विराटनगर । निर्वाचनको अन्तिम मत परिणाम आउनै लागेका बेला दलहरु केन्द्र र प्रदेश सरकार गठनको कसरतमा जुटिसकेका छन् । यही सन्दर्भमा जनता समाजवादी पार्टी धेरै ठाउँमा सरकार गठनमा निर्णायक हुने अवस्थामा देखिएको छ ।
यस्तै अवस्था प्रदेश १ मा पनि छ । समानुपातिक प्रणालीबाट प्रदेशमा दुई सिट पाउने निश्चितप्रायः देखिएको जसपाले प्रदेश १ मा के गर्ला ? चुनावमा बनेको एमालेसँगको गठबन्धनलाई साथ दिएर अघि बढ्छ कि सत्ता गठबन्धनमा सामेल भएर चुनाव अघिकै अवस्थामा पुग्छ ?
हाम्रोमतले यिनै प्रश्नहरु अघि सार्दा जसपाका प्रवक्ता मनिष सुमनले भने ‘सम्भावनाका सबै ढोका हाम्रा लागि खुला छन् । जसपा सबै विकल्पका लागि तयार छ ।’
प्रवक्ता सुमनका अनुसार चुनावका बेला भएको तालमेल चुनावपछिको अवस्थामा कायम नरहन पनि सक्छ, कायम रहन पनि सक्छ । तर, यसपटकको जनादेशले जसपालाई विपक्षमा रहन निर्देश गरेको उल्लेख गर्दै उनले थपे ‘यसपटकको जनादेशले हामीलाई विपक्षमा रहन भनेको छ । हामी जनादेशको सम्मान गर्न प्रतिबद्ध छौं ।’
यद्यपि जसपाको समर्थन बेगर सरकार नै बन्न नसक्ने अवस्था आउँदा आफूहरु विकल्प दिन तयार रहेको उनको भनाइ छ । ‘हामी बेगर सरकार नै बन्न नसक्ने अवस्था भयो, संसद अनिर्णयको बन्दी हुने भयो भने हामी खुट्टा कमाउने छैनौं’, उनले भने ‘तर, यसका लागि के गर्ने भन्ने कुरा निर्वाचनको अन्तिम परिणाम आएपछि बल्ल छलफल सुरु हुनेछ ।’
जसपाले निर्वाचनपछिको अवस्थामा देशैभरी एकै नीति अख्तियार गर्ने पनि उनले बताए । ‘हामी निश्चित मान्यता, विधि र विचारद्वारा निर्देशित पार्टी हौं, त्यसैले प्रदेशमा एउटा र केन्द्रमा अर्कै नीति लिएर अवसरवादी चरित्र देखाउँदैनौं’ उनले भने ‘अब कसरी अघि बढ्ने , कोसँग तालमेल गरेर अघि बढ्ने भन्ने निर्णय लिनेछौं । त्यसका लागि निर्वाचनको अन्तिम नतिजा कुर्नेछौं ।’
निर्वाचन आयोगले अन्तिम नतिजा औपचारिक रुपमा सार्वजनिक गरिसकेको छैन । तर, हालसम्मको नतिजाले प्रदेश १ मा सत्ता गठबन्धन बहुमत जुटाउन विफल भएको छ भने एमाले, जसपा र राप्रपा गठबन्धन कायम रहे बहुमतका लागि चाहिने संख्या पुग्ने अवस्थामा देखिएको छ ।
प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ क्षेत्रमा जीत हासिल गर्दा समानुपातिकबाट १४ सिट थपेर कूल ३९ सिट पुर्याउने देखिएको छ । प्रत्यक्षमा १७ सिटमा जीत हात पारेको काँग्रेसले समानुपातिकबाट १२ सिट थप्ने देखिन्छ । यसो हुँदा काँग्रेस २९ सीटमा पुग्नेछ । प्रत्यक्षतर्फ ९ क्षेत्रमा जीत हात पारेको माओवादी केन्द्रले समानुपातिकबाट ४ सिट थपेर कूल सिट संख्या १३ पुर्याउने अवस्था छ ।
यसैगरी प्रत्यक्षमा २ क्षेत्र जितेको राप्रपाले समानुपातिकबाट ४ गरी ६ सीट, नेकपा एसले प्रत्यक्ष ३ र समानुपातिक १ गरी ४ र जसपाले समानुपातिकबाट २ सीट हासिल गर्ने देखिएको छ ।
यसरी अहिलेको सत्ता गठबन्धनसँग कूल ४६ सिट पुग्नेछ भने एमाले, जसपा र राप्रपासँग ४७ सिट हुनेछ । ९३ सदस्यीय प्रदेशसभामा ४७ सिट भनेको बहुमत पुग्ने ठिक्क संख्या हो । यस्तोमा जसरी पनि जसपा नै निर्णायक बन्ने देखिन्छ ।यही सन्दर्भमा जसपाले प्रदेशमा सबै विकल्प खुला रहेको जनाएको हो । ‘निर्वाचनको अन्तिम नतिजा नआएसम्म केही भन्न सक्ने अवस्था देखिन्न’, प्रवक्ता सुमनले थपे ‘त्यसैले यसबारे निर्णय लिने बेला भएको छैन । यति चाहिँ प्रष्ट हो, जसपा सबै विकल्पमा खुला रहनेछ ।’
निर्वाचनका बेला तालमेल भएका धेरै क्षेत्रमा एमालेले आफूलाई धोका दिएको भन्दै जसपाको नेतृत्व एमालेसित रुष्ट छ । खासगरी उपेन्द्र यादव समूह असन्तुष्ट देखिन्छ । कुराकानीका क्रममा प्रवक्ता सुमनले यसबारे कुरा गर्न चाहेनन् । यद्यपि उनको संकेतले एमालेप्रतिको जसपा असन्तोष बुझन् सकिन्थ्यो ।
तर, आफूलाई जिताइदिएका कारण जसपाको अशोक राई लगायतको समूह भने एमालेसँगै मिलेर अघि बढ्न चाहेको अवस्थामा रहेका छन् । पार्टीमा शक्तिशाली होल्ड भएका उपेन्द्र यादव समूहकै निर्णय यसमा निर्णायक हुने देखिन्छ ।
मंसिर ४ भन्दा केही दिनअघिसम्म सत्ता गठबन्धनमै रहेको जनता समाजवादी पार्टी (जसपा) अन्तिम समयमा गठबन्धनबाट बाहिरिएको थियो । सत्ता गठबन्धनबाट बाहिरिएपछि उसले धेरैलाई आश्चर्यमा पार्दै एमालेसँग चुनावी तालमेल गर्ने निर्णय लियो । एमालेसँगको चुनावी तालमेल जसपाका लागि फाइदाकारी सावित भएन । अध्यक्ष यादव स्वयम् सप्तरी २ मा सीके राउतसँग ठूलो मतान्तरले परािजत भए । यादवकै गृह जिल्ला मोरङमा पनि जसपाका लागि सहमति भएको क्षेत्रमा एमालेले आफ्नै उम्मेद्वार खडा गरेर जसपालाई धोका दिएको थियो । प्रतिनिधिसमभामा मोरङ ५ लिएको एमालेले त्यहाँ जसपा उम्मेद्वार राजकुमार यादवलाई हराउन आफैले बागी उम्मेद्वार खडा गरिदिएको बुझाइ जसपाभित्र छ । यही सकसका बीच जसपाले लिने निर्णयले प्रदेश १ सरकार कस्तो र कसको बन्छ भन्ने छिनोफानो गर्नेछ ।