औद्योगिक जनशक्ति उत्पादन केन्द्र सञ्चालन गर्ने सम्झौता

विराटनगर । उद्योग संगठन मोरङ र इन्स्योर परियोजना वीच आगामी ३ वर्षका लागि औद्योगिक जनशक्ति उत्पादन केन्द्र संचालन सम्वन्धी सम्झौता भएको छ । मंगलबार दुई संस्थाका प्रतिनिधिहरुबीच यस्तो सम्झौता भएको हो ।

औद्योगिक क्षेत्रमा आवश्यक दक्ष जनशक्ती र बजारमा उपलब्ध जनशक्तीका बिचको भिन्नताका कारण उद्योग व्यवसायले समस्या भोग्दै आएकोले त्यसलाई समाधान गर्न केन्द्र सञ्चालन गर्ने समझदारी बनेको हो ।

सम्झौता पछि उद्योगलाई आवश्यक पर्ने दक्ष जनशक्तिको तथ्यांक संकलन गर्ने, उद्योगलाई आवश्यकता पर्ने दक्षता अनुरुप जनशक्तिलाई तालिम दिने, तालिमका लागि समयानुकुल पाठ्यक्रम परिमार्जन गर्न सरकारलाई सुझाव दिने आदि कार्य केन्द्रले गर्ने सहमति छ ।

त्यसैगरी नीजि क्षेत्र, तालिम प्रदायक संस्थाहरु एव नेपाल सरकारका सरोकारवाला निकायहरु बिच निरन्तर सहजिकरण गरि जनशक्ति उत्पादनका सन्दर्भमा समन्वयकारी भूमिका निर्वाह गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।

दुवै संस्थाको सहकार्यमा गत वर्षदेखि संचालनमा रहेको उक्त केन्द्रले यस क्षेत्रका विभिन्न उद्योग व्यवसायसंग समन्वय गरी अप्रेन्टिसीप मोडेलमा ३३ जना प्रशिक्षार्थीहरुलाई रोजगारीको व्यवस्था गरको छ । संगठन र परियोजनाको समन्वयमा पि.एल.सि., वोईलर अपरेटर, लेथ अपरेटर लगायतका विषयमा एक सय घण्टाको तालिम संचालनका लागि आवश्यक पाठ्यक्रम विकास गरी आगामी दिनमा तालिमहरु संचालन गर्ने तयारी भएको जानकारी दिइएको छ ।

दिगोरुपमा औद्योगिक दक्ष जनशक्ती उत्पादनका लागि समन्वय गरी प्रदेश नं.१ कै प्राविधिक जनशक्ति उत्पादन केन्द्रका रुपमा विकास गर्ने लक्ष्य लिइएका उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले बताए । सम्झौतामा अध्यक्ष प्याकुरेल र इन्स्योर परियोजनाका टिम लिडर रविन्द्रबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

बुधबार, १४ मंसिर, २०७९, बिहानको ०८:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर