झापाबाट सांसद हुनेको ओइरो, प्रतिनिधिसभामा मात्रै ११ जना, प्रदेशसभामा २० जना

विराटनगर । प्रदेश १ को झापा जिल्ला सबैभन्दा धेरै सांसदहरु रहेको जिल्ला देखिएको छ । झापामा प्रतिनिधिसभा र प्रदेशसभाका समानुपातिक तथा प्रत्यक्ष जितेका सांसदहरुको संख्या ३१ हुने भएको हो ।

झापामा प्रतिनिधिसभाको ५ र प्रदेशसभाको १० निर्वाचन क्षेत्र छ । निर्वाचन आयोगमा राजनीतिक पार्टीहरुले समानुपातिक तर्फको बन्दसूचीमा रहेको नाम सिफारिस गर्ने क्रममा झापाकै उम्मेद्वार प्राथमिकतामा परेको देखिएको छ । झापामा प्रतिनिधिसभामा ६ जना सांसद सिफारिसमा परेका छन् भने समानुपातिकमा १० जना सिफारिस भएका छन् ।

झापामा समानुपातिकतर्फ सिफारिस हुनेहरुमा नेपाली काँग्रेसबाट सरिता प्रसाई, एमालेबाट कालुराम राई, सुनिता बराल, हर्कमाया विश्वकर्मा र अमृत राजवंशीलाई सिफारिस गरेको हो । यस्तै नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १३ सांसदमध्ये प्रदेश १ को झापाबाट इन्दिरा रानामगर र निशा डाँगीलाई सिफारिस गरेको छ ।

यता, प्रदेशको समानुपातिक तर्फ एमाले, काँग्रेस र राप्रपाले मात्रै झापाबाट तीन–तीन जनाको नाम सिफारिस गर्दा माओवादी केन्द्रले पनि १ जना झापाबाटै सिफारिस गरेको छ ।

एमालेबाट प्रदेशसभा समानुपातिकमा झापाबाट पर्नेहरुमा कमला थापा मगर, तारादेवी ढकाल र नम्बरलाल धिमाल रहेका छन् । एमालेले प्रदेश १ प्रदेशसभामा १५ जना सांसद समानुपातिक तर्फबाट पाएको छ । १२ जना सांसद पाएको काँग्रेसले झापाबाट उद्धब थापा, मोहन महर्जन र लखिकुमारी गणेश सिफारिस गर्दा ४ जना समानुपातिक सांसद पाएको माओवादी केन्द्रबाट झापाकै बन्दना झाँगडलाई प्रदेशसभामा सिफारिस गरेको छ ।

यता, ४ जना समानुपातिक सांसद पाएको राप्रपाबाट प्रदेशसभामा झापाका मात्रै ३ जना परेका छन् । जसमा निमसरी राजवंशी, अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मा रहेका छन् ।

प्रदेश १ मा प्रतिनिधिसभामा परे १७ जना

प्रतिनिधिसभामा समानुपातिक तर्फबाट दलहरुले सिफारिस गरेका ११० जनामध्ये प्रदेश १ बाट १७ जना परेका छन् । नेपाली काँग्रेसले ३२ समानुपातिक सांसदमा सरिता प्रसाई (झापा), सरस्वती बजिमय (खोटाङ), लीलादेवी बाखिम (लिम्बू) (ताप्लेजुङ), माया राई (भोजपुर) र कल्पना चौधरी (सुनसरी)लाई समानुपातिक तर्फबाट सांसद सिफारिस गरेको छ ।

यस्तै समानुपातिकतर्फ सबैभन्दा ठूलो दल नेकपा एमालेले प्रदेश १ बाट मात्रै ६ जनाको नाम सिफारिस गरेको छ । जसमा हेमराज राई (भोजपुर), कालुराम राई (झापा), उर्मिला थेवे (ताप्लेजुङ), सुनिता बराल (झापा), हर्कमाया विश्वकर्मा (झापा) र अमृत राजवंशी (झापा) रहेका छन् । एमालेले समानुपातिकमा ३४ जना सांसद सिफारिस गर्दा झापाबाट मात्रै ४ जनाको नाम सिफारिस गरेको हो ।

यता, माओवादी केन्द्रले सिफारिस गरेका १४ जनामध्ये भोजपुरबाट दुर्गा राईलाई मात्रै प्रदेश १ बाट सिफारिस गरेको छ । नयाँ दलको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि १३ सांसदमध्ये प्रदेश १ बाट ३ जनाको नाम प्रतिनिधिसभामा सिफारिस गरेको छ । जसमा इन्दिरा रानामगर (झापा), निशा डाँगी (झापा) र अशोककुमार चौधरी (सुनसरी इटहरी) रहेका छन् ।

यता, ५ जना समानुपातिक सांसद पाएको जसपाले प्रदेश १ बाट उदयपुरकी सुशीला श्रेष्ठको नाम सिफारिस गरेको छ । श्रेष्ठ उक्त पार्टीका नेता अशोक राईकी श्रीमती हुन् । समानुपातिकमा ७ सांसद पाएको र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको गृह प्रदेश भएपनि राप्रपाले प्रदेश १ बाट कोही पनि सिफारिस गरेको छैन । उता, ५ जना सांसद पाएको जनमत पार्टीले मोरङबाट सोनु मुर्मुलाई सिफारिस गरेको छ ।

आइतबार, २५ मंसिर, २०७९, दिउँसोको ०३:४६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर