विराटनगर । मोरङलाई सुगम जिल्लाका रूपमा चिन्ने गरिन्छ । त्यहीँ सुगम जिल्लामा विकास निर्माण कछुवाको गतिमा हुँदा मतपेटिका समेत २ जिल्ला पार गरेर ल्याउनुपर्ने बाध्यता रहेको छ ।
मोरङको क्षेत्र नम्बर १को निर्वाचन क्षेत्रका ५ वटा मतदानस्थलको मतपेटिका आउनका लागि २ छिमेकी जिल्ला हुँदै ल्याउनुपर्ने बाध्यता रहेको छ ।
निर्वाचन अधिकृत गोपालप्रसाद थापाका अनुसार केराबारी गाउँपालिका–२ वडा कार्यालय, पचायत आधारभूत विद्यालय, ४ नम्बर वडाको चिउरी भन्ज्याङ तथा सिंहदेवी लगायतका मतदानस्थलबाट मतपेटिका २ जिल्ला पार गरेर मात्रै ल्याउनुपर्ने हुन्छ । मतगणना उर्लावारीमा हुनेछ ।
५ वटा मतदानस्थलहरू सुरक्षाका दृष्टिकोणले अतिसंवेदनशील मानिन्छन् । यी मतदानस्थललाई चुनाव बहिष्कार गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाको आधार क्षेत्रका रूपमा लिने गरिन्छ ।
निर्वाचन लक्षित सुरक्षा योजनामा मोरङको सुरक्षा समितिले अति संवेदनशील रूपमा लिएको थियो । अति संवेदनशील क्षेत्रबाट थप सुरक्षा व्यवस्था मिलाएर मतपेटिका ल्याउन थालिएको एसपी शान्तिराज कोइरालाले बताए ।
‘नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको स्कटिङमा एकसाथ मतपेटिका ल्याउँदैछौं,’ उनले भने, ‘सुरक्षा चुनौति रहे पनि ३ वटै जिल्लाका सुरक्षा निकायबीच सहकार्य गरेर मतपेटिका ल्याइरहेका छौं ।’ सो क्षेत्रमा निर्वाचन शान्तिपूर्ण ढंगबाट भएको उनले बताए ।
१ नम्बर क्षेत्रमा मतगणना सोमवार दिउँसोदेखि मात्रै गरिने भएको छ । राति अबेरसम्म मतपेटिका आउने भएकाले सोमवार मात्रै मतगणना गरिने थापाले बताए ।
‘आयोगले प्रदेश र प्रतिनिधिसभा मत एकैपटक गन्न भनेको छ,’ उनले भने, ‘तर हामीसँग मतगणना गर्ने जम्मा २ वटा कोठा मात्रै छन् ।’ उर्लाबारी नगरपालिकाको कार्यालयमा मतगणना गरिने छ । प्रदेश र प्रतिनिधिसभा मतगणना एकैपटक गन्न समेत समस्या भएको उनले बताए ।
नगरपालिकाको कार्यालयमा २ वटा मात्रै कोठा भएकाले एकैपटक मतगणना गर्न समस्या भएको उनले बताए । सोमवार अबेरदेखि मात्रै गणना गर्न सकिने थापाले बताए ।
यो क्षेत्रमा १ लाख २३ हजार ६१५ मतदाता छन् । मतदान अधिकृतसँग टेलिफोन सम्पर्क नभएकाले कति प्रतिशत मत खस्यो भन्ने समेत अन्योल रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।