विराटनगर । नेपाली कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य डा . शेखर कोइरालाले कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताएका छन ।
विराटनगरस्थित कोइराला निवासमा पत्रकारसँगको भेटघाटमा नेता कोइरालाले कांग्रेस ठूलो पार्टी भएकाले अहिलेकै सत्ता गठबन्धनको नेतृत्व गर्दै कांग्रेसकै नेतृत्वमा सरकार बन्ने बताए ।
उनले संसदीय दलको नेताको विषयमा भने खुलेर बोल्न चाहेनन् । संसदीय दलको नेताको अंकगणितको खेल भएकाले अहिले नै म बन्छु भनेर बोल्ने बेला नआएको समेत उनले बताए ।
जनताको चाहना अहिले फरक रहे पनि संसदीय दलको नेता बन्न अंकगणितकै खेल भएकाले सरसल्लाह गरेर अगाडि बढ्ने उनले बताए ।
‘संसदीय दलको नेता नभए पनि संसदमा बोल्नेमा कसैले रोक्दैन । गलत भयो भने त्यसको विरोध संसदमा पनि गर्छौं, सडकमा पनि गर्छौं । गलत कामको विरुद्धमा संसदमा बोल्नलाई ह्वीपले छेक्दैन,’ उनले भने ।
उनले शेरबहादुर देउवा र शेखर कोइराला मिले भन्ने भनेर गलत प्रचार गरेको समेत बताए । ‘चुनावमा टिकट दिने विषयलाई लिएर मैले हामी मिलेर नै टिकट वितरण गरेका हौं, तपाईंहरू तल किन झगडा गर्नुहुन्छ भनेर भनेको थिएँ,’ उनले भने, ‘पार्टीभित्रका विंसगतिका विषयमा पार्टीभित्र म आवाज उठाइरहन्छु ।’
पार्टीभित्र सुनुवाइ भएन भने दलका भातृ संगठनलाई समेत उचाल्ने उनले बताए ।
चुनावको परिणामलाई लिएर समीक्षा गर्ने समेत उनले बताए । ‘गठबन्धनभित्र पनि विभिन्न खालका आवाजहरू आइरहेका छन्,’ उनले भने, ‘इलाममा झलनाथजीले कांग्रेसले असहयोग गर्यो भन्नुभएको छ । अन्यत्र पनि त्यस्ता समस्या छन् ।’
मोरङ क्षेत्र नम्बर ४ (१)का प्रदेशशभाका सदस्यका उम्मेदवार गुरुराज घिमिरे हार्नुको कारण कांग्रेस भित्रकै अन्तर्घात भएको समेत उनले बताए ।
कथित बंशज काङ्ग्रेस को काम हो जाति का कुरा ले गुरु दाइ हार्नु भो ।