विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका मोरङ सचिव तथा मोरङ क्षेत्र नं. ६ का उम्मेदवार यादव कुमार प्रधानले प्रतिनिधि सभाको निर्वाचनमा साढे ३ लाख रुपैयाँ मात्र खर्च भएको सार्वजनिक गरेका छन् । विराटनगर ११ पन्चमुखीचौकस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएका हुन् ।
प्रतिनिधिसभाको निर्वाचनमा इन्धन, चुनाव प्रचारप्रसारलगायतका जम्मा ३ लाख ५० हजार रुपैयाँ मात्र खर्च भएको उनले बताए । आफूले प्रतिनिधिसभाको निर्वाचनमा आएको मतको सम्मान गर्ने बताए । ‘मप्रति मोरङ क्षेत्र नम्बर ६ का मतदाताले दिनुभएको मतको सधैँ सम्मान गर्नेछु,’ उनले भने, ‘यहाँको जनताको सेवामा सदैभरि लागिपर्नेछु । मलाइ मतदान गर्नुहुने सम्पूर्ण मतदाताहरूप्रति आभारी छु ।’
मोरङ क्षेत्र नं. ६ बाट नेपाली काँग्रेसका उम्मेदवार डा। शेखर कोइराला प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो भएको छ । रास्पाका उम्मेदवार प्रधानले ९ हजार १४० मत पाएका छन् ।