विराटनगर । मोरङ क्षेत्र नं. ४ मा माओवादी केन्द्रका नेता अमनलाल मोदीले सुरूवातदेखि नै अग्रता कायम राखेका छन् । उनले नेकपा एमालेका उम्मेदवार विनोद ढकाललाई २ हजार २ सय ३२ मतले पछि पार्दै ५ वडाको गणना सकिँदा अग्रता कायम राखेका हुन् ।
१३ हजार ९१८ मत गणना भएको मध्ये १३ हजार १५२ मत सदर हुँदा मोदीले ७ हजार १९९ मत पाएका छन् । प्रतिस्पर्धी ढकालले ४ हजार ९६७ मत ल्याएका छन् । मंगलबार दिउँसो १ बजेसम्म कटहरीको ४, ५, ६, ७, ग्रामथान गाउँपालिकाको १ नम्बर वडा गणना सकिएको छ । अहिले गणना सम्पन्न भएको सबै वडामा मोदीले अग्रता कायम गरेका छन् । अहिले ग्रामथान २ नम्बर वडाको गणना भइरहेको छ ।
ढकालले विराटनगर महानगरपालिका भित्रको वडाहरू गणना भएपछि मतान्तर घटाउने आशा गरेका छन् । मोरङ क्षेत्र नं. ४ मा विराटनगरको १, २, ३, ८, १० र १९ नम्बर वडा पर्दछ । यी वडामा गणना सुरु भएपछि लिड गर्ने ढकालले अपेक्षा राखेका छन् ।