराटनगर ।   प्रदेश १ को सरकार निर्माणमा निर्णायक अवस्थामा रहेको जनता समाजवादी पार्टी (जसपा) ले कसलाई समर्थन गर्ने टुंगो गरिसकेको छैन । त्यसैले प्रदेश १ मा सरकारको नयाँ नेतृत्वबारे सबै सम्भावनाको ढोका खुला नै छ ।

यस्तो बेलामा प्रदेश १ मा जसपाकी एक्ली सांसद निर्मला लिम्बू कता उभिने विचारमा छिन् ? मंगलबार हाम्रोमतको यो प्रश्नमा निर्मलाले पार्टीको निर्णय नै शिरोपर गर्ने जवाफ दिइन् । उनले दिएको जवाफले उनी सत्ता गठबन्धनतिरै लाग्न पाए हुने भन्ने मनस्थितिमा रहेको देखिएको छ ।
उनले वर्तमान सत्ता गठबन्धनतिर उभिन पाए खुसी हुने संकेत गरेकी छन् । ‘पार्टीको निर्णय नै मुख्य कुरा हुन्छ’, उनले भनिन् ‘तर, मलाई चाहिँ पहिचानको पक्षमा उभिएका शक्तिहरुसँग गठबन्धन भए राम्रो हुन्छ भन्ने लागेको छ ।’

प्रदेश १ मा पहिचानको राजनीतिक मुद्दा पेचिलो रुपमा उठ्दै आएको छ । माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरुले अघिल्लो संसद्का बेला पहिचानमा आधारित रहेर प्रदेश नामकरण गर्नुपर्ने अडान राखेका थिए भने एमालेले पहिचानको विषयमा असहमति प्रकट गर्दै आएको छ । अहिले एमालेकै गठबन्धनमा रहेको राप्रपा पनि पहिचानप्रति सकारात्मक छैन । त्यसैले उनले ‘पहिचान पक्षधर’ भनेर सत्ता गठबन्धनका दलहरुलाई संकेत गरेको बुझ्न सकिन्छ ।

यसपटक ताप्लेजुङकी लिम्बूको पहिलो संसद् यात्रा नै यति रोमान्चक बन्दैछ कि प्रदेश १ संसद्मा उनी जता उभिइन्, उतैतिर नयाँ सरकार बन्नेवाला छ । प्रदेशमा प्रत्यक्षतर्फ एउटा पनि सीट नजितेको जसपाले समानुपातिकबाट प्रदेशसभामा एउटा सीट हात पारेको छ । त्यसमा लिम्बू चयन हुने पक्कापक्की भइसकेको छ । अहिलेसम्मको अवस्थामा जसपा सांसद निर्मला जता उभिने हो, उतैतिर बहुमत पुग्ने अवस्था भएका कारण जसपा प्रदेशमा निर्णायक अवस्थामा उभिएको छ ।

प्रदेशमा नयाँ सरकार बनाउने निर्णायक मत नै उनको हुने भएपछि निर्मलालाई रमाइलो संयोग जुर्ने लगभग निश्चित भएको छ । यही निर्णायक भूमिकासहित उनी ताप्लेजुङबाट ‘माननीय’ बनेर विराटनगर आउँदैछिन् । निर्मलाका लागि सरकार बनाउने मत मात्रै होइन, सांसद बनेर प्रदेशसभा प्रवेश गर्दैगर्दा मन्त्री पाउने सम्भावना पनि निश्चितै छ । काँग्रेस नेतृत्वको सत्ता गठबन्धनलाई समर्थन गरे पनि वा एमाले नेतृत्वको गठबन्धनलाई साथ दिए पनि जसपाले सरकारमा हिस्सेदारी पाउने निश्चित छ । त्यो अवसरको फाइदा उनैलाई प्राप्त हुने पनि निश्चित छ । किनभने उनी संसद्मा जसपाबाट उपस्थित एक्ली सांसद जो हुन् ।

‘प्रदेश सरकार बनाउन म नै निर्णायक हुन्छु होला भन्ने सोचेकै थिइनँ’, जसपाबाट प्रदेश १ को समानुपातिक सांसद चुनिएकी निर्मलाले भनिन् ‘तर, राजनीतिक परिस्थिति र गणितले त्यस्तो स्थिति आउने देखियो ।’जसपाले निर्णय गरिनसकेका कारण प्रदेशमा काँग्रेस नेतृत्वको गठबन्धन र एमाले नेतृत्वको अर्को गठबन्धनका नेताहरुको जसपा फकाउने दौड जारी छ । प्रदेशदेखि केन्द्रसम्मका नेताहरु भेट्ने, शक्ति बाँडफाँटको हिसाब लगाउनेसम्मको काममा नेताहरु लागिरहेका छन् । ‘जसपाले ठोस निर्णय नलिएसम्म प्रदेशमा जसको पनि नेतृत्व सम्भव देखिएको छ’, एमाले प्रदेश १ का एक जना नवनिर्वाचित सांसदले भने ‘त्यसैले हामी पनि प्रयास जारी राखिरहेका छौं ।’

एमालेले यस्तो प्रयास जारी राख्दा सत्ता गठबन्धनका दलहरुले पनि दौडधुप तीव्र पारेका छन् । ‘जसपा निर्णायक भएकाले उसँग विभिन्न चरणमा संवादहरु भइरहेका छन्’, प्रदेश १ मन्त्रीपरिषदका एक सदस्यले भने ‘अहिलेसम्मको अवस्था हेर्दा जसपा सत्ता गठबन्धनमै आउने सम्भावना देखिन्छ ।’ आफ्नो नेतृत्वमा सरकार बनाउने पहल गरिरहेका दलहरुको दाबी जे–जस्तो भए पनि बल आखिर जसपाको ‘कोर्ट’मा छ । त्यसैले उसले आधिकारिक निर्णय नलिएसम्म प्रदेशमा कसको नेतृत्व हुने भन्ने सबै सम्भावना खुला नै देखिन्छ ।

निर्णायक सांसद निर्मला फुङलिङ–६ मा ढाका कपडा उद्योगसमेत चलाइरहेकी छन् । ४२ वर्षीया निर्मलाले थपिन् ‘म पार्टीको इमान्दार कार्यकर्ता र सिपाही हुँ । यसमा मेरो व्यक्तिगत रोजाइ गौण हुन्छ । मलाई पहिचान पक्षधरहरुसँग गठबन्धन भए राम्रो लाग्नेछ । ’कुमार लिङ्देन नेतृत्वको लिम्बूवानबाट स्कुले जीवनबाटै राजनीतिक यात्रा थालेकी उनी अहिले जसपाको पोलिटब्यूरो सदस्य र प्रदेश सहइन्चार्जको जिम्मेवारीमा छिन् । अशोक राई, रकम चेम्जोङ, अजम्बर काङमाङहरुले एमालेबाट विद्रोह गरेर संघीय समाजवादी पार्टी बनाएपछि निर्मला पनि सो पार्टीको संस्थापकमध्येकै एक थिइन् । एकता प्रक्रिया हुँदै अहिले उनी जसपाको जिम्मेवारीमा आइपुगेकी हुन् । यसपटक उनकै भूमिका प्रदेशमा सरकार निर्माणका लागि निर्णायक हुँदैछ । ९३ सदस्सीय प्रदेशसभामा एमालेबाट ४० जना सांसद छन्। जसमा राप्रपाका ६ जनाको साथ एमालेलाई रहने कल्पना गर्ने हो भने उसलाई बहुमत पुर्याउन अझै एक सीट पुग्दैन । ४७ जनाले बहुमत पुग्ने अवस्था प्रदेशमा छ । राप्रपाले अहिलेसम्म आफू सत्तामा जान नहतारिने बताउँदै आए पनि सरकार बन्न निर्णायक हुने अवस्थामा उसको समर्थन प्रदेशमा एमालेलाई हुने सम्भावना बलियो छ ।

जसरी एमालेलाई १ सीटले बहुमत पुग्ने अवस्था छ ठीक त्यसैगरी सत्ता गठबन्धनलाई पनि बुहमत सिद्ध गर्न १ सीट नै आवश्यक छ । काँग्रेससँग २९ सीट रहेको प्रदेशमा माओवादीसँग १३ र एकीकृत समाजवादीसँग ४ सीट छ। यसरी सत्ता गठबन्धनलाई पनि बहुमत पुर्याउन जसपाको साथ अनिवार्य छ ।

जसपा अध्यक्ष उपेन्द्र यादवले एक साता अघि विराटनगरमा ‘एमालेसँग चुनावी सहकार्य मात्रै भएको र त्यो कोर्स सकिएको’ बताएपछि सत्ता गठबन्धन हौसिएको थियो । तर, लगत्तै अर्का नेता अशोक राईले ‘त्यो अध्यक्षको व्यक्तिगत विचार मात्रै भएको’ बताएपछि एमाले उत्साही देखिएको छ । यस्तो बेलामा जसपाको एकताबद्ध निर्णय नआउने हो भने प्रदेशकी एक्ली सांसद निर्मलाको पोजिसन के हुनेछ ? जसपा नेताहरु यस्तो अवस्था नै नआउने बताउँछन् । यदि त्यस्तो अवस्था आइहाले अशोक राई निकट निर्मलाले आफ्नै नेताको लाइन लिने हुन् कि ? जवाफमा निर्मलाको प्रष्टोक्ति छ ‘हामी पार्टीका इमान्दार सिपाही हौं, हामी पार्टीको लाइनमा उभिन्छौं ।’

बुधबार, २८ मंसिर, २०७९, बिहानको ०७:५४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर