विराटनगर । नेपाली सांगीतिक क्षेत्रका स्वरसम्राट नारायण गोपाल गुरुवाचार्यको ३२ औँ स्मृति दिवस विराटनगरमा मनाएको छ । स्वर संगम संगीतालय विराटनगरले सोमबार आरोहण गुरुकुलमा सांगीतिक कार्यक्रम आयोजना गरी मनाएको हो ।
संगीतालयले नारयण गोपालको स्मृतीमा अहिलेका नयाँ पुस्ताका १८ जना युवा गायकहरूले १८ वटा उहाँको गीत प्रस्तुत गरेर उनको सम्झना गरिएको स्वर संगम संगीतालयका संस्थापक अध्यक्ष कुशेश्वर राईले जानकारी दिए ।
वि.सं. १९९६ मा असोज १८ गते काठमाण्डौंको किलागलमा जन्मिएका उनको निधन वि सं २०४७ मंसिर १९ गते भएको थियो । उनको सम्झनामा नारायण गोपालले गाएको गीतहरु प्रस्तुत गरि प्रत्येक वर्ष स्मृति दिवस मनाउने गरेको राईले बताए ।
वि सं २०१७ सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गरेकाउनले थुप्रै कालजयी गीत गाएका छन् । उनलाई २०२३ सालमा सर्वोत्तम संगितकार, २०२४ सालमा सर्वोत्तम गायक, २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ सालमा गोरखा दक्षिणबाहु चौथो, २०४० सालमा इन्द्र राज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४४ सालमा छिन्नलता पुरस्कार, २०४५ सालमा जगदम्बाश्री पुरस्कारबाट सम्मान गरिएको थियो । यस्तै २०४८ सालमा त्रिशक्तिपट्ट तेस्रो पुरस्कारले मरणोपरान्त सम्मान गरिएको थियो ।
उनका म त लालीगुँरास भएछु, ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो, एउटा मान्छेको मायाले लगायतका थुप्रै कालजयी गीतहरु आज पनि उत्तिकै लोकप्रिय छन् ।