नेकपा एमाले विभाजन गरेर निर्वाचनमा होमिएको नेकपा (एकीकृत समाजवादी)ले थ्रेस होल्ड (३ प्रतिशत मत) पनि कटाउन सकेन । उसले ७ मध्ये ६ प्रदेशमा मुस्किलले १ दशमलव ५ प्रतिशत मत कटाएको छ । सत्ता गठबन्धनसँग तालमेल गरेर प्रत्यक्षमा केही सिट ल्याएको भएपनि समानुपातिक मतको अवस्थाले उक्त पार्टी अनुमोदन भएन भन्दा के होला ? यो प्रश्न उठिरहेको छ । यसै सन्दर्भमा हामीले उक्त पार्टीका केन्द्रीय सचिव राजेन्द्र राईसँग कुराकानी गरेका छौं । प्रस्तुत छ राईसँग सम्वाददाता अर्जुन आचार्यले गरेको कुराकानीः
सत्ता गठबन्धनले भनेजस्तो परिणाम ल्याउन नसकेको देखियो । निर्वाचन परिणामको समीक्षा कसरी गर्नुहुन्छ ?
गठबन्धनको हिसाबले मुल्याङ्कन गर्दा राष्ट्रिय रूपमा र प्रदेशगत रूपमा अपेक्षा गरेजस्तो नतिजा आएन । यो भन्दा राम्रो आउनु पर्ने हो । तर, मध्यम खालको नजिता आएको छ । एक्लाएक्लै लड्दा यो खालको पनि आउँदैन थियो । गठबन्धन गरेको हिसाबले आएको परिणामलाई सकारात्मक ढंगले नै लिनुपर्छ ।
नेकपा (एकीकृत समाजवादी) राष्ट्रिय पार्टी बन्न सकेन । यो अपेक्षित नै थियो कि अनपेक्षित भयो ?
अलिकति प्राविधिक कमजोरी जस्तो भयो । पहिलो कुरा देशैभरी प्रत्यक्षका उम्मेदवारहरु कम उठाइएको हुनाले प्रचार–प्रसार कमजोर भयो । दोस्रो गठबन्धनमासँगै हिंड्नुपर्ने भएको हुनाले पनि समानुपातिकको मत छुट्टै माग्न असुविधा भयो । त्यसो भएको हुनाले नयाँ पार्टी, नयाँ चिन्ह जनताहरुले भोट हाल्ने कुरामा अलिकति अलमल जस्तो भयो । फेरि जनताले पनि स्थापित पार्टीलाई नै प्राथमिकता राखेको जस्तो देखियो । शहरको भोट चाहिं पुरानो पार्टीप्रतिको जनताको असन्तुष्टिको कारणले नयाँ पार्टीहरूलाई गयो ।
पार्टी फुटको इतिहासलाई जनताले अनुमोदन नगरेको पटकपटक देखाउँछ । यो पटकको निर्वाचनले पनि एमाले विभाजनलाई जनताले अनुमोदन गरेनन् भन्दा के होला ?
त्यसरी पनि हेर्न सकिन्छ । नेपालमा राजनीतिक सचेतनताको अभाव भएको हुनाले यो ठिक बेठिकको आधारमा भन्दा पनि हिजोदेखि कुन पार्टीमा लागियो, सम्बन्ध साइनोको हिसाबले भोट हालिरहने कारणले नयाँ पार्टी, नयाँ विचारका साथ आयो, असल विचारका साथ आयो भनेपनि त्यसलाई समर्थन नगर्ने खालको स्थिति नेपालमा छ । त्यसो हुँदाखेरि नयाँ पार्टीहरु अनुमोदित हुनु, त्यसले नयाँ स्पेश बनाउनु गाह्रो छ ।
सत्ता गठबन्धनले थोरै सिटले बहुमत पु¥याउनका लागि पनि सिके राउतको जनमत पार्टी जोड्नु पर्ने अवस्था आउने । त्यसका बाबजुद एमालेले उल्लेख्य सिट प्रत्यक्षमा पनि जित्ने र समानुपातिकमा त सबैभन्दा धेरै मत ल्याएको छ । अर्कोतिर, स्वतन्त्र पार्टीको रूपमा आएको रवि लामिछानेको पार्टीलाई झण्डै तेस्रो स्थानको समानुपातिक मत प्राप्त भएको देखिन्छ । यसलाई चाहिँ कसरी हेर्नुहुन्छ ?
नेपालमा कम्युनिष्ट विचार र पार्टीप्रतिको समर्थन चाहिँ जबर्जस्त एमालेमा छ । त्यसो हुँदाखेरि काँग्रेसको विकल्पमा वा गैह्र कम्युनिष्ट पार्टीको विकल्पमा अहिले पनि एमालेलाई नै जनताले छाने । त्यसको मतलब अरु पार्टीहरुलाई भोट दिँदा काँग्रेसको विकल्प बन्न सक्दैन भन्ने जनतालाई लाग्यो । ठूलो पार्टीलाई नै साथ र समर्थन गर्ने धारणाको साथ पनि मत आएको हुनसक्छ । दोस्रो पहिलादेखि नै लागिरहेको पार्टीमा लाग्ने, त्यसैलाई भोट हाल्ने जुन खालको प्रचलन छ त्यसको आधारमा त्यसले समर्थन प्राप्त गर्दछ । नयाँ पार्टीको उदयको कुरा भनेको सामाजिक रूपमा मूल धारका पार्टीहरु पुराना स्थापित पार्टीहरुको काम कारबाहीप्रति जनताहरुचाहि खुसी छैन । त्यसो हुँदाखेरि त्यसको आक्रोश वा विद्रोह, त्यसको असन्तुष्टिको स्वर चाहिंँ नयाँ पार्टीमा भोट गएको छ । यसबाट मूल रुपमा पुराना पार्टीहरुले, ठूला पार्टीहरुले धेरै ठूलो शिक्षा लिन जरुरी छ कि अब केही सन्देशमूलक जनतालाई अनुभूति हुने खालको काम गर्ने, आफूलाई परिमार्जन नगर्ने हो भने अब नयाँ पार्टीहरुले पुराना पार्टीको ठाउँ लिने सम्भावना देखिएको छ ।
तपाईले भन्नुभयो । मूल रुपमा एमाले नै कम्युनिष्टहरुको नेतृत्व गर्ने पार्टी जस्तै भयो । जनमत पनि त्यतै केन्द्रीत हुने देखियो । अहिलेको निर्वाचनमा पनि बामपन्थी जनमत बलियो देखिन्छ । फेरि बाम एकताको बहस पनि भइरहेको छ । त्यो सम्भावना छ ?
बामपन्थी पार्टीहरूको एकता आगामी ५ वर्षलाई समयावधि राख्ने हो भने एकता हुने सम्भावना छ । त्यसमध्ये एमालेसँगचाहिँ एस र माओवादीको अलिकति समयपछि हुनसक्ला । तत्काल १, २ वर्ष चाहिँ त्यो सम्भावना कम छ ।
नेकपा एस र माओवादीबीच चाहिँ तत्कालै एकता गर्ने गरी निर्वाचन अगाडि एउटा एकता कार्यदल पनि बनेको थियो । चुनावपछि चाहिँ एकता गर्ने नगर्ने भन्ने विषयमातपाईहरुको पार्टीमा दुईधार देखियो । खास कुरा के हो ?
दुईखाले कुरा स्पष्ट रुपमा छ । कसैले मिलेर जानुपर्छ भन्ने छ कोही मिल्नु हुँदैन भन्ने पनि छ । त्यसलाई नै विषय बनाएर गम्भीरतापूर्वक छलफल सुरु नभएको कारणले पनि फरकफरक धारणा आएको हो । माओवादीसँग पनि तत्काल नै चाहिँ एकताको सम्भावना छैन । सम्भवतः माओवादीसँग मात्रै एसको एकता भन्ने कुरा पनि अगाडि नबढ्ला । अलिकति माओवादी, एससहित अरु वृहत बाम एकताको सन्दर्भमा चाहिँ त्यो एकता होला । नत्र दुईवटा पार्टीको मात्रै एकता चाहिँ हुँदैन । एमालेको चाहिँ अलिक पछाडि हुन्छ । अन्य साना वामपन्थी पार्टीहरुसहितको एकता भयो भने छिटो होला नत्र दुईवटा पार्टीमात्रैको एकता चाहिँ तत्कालै हुने सम्भावना देखिँदैन ।
पछिल्लो समय आएको बहस समाजवादी केन्द्र बनाउने कम्युनिष्ट भन्ने शब्द नै हटाउने भन्ने पनि आएको छ । खास गरी यो डाक्टर बाबुराम भट्टराईले उठाउनु भएको विषय हो । समाजवादी केन्द्र बन्ने सम्भावना कत्तिको छ ?
त्यस्तो सम्भावना छैन । त्यो अलिकति भावनाको कुरा हो । नेपालमा त्यो कम्युनिष्टको झण्डा, कम्युनिष्ट पार्टीको नाम हटाउने भन्ने कुरा चाहिँ त्यति सजिलो छैन । बाबुराम भट्टराईको एउटा धारणा चाहिँ कहाँ मिल्दैन भने समग्रतामा जोड्दाखेरि अहिले पनि कम्युनिष्ट पार्टीहरुकै जनमत बढी देखिएको हुनाले कम्युनिष्ट पार्टीमात्रै नाम राख्ने कुराले केही फरक पर्दैन । खासगरी नाम कम्युनिष्ट काम फरक भयो भने फरक पर्ने हो । नामले चाहिँ दुनियाँमा पनि फरक पर्न छोडिसकेको छ । खासगरी हिजोको गैह्र कम्युनिष्ट शक्तिले पनि कम्युनिष्टहरुलाई हिजोको जस्तै बैरभाव राखेर, पानी बाराबारको शत्रुतापूर्ण सम्बन्ध राख्दैनन् । अन्तर्राष्ट्रिय सम्बन्धमा पनि छैन । दुई देशको सम्बन्धमा पनि त्यस्तो छैन र विदेशी मुलुकमा पनि त्यो सम्बन्ध त्यस्तो छैन भनेपछि अब नेपालमा पनि कम्युनिष्ट पार्टीको नाममा नै जनमत देखिएको कारण कम्युनिष्ट शब्द छोड्नुपर्ने अवस्था छैन ।
अब प्रदेश १ तिर जाउँ । सत्ता गठबन्धनलाई सरकार बनाउन एक सिट नपुग्ने देखियो । अब सरकार कसको कसरी बन्छ ?
सम्भावना चाहिँ अहिलेको सत्ता गठबन्धनकै सरकार बन्ने देखिन्छ । यसमा मुलतः राष्ट्रिय राजनीति निर्णायक बन्छ । राष्ट्रिय राजनीतिको पनि अलिकति संकेतहरु र खासगरी नेताहरुको अभिव्यक्तिहरु पनि त्यस्तै छ । प्रदेश १ को हकमा जोड्दा जसपाको सांसदको जता समर्थन हुन्छ त्यताको चाहिं गठबन्धनको सरकार बन्ने देखिन्छ । अब अहिले पनि हाम्रो गठबन्धनको सरकारमा जसपाको पनि मन्त्री हुनुहुन्छ । त्यसपछि व्यक्तिगत वा पार्टीगत कुराकानीमा पनि उहाँहरु हामीसँग रहनको लागि तयार हुनुहुन्छ । अब केन्द्रीय नेताको कुरा सुन्दाखेरि अब एमालेसँगको गठबन्धन भनेको चाहिँ चुनावसम्मको लागि हो । त्यो एउटा स्टेप थियो त्यो पुरा भयो । अब खुल्ला छौं भन्ने अभिव्यक्ति पनि आएको छ । व्यवहारको कुरा पनि गर्दा एमालेबाट धोका पाएको, असहयोग आएको भन्ने महसुस जसपाको नेतृत्वले र जसपाले गरेको हुनाले राष्ट्रिय रूपमा पनि सत्तारुढ गठबन्धनसँगै एकता होला । गठबन्धन बनाएर सरकार बनाउने दिशामा जाला त्यो भयो भने यहाँ पनि सरकार सत्ता गठबन्धनकै बन्छ ।
तपाईं बहालवाला मुख्यमन्त्री पनि हुनुहुन्छ । मुख्यमन्त्री बन्छु भनेरै चुनाव पनि जित्नु भयो । अबको सम्भावना के छ ? तपाई मुख्यमन्त्री बन्नुहुन्छ ?
सातै प्रदेशको र संघको सरकार मिलेर बन्ने हो । गठबन्धनबाट बन्ने हो । त्यसो हुँदा भागबण्डा पनि लाग्छ । दोस्रो आलोपालोको अवस्था निर्माण पनि हुन्छ । त्यस्तो अवस्थामा व्यक्तिगत रुपमा मैले चाहने नचाहने भन्दा पनि राष्ट्रिय रुपमा गरिने भागबण्डा अथवा आलोपालोले स्वभाविक रुपमा म यो प्रदेशको एस पार्टीको सिनियर नेता भएको हुनाले मलाई पनि एउटा पालो आउन सक्छ । त्यसअर्थमा मैले मुख्यमन्त्रीको रुपमा जिल्लामा आफ्नो निर्वाचन क्षेत्रमा प्रस्तुत गरेको हो । तत्कालको कुरा गर्नुहुन्छ भने चाहिं एउटा राजनीतिक नैतिकताले म पहिलो पटक दाबी गर्दिन । किनभने मलाई एक वर्षसम्म अरू गठबन्धनका साथीहरुले सहयोग गरेर मलाई मुख्यमन्त्री बनाउनु भयो । म चाहिँ अरु पार्टीलाई नै पहिलो पालो छोड्ने मेरो कुरा हो । तर, केन्द्रीय रुपमा हुने निर्णयले पहिलो पटकचाहिँ एसले नै यहाँको मुख्यमन्त्री लिने खालको हुनुपर्ने भयो भने त्यो कुरालाई मैले स्वीकार गर्दछु । तर, मेरो पहिलो दावी छैन ।