अपहरण तथा शरीर बन्धक’ मुद्दा प्रकरण

सैहैन्शालाई पक्राउ गर्न अदालतले दियो अनुमति

विराटनगर । मोरङ अदालतले नेपाल टाइम्स मिडिया प्रालिका सञ्चालक ३१ वर्षीय सैहैन्शा सिद्दिकी भन्ने अब्दुल खत्ताबलाई पक्राउ गर्न अनुमति दिएको छ ।विराटनगरका उद्योगी अरूणकुमार राठीले आइतबार खत्ताबविरूद्ध मोरङ प्रहरीमा ‘अपहरण तथा शरीर बन्धक’ मुद्दामा जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले खात्तबलाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो ।

मोरङ जिल्ला अदालतले आइतबार साझ अत्ताबलाई पक्राउ गर्न अनुमति दिएको मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । ‘प्रहरीले आइतबार साझतिर पक्राउ पूर्जीको अनुमती माग गरेको थियो । अदालतले सोही दिन साझतिर पक्राउ अनुमति दिएको छ,’ उनले भने ।

पक्राउ अनुमति पाएसँगै आरोपीलाई पक्राउ गर्न प्रहरी लागि परेको मोरङ प्रहरीका डिएसपी टिका कार्कीले बताए । ‘पक्राउ पुर्जी अदालतबाट पाइसकेका छौं,’ उनले भने, ‘घटनाको मुचुल्का गर्ने कामदेखि घटनामा संलग्नको खोजी कार्यमा प्रहरी लागि परेको छ ।’

खत्ताब र राठी उक्त अनलाइनका व्यावसायिक साझेदार हुन् । खत्ताबले ‘धेरै अफ्ठेरो’ परेको देखाएर आफूबाट ११ लाखभन्दा बढी रकम सापटी भन्दै लिएर गएको उनले बताएका छन् । खत्ताबसँग ३ वर्षदेखिको चिनजान र सम्पर्कका आधारमा २० प्रतिशत अर्थात ५ हजार कित्ता शेयर लिएर मिडिया प्रालिको सञ्चालकमा आफू पनि बसेको कुरा राठीले जाहेरीमा खुलाएका छन् ।

खत्ताबले छायांकनसहितको भिडियो अन्तरवार्ता लिने भनेर आफ्नै स्कुटरमा लगेर आफूलाई बन्धक बनाउँदै कुटपिट गरेको राठीले उल्लेख गरेका छन् ।
घटना मंसिर १४ गते बिहानको हो । सुरूमा एभरेष्ट बोर्डिङ स्कुल अगाडि रहेको ट्रान्स नेपाल फ्रेड सर्भिसेज प्रालिको दोस्रो तलामा लगेर छायांकन गरी अन्तरवार्ता लिएको र त्यसपछि सरौचियास्थित कार्यालयको पुरानो स्टुडियोमा लगेर बन्धक बनाएर कुटपिट गर्दै १५ लाख रूपैयाँको चेक काट्न बाध्य पारेको राठीले जाहेरीमा खुलाएका छन् ।

आफूलाई धेरै अप्ठेरो परेको देखाएर यसअघि पनि खत्ताबले पैसा लिँदै आएको उनले बताए । उनका अनुसार सुरुमा २० लाख रूपैयाँ लगानी गरिएको थियो । त्यसपछि २ पटक ५/५ लाख गरेर र १ पटक डेढ लाख गरेर ११ लाख ५० हजार रूपैयाँ दिएको राठी बताउँछन् ।

‘अन्तरवार्ता लिने भन्दै फकाएर मलाई मेरै घरबाट स्कुटरमा लिएर गए । अन्तरवार्ता पनि लिए । खत्ताबसँग १ जना अपरिचित व्यक्ति पनि थिए,’ राठीले भने, ‘सोफामा बसिरहेका बेला एक्कासि फलामको साङ्लोले बाँध्न खोजे । भाग्ने प्रयास गर्दा नियन्त्रणमा लिएर हाटखुट्टा बाँध्दै कुटपिट गरे । त्यसपछि १ करोडको ‘बार्गेनिङ’ गर्न थाले ।’

आफ्नो ज्यान खतरामा परेको ठानेर आफूले पनि पैसा दिन्छु भनेर फुत्किने प्रयास गरेको जाहेरीमा उल्लेख गरेका छन् । त्यहाँबाट १ करोड रूपैयाँमा सुरु भएको ‘बार्गेनिङ’ पछि ३० लाखमा मिलेको राठीले बताए । त्यसपछि घरमा भएको चेक चालकलाई मगाएर १५ लाख रूपैयाँको काटिदिएको उनको भनाइ छ ।

ग्लोबल बैंक लिमिटेडको १५ लाख रूपैयाँको चेक नेपाल टाइम्स मिडिया प्रालिका नाममा तत्काल काटिदिएको र १ सातापछि १५ लाख रूपैयाँ दिने सर्त राखेर आफूलाई छाडिदिएको राठीले बताए ।

अपहरण गरेर मंसिर १४ गते बिहान ६ः३० बजेदेखि १०ः३० बजेसम्म बन्धक बनाउँदै १५ लाखको चेक लिएको भनी राठीले खत्ताबसहित अन्य व्यक्तिविरुद्ध पनि जाहेरी दिएका छन् । तर, अन्य व्यक्तिको पहिचान आफूले गर्न नसकेकाले खत्ताबबाटै पत्ता लगाएर कारबाही गर्नुपर्ने माग जाहेरीमा गरिएको छ ।

‘घटनापछि म निक्कै डराएको र त्रसित भएको थिएँ । गोलीले हानेर मारिदिनेसम्मको धम्की दिए । यो कुरा सार्वजनिक गरेमा परिवारलाई समेत सकिदिने धम्की आयो,’ राठीले भने, ‘क्यामेराको ब्यागमा पेस्तोल पनि छ । जिन्दगी एउटा गोली न हो भनी पैसाको ‘बार्गेनिङ’ गरे । मलाई तलमाथि नगर्नू, नत्र बुझेकै छ भनी चेतावनी दिए ।’

खत्ताबले भने व्यावसायिक साझेदार राठीमाथि आफूले कुनै नराम्रो नगरेको दाबी गरेका छन् । ‘अनलाइन सचालनका क्रममा केही तलमाथि भए होलान् । तर, अपहरण गरेर बन्धक बनाएको छैन,’ उनले भने, ‘घटनाको वास्तविकता अर्कै छ । त्यो कुरा विस्तृतमा सार्वजनिक गर्ने तयारीमा छौँ ।’

सोमबार, १९ मंसिर, २०७९, साँझको ०६:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर