विराटनगर । प्रदेश १ प्रदेश सभामा सबैभन्दा कम मतान्तरले चुनाव जित्नेमा संखुवासभाका राजेन्द्र कार्की हुन ।
कार्कीले संखुवासभा १(१) मा एमालेका भविश्वर गुरुङलाई ३४ मतले जितेका थिए । कार्कीले १३ हजार ४३३ मत ल्याउँदा गुरुङले १३ हजार ३९९ मत ल्याएका थिए । थोरै मतान्तरले चुनाव जित्ने कार्कीको संसदीय यात्रा यो पहिलो हो ।
थोरै मतान्तरले चुनाव जित्ने भाग्यमानी सांसद राजेन्द्र ए जना दलित महिलाको पक्षमा आवाज उठाउँदा मरणासन्न हुने गरी कुटपिट गरिएका व्यक्ति हुन् ।
२०३२ साउन १७ गते संखुवासभाको खाँदबारी नगरपालिका–७ मा जन्मेका कार्की २०४६ सालदेखि वामपन्थी राजनीतिमा सहभागी भएका थिए । एमालेनिकट अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीति शुरू गरेका कार्कीले हिमालय माध्यमिक विद्यालयमा ८ कक्षामा पढ्दा अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट राजनीति शुरू गरेका हुन् । २०४७ सालमा विद्यालयमा नेपाल विद्यार्थी संघ र अनेरास्ववियुबीच झडप हुँदा उनी पहिलोपटक पक्राउ परेका थिए । त्यति बेला उनी ९ कक्षामा पढ्दै थिए ।
उनले २ कार्यकाल अनेरास्ववियुको जिल्ला अध्यक्ष भएर काम गरे । २०५१ र २०५४ सालमा अनेरास्ववियु संखुवासभाको जिल्ला अध्यक्ष भएका थिए उनी ।
विद्यार्थी राजनीति गर्दा नै उनले जेल जीवन मात्रै बिताउनु परेन, मरणासन्न हुने गरी कुटपिट पनि भयो । २०५३ सालमा दलित महिलामाथि एक पुरुषले अवैध सम्बन्ध राखेको र गर्भ रहेको घटना बाहिर आयो । त्यो घटना मिलाउन गाउँकै अगुवाहरू पनि लागे । ती महिलामाथि नै दोष लगाएर पीडकलाई बचाउन खोजियो । ती पुरुषले महिला जिम्मा लिनुपर्ने भनेर कार्कीले आवाज उठाउन थालेपछि उनी पीडकको निसानामा पर्न थाले तर माथिल्लो जातका भनिएका ती पुरुषले महिलालाई स्वीकार्ने देखिएन ।
कार्कीको नेतृत्वमा रहेको अनेरास्ववियुले ती पीडित महिलाको पक्षमा आवाज उठाइरहेको थियो तर पीडक पक्ष घटना मिलाउनेभन्दा पनि आन्दोलनको नेतृत्व गर्ने मान्छे नै सिध्याउने खेलमा लागे । कार्कीलाई बाटोमा ढुकेर पीडक पक्षले कुटपिट गरेका थिए । कार्की मरेको भन्दै उनीहरूले छाडेका थिए ।
‘मलाई मर्यो भनेर छाडेका रहेछन्,’ उनले भने, ‘भाग्यले म बाँचें । अवैध सबन्ध राख्ने व्यक्ति कांग्रेसनिकट भएकाले उनलाई कुनै कारवाही पनि भएन ।’ कांग्रेसकै सरकार भएकाले कार्यकर्ता जोगाउने काम भएको उनी बताउँछन् । वीर अस्पतालमा १ वर्षको उपचारपछि उनी निको भएका थिए । अनेरास्ववियुले नै सम्पूर्ण उपचार खर्चको व्यवस्थापन गरेको थियो ।
त्यसपछि राजनीतिक परिवर्तनले उनलाई पनि परिवर्तन गरिदियो । २०५४ सालमा एमाले विभाजन भएर माले बन्यो । उनी विभाजित मालेमा लागे । माले निकट अनेरास्ववियुको जिल्ला अध्यक्ष भए ।
पूर्वी पहाडी जिल्लामा तत्कालीन विद्रोही माओवादीको आन्दोलन तात्न थालेको थियो । कार्कीले पनि २०५४ सालमा माओवादी आन्दोलनमा सहयोग गर्न थाले । उनी २०५६ सालदेखि पूर्णकालीन कार्यकर्ता भए । २०५७ सालमा तत्कालीन माओवादीको संखुवासभाको जिल्ला कमिटीको सदस्य भए । २०५९ सालमा मेची कोसी ब्युरोको सदस्य भए । त्यतिबेला ३ जिल्लाको संयुक्त जिल्ला कमिटी थियो । तेह्रथुम धनकुटा र संखुवासभाको । संयुक्त जिल्ला कमिटीको सेक्रेटरी भए ।
पूर्व कमान्ड आउट पोस्ट भारतको पटनामा आउट पोस्टको कार्यालय थियो । पूर्व कमान्डको जिम्मेवारी लिएर पटनामा बस्न थाले उनी । त्यहीबाट राजनीति अगाडि बढाउन थालेका कार्की पटना गएको ६ महिनापछि गिरफ्तारमा परे । उनलाई भारतीय प्रहरीले गिरफ्तार गरेको हो । उनी पत्नी इन्दिरासहित पटनामै बस्थे । पत्नी इन्दिरा र ११ महिनाको छोरासहित २०६१ सालमा कार्की गिरफ्तारमा परेका थिए । २३ महिना भारतको २ वटा जेलमा बसेका कार्कीलाई भारतीय प्रहरीले चरम यातना दिएको थियो । त्यतिबेला यातना दिएको सम्झिँदा अहिले पनि आँसु आउने गरेको उनले बताए ।
‘बुटले हान्ने । घाउ भएपछि पेट्रोल खन्याइदिने । नाङ्गै बनाएर रातभर हात बाँधेर बगरमा छाडिदिने । पुस–माघको जाडोमा हातखुट्टा बाँधेर धारा खोलेर रातभर चिसोमा राखेर यातना दिन्थे,’ उनले भने ।
पहाडबाट संसदको यात्रासम्म पुग्दा संघर्ष गरेका कार्कीले अन्यायमा परेकाहरूको आवाज उठाउने बताउँछन् । ‘सांसद भएर मैले कुनै सम्पत्ति आर्जन गरौंला भन्ने छैन,’ उनले भने, ‘मैले नयाँ पाएको जीवनलाई केही गरौं भन्ने बनाउने प्रयास गर्छु ।’
उनी माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन ।