बेलबारी । बैकहरूले उच्च ब्याजदरले व्यवसायमा असर गरेको व्यवसायीहरूले बताएका छन । उच्च ब्याजदरले व्यवसायमा असर गरेपछि बेलबारीका व्यवसायीहरूले बैंक पदाधिकारी र नगरपालिकासँग अन्तर्क्रिया गरेका छन् ।
बेलबारी उद्योग वाणिज्य संघको पहलमा बेलबारी नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा व्यवसायीहरूले बैंक पदाधिकारी सँग चर्को ब्याजदरको कारणले व्यवसाय दिनदिनै धरासयी बन्दै गएको भन्दै गुनासो गरेका थिए । बेलबारीका व्यवसायीहरूले उच्च बैँक ब्याजदर तथा प्रतिकुल बैकिङ नीतिहरू विरुद्ध यसअघि पनि विरोध जुलुस निकालेर विरोध गरेका थिए ।
व्यापार व्यवसाय चौपट भएको समयमा बैँकहरुले ब्याज वृद्धि गर्दा व्यवसायीहरू थला परेको र उठ्नै नसक्ने गरी बोझ थपिएको बेलबारी उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष राजेश जङ्ग कार्कीले बताए । बैँकहरुले बढाएको ब्याज तत्काल फिर्ता लिन र व्यवसायीहरूलाई सहज किसिमले व्यवसाय गर्ने वातावरण मिलाउन उद्योग वाणिज्य संघका उपाध्यक्ष माधवराज थापाले आग्रह गरे । बैंकले तत्काल ब्याजदर नघटाए स्थानीय स्तरमा रहेका सबै व्यवसाय ठप्प हुन सक्ने अवस्था रहेको उद्योग वाणिज्य संघका महासचिव विवेक मिश्रले बताए ।
उक्त कार्यक्रममा बेलबारी नगरपालिकाका मेयर दिलप्रसाद राईले यो समस्या स्थानीय स्तरको मात्र नभएर देशकै समस्या रहेकोले, यहाँ उठेका व्यवसायीका गुनासा तत्काल सहज गर्ने सरकार समक्ष पहल गर्नेछ बताए । बैंकका प्रतिनिधिहरूले पनि बैंकको उच्च ब्याजदर विषयमा बैंक पनि चिन्तित रहेको र यस विषयमा राज्यको ठोस निर्णय आवश्यक रहेको बताएका थिए ।