विराटनगर । मोरङको क्षेत्र नम्बर १ बाट काँग्रेसका डिकबहादुर लिम्बू विजयी भएका छन् । उनले यसअघिका प्रतिस्पर्धी एमालेका घनश्याम खतिवडालाई पराजित गरेका हुन् ।
लिम्बूले २७ हजार २ सय ९७ मत ल्याउँदा एमालेका खतिवडाले २६ हजार ८ सय ६७ मत ल्याए । अन्तिम समयमा लिम्बूले अग्रता लिएर विजय भएका हुन् ।
खतिवडा र लिम्बूको प्रतिस्पर्धाको इतिहास
२०४३ सालमा लेटाङ गाउँ पञ्चायतमा जनपक्षीय उम्मेद्वारको रुपमा प्रधानपञ्चको रुपमा उम्मेद्वार बनेका खतिवडा थोरै मतले पराजित बनेका थिए । त्यसपछि २०४९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा लेटाङको गाविस अध्यक्षमा खतिवडा निर्वाचित भए । हाल प्रतिस्पर्धामा रहेका नेपाली काँग्रेसका डिकबहादुर लिम्बूलाई भने खतिवडाले २०४९ सालको स्थानीय निर्वाचनमा तत्कालिन लेटाङको गाविस अध्यक्षमा पराजित गरेका थिए ।
त्यसपछि भने २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा लिम्बूसँग पराजित भएका खतिवडा २०७४ सालको निर्वाचनमा भने माओवादीसमेतको सहयोगमा उनै लिम्बूलाई पराजित गर्न सफल भएका थिए ।
यता, २०६४ सालको निर्वाचनमा माओवादी उम्मेद्वार नगेन्द्र धिमालबाट पराजित बनेका लिम्बू भने २०७० सालको संविधानसभाको निर्वाचनमा भने संविधानसभा सदस्य बन्न सफल भए । त्यसबेला लिम्बूले तत्कालिन मोरङ क्षेत्र नम्बर ९ बाट १५ हजार २०२ मत ल्याउँदा खतिवडाले भने १२ हजार ९८९ मत ल्याएका थिए ।
पुनः २०७४ सालको निर्वाचनमा बाम गठबन्धनबाट उम्मेद्वार बनेका खतिवडाले ३७ हजार ५२४ मत ल्याएर विजयी बनेका थिए । दोस्रो स्थान ल्याएका परिचित प्रतिस्पर्धी काँग्रेसका लिम्बूले ३१ हजार ४३६ मत ल्याएका थिए ।