विराटनगर । पछिल्लो ५ वर्षमा प्रदेश १ मा तीन मुख्यमन्त्री फेरिए भने ३० जना मन्त्री र राज्यमन्त्री बने । ९३ सदस्यीय प्रदेशसभामा एकतिहाईभन्दा धेरै मन्त्री बनेको भएपनि मंसिर ४ गते हुने निर्वाचनमा भने १८ जना मात्र उम्मेदवार छन् ।
बहालवाला मुख्यमन्त्री राजेन्द्रकुमार राई नेतृत्वको सरकारका ९ मन्त्रीहरु चुनाबी मैदानमा छन् भने शेरधन राई नेतृत्वको सरकारका ६ जना र भीम आचार्य नेतृत्वको सरकारका ३ जना मन्त्रीहरु चुनाबी मैदानमा छन् ।
प्रदेश सरकारका २ पूर्वमुख्यमन्त्री, एक पूर्वमन्त्री र एक बहालवाला मन्त्री प्रतिनिधिसभाको उम्मेदवार छन् । यस्तै बहालवाला मुख्यमन्त्रीसहित ८ मन्त्री, ६ जना पूर्वमन्त्री प्रदेशसभाको उम्मेदवार बनेका छन् ।
गत स्थानीय तहमा दलहरुले वडामा प्राप्त गरेको मतलाई विश्लेषण गर्दा प्रदेश सरकारका बहालवाला मुख्यमन्त्रीसहित ७ जना मन्त्रीहरु आगामी चुनाबमा सुरक्षित देखिन्छन् । मोरङ ५ (२) बाट उम्मेदवार बनेका बहालवाला स्वास्थ्यमन्त्री जयराम यादव भने संकटमा देखिन्छन् । उनी नेकपा एमालेको समर्थनमा उम्मेदवार बनेका छन् ।
पूर्वमुख्यमन्त्री राई संकटमा
भोजपुरबाट बाम गठबन्धनको उम्मेदवार भई प्रदेशसभामा निर्वाचित भएर ३ वर्ष ६ महिनाभन्दा धेरै मुख्यमन्त्री रहेका शेरधन राई यसपटक प्रतिनिधिसभाको उम्मेदवार छन् । यसअघि २०५६ र २०७० मा प्रतिनिधिसभामा निर्वाचित भएका उनी २०६४ मा भने पराजित भएका थिए । उनीसँगको प्रतिष्पर्धामा गठबन्धनबाट माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुदन किराती मैदानमा छन् ।
कोराना महामारीमा पीडितहरुको घर–घरमा चामलको बोरा बोकेर पुग्ने किराती संसद चलेको अवस्थाबाहेक अधिकांश समय जिल्लामै रहेर नागरिकबीच सहकार्य गरिरहेका हुन्छन् । राई भने किरातीको अभियानलाई अनावश्यक प्रोपोगाण्डा भन्दै आएका छन् । जसले गर्दा उनीमाथि किराती समर्थकहरुले ‘ससुराली जाँदा हेलिकप्टर चढेर जाने व्यक्तिले जनताको बारेमा नसोच्ने’ भन्दै आलोचना गर्ने गरेका छन् ।
किराती र राईको प्रतिष्पर्धा यो तेस्रो हो । यसअघि २०६४ मा एमाले स्थायी समिति सदस्य राई किरातीबाट पराजित भएका थिए भने २०७० मा राईले किरातीलाई हराएका थिए । गत वैशाखमा सम्पन्न स्थानीय तहमा दलहरुले पाएको वडागत मतका हिसाबले किरातीलाई सहज देखिन्छ । जिल्लामा सत्ता गठबन्धनको मत ४० हजार ३०५ मत पाएको छ भने नेकपा एमालेको २७ हजार ६५६ मत मात्र छ । जस अनुसार किराती १२६४९ मतले अगाडि छन् ।
संसदको बैठक समयलाई छाडेर अधिकांश समय जिल्लाकेन्द्रीत हुने सुदनको कार्यशैली धेरैले मन पराएका छन् । कोरोनाकालमा जिल्लाभित्र र भोजपुर जन्मथलो भई काठमाडौ कर्मथलो बनाएर बसेका नागरिकको समस्या समाधानमा सहयोग गरेकोले उनी लोकप्रिय छन् । मुख्यमन्त्री हुँदा जनमुखी कामभन्दा कार्यकर्तामुखी योजना ल्याएको आरोप लाग्ने पूर्वमुख्यमन्त्री राईको भड्किलो जीवनशैली पनि आलोचित छ ।
पूर्वमुख्यमन्त्री आचार्यलाई आफ्नैको पिरलो
नेकपा एमालेमा १० बुँदे सहमति पक्षधर भनेर चिनिने प्रदेश १ का पूर्वमुख्यमन्त्री भीम आचार्य सुनसरी २ बाट प्रतिनिधिसभाको उम्मेदवार छन् । २०७४ को निर्वाचनमा सुनसरी १ बाट प्रदेशसभामा निर्वाचित भएका उनी संसदीय दलको नेतामा शेरधन राईसँग पराजित भएका थिए ।
तत्कालिन नेकपामा विवाद बढेपछि राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न अगुवाई गरेका उनी एमाले विभाजनको समयमा भने माधबकुमार नेपालको साथ छाडे । एमालेको भरतपुर महाधिवेशनमा केन्द्रीय सचिबमा पराजित भएपछि पार्टीभित्र हैसियत कमजोर भएपनि उनले टिकट फुत्काएका छन् ।
आचार्य प्रतिनिधिसभाको उम्मेदवार बन्दा सोहि क्षेत्रको आकांक्षी रहेका एमाले सुनसरी अध्यक्ष रेवतीरमण भण्डारी प्रदेशसभाको उम्मेदवार बनेका छन् । भण्डारीले सार्वजनिक कार्यक्रममै आचार्य कमिशनखोर र भ्रष्ट रहेको भन्दै पार्टीको प्रदेश इञ्चार्ज हुँदा पैसामा टिकट बेचेको आरोप लगाउँथे । सुनसरी एमालेमा बलियो प्रभाव रहेका उनलाई एमालेको गत जिल्ला सम्मेलनमा निम्तोसमेत नगरिएको घटनाले उनीप्रतिको असन्तुष्टि प्रष्ट हुन्छ । अहिले पार्टीले उम्मेदवार बनाएपनि दुबै जनाले एकअर्कालाई सहयोग नगर्ने बताइन्छ ।
सुनसरी २ मा २०७४ मा बाम गठबन्धन हुँदा पनि काँग्रेसका सिताराम मेहता निर्वाचित भएका थिए । गठबन्धनबाट यसपटक पनि उनी नै उम्मेदवार बनेका छन् । सो क्षेत्रमा गत स्थानीय तहको मतका आधारमा गठबन्धन ४१०४ मतले अगाडि छ । क्षेत्रमा काँग्रेसको मत ३७७३७, एमालेको ३६४७२, माओवादीको २३५० र एकीकृत समाजवादीको २११९ रहेको छ ।
देवानगञ्ज गाउँपालिका, रामधुनी नगरपालिकाको १, २, ३, ५, ८ र ९ नम्बर वडा, इटहरी उपमहानगरपालिकाको १, २, ३, ४, ५, १६, १७, १८, १९ र २० नम्बर वडा, इनरुवा नगरपालिकाको १, २, ५, ६, ९ र १० तथा हरिनगरा गाउँपालिकाको ३ समेटिएको क्षेत्रमा मधेशी मतदाताको संख्या ठूलो छ । उनीहरुको सहानुभूति मेहताले प्राप्त गरेमा उनलाई चुनाब जित्न सहज हुनेछ ।
मुख्यमन्त्रीको दावीसहित कार्की मैदानमा
मुख्यमन्त्री बन्ने प्रचारसहित प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की झापाको क्षेत्र नं. ५(१) बाट उम्मेदवार बनेका छन् । कमल गाउँपालिकाको १, २, ३ र ४, गौरादह नगरपालिकाको १, २, ३, ४, ५, ६, ७, ८ र ९ तथा गौरिगञ्ज गाउँपालिकाको ३,४,५ र ६ नम्बर वडा समेटिएको क्षेत्र एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभामा उम्मेदवार भएको क्षेत्र हो ।
गत स्थानीय तहको वडा तहमा दलहरुले प्राप्त गरेको मतका आधामा सो क्षेत्रमा गठबन्धन झिनो मतले अगाडि छ । सो क्षेत्रमा एमालेको १८५२९, काँग्रेसको १३६७२, माओवादीको ३२९७ र एकीकृत समाजवादीको १९०४ मत छ । एमालेभन्दा गठबन्धन अगाडि भएपनि सो क्षेत्रमा राप्रपाले एमालेलाई सहयोग गरेकोले कार्कीको अवस्था बलियो देखिन्छ ।
यद्यपी गत स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसभित्रको अन्तरघातको कारण वडाको मत कम आएकोले यसपटक सहजै निर्वाचन जित्ने गठबन्धनबाट उम्मेदवार बनेका जीवनकुमार राईको दावी छ । राप्रपाको साथले एमाले स्थायी समिति सदस्य कार्की बलियो देखिएपनि राप्रपाको सबै मत उनले पाउने अवस्था भने देखिदैन । अर्कोतिर मन्त्री र सांसद हुँदा आफ्नो घर रहेको गौरादह क्षेत्रमा मात्र ध्यान दिएको र अन्यत्र बेवास्ता गरेको तथा बजेटबाट गरिएको काममा आपूmनिकटलाई सामेल गरेर कमिसन लिएको आरोप उनीमाथि लाग्दै आएको छ ।
कार्की उम्मेदवार भएको क्षेत्रमा संविधानसभाको दुईवटा निर्वाचनमा उनकै सहोदर दाजु दिपक कार्की उम्मेदवार भएर निर्वाचित भएका थिए । उनी साविकको गौरादह गाविसमा ३ कार्यकाल अध्यक्षसमेत भएका व्यक्ति हुन् । सो क्षेत्रमा कार्की परिवारकै मात्र हालिमुहाली भएको भन्दै एमालेभित्रकै कार्यकर्ताहरु असन्तुष्ट छन् । त्यसको असर चुनाबमा देखिएमा कार्कीको संसद यात्रा रोकिनसक्छ ।
तुलनात्मक रुपले सहज अवस्थामा घिमिरे
चुनाबी प्रतिष्पर्धामा रहेका २ पूर्वमुख्यमन्त्री र ७ पूर्वमन्त्रीहरुमध्ये अधिकांशलाई चुनाबी अंकगणितले साथ दिने देखिएको छैन । मोरङ ४ (२) बाट उम्मेदवार बनेका पूर्व सामाजिक विकासमन्त्री जीवन घिमिरे भने स्थानीय तहको मतका आधारमा झिनो मतले अगाडि देखिन्छन् ।
कटहरी गाउँपालिकाको १,२ र ३ तथा विराटनगर महानगरपालिकाको १,२,३,८ र १० नम्बर वडा समेटिएको सो क्षेत्रमा गत स्थानीय तहको निर्वाचनमा वडा तहमा दलहरुले प्राप्त गरेको मत हेर्दा गठबन्धनको भन्दा एमालेको मत २०९ बढि छ । क्षेत्रमा एमालेले ११०८३ मत प्राप्त गरेकोमा काँग्रेसले ८४६०, माओवादी केन्द्रले १९१५ र एकीकृत समाजवादीले ४९९ मत प्राप्त गरेको छ । क्षेत्रमा पर्ने ८ वडा वडामध्ये ७ वटामा एमाले विजयी भएकोले आफू सहजै चुनाब जित्ने घिमिरे दावी गर्छन् ।
सो क्षेत्रमा घिमिरेसँगको प्रतिस्पर्धामा गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं विराटनगर महानगरपालिकाका पूर्वप्रमुख भीम पराजुली उम्मेदवार छन् । स्थानीय तहमा काँग्रेसभित्रको किचलोको कारण वडाहरुमा एमाले विजयी भएको भएपनि यसपटक त्यो अवस्था नरहने पराजुलीको दावी छ । मोरङ क्याम्पसको स्ववियु सभापति हुँदै राजनीतिमा सक्रिय पराजुलीले अहिलेसम्म उम्मेदवार भएका कुनैपनि निर्वाचन हारेका छैनन् । यद्यपी उनलाई काँग्रेसभित्रको किचलो चुनौतिपूर्ण बनिरहेको छ ।
संघीय मन्त्रीसँगको प्रतिष्पर्धामा कुसियैत
प्रदेश सरकारका पूर्व उद्योग पर्यटन तथा वातावरण मन्त्री जगदिशप्रसाद कुसियैन सुनसरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाको उम्मेदवार बनेका छन् । भोक्राहा गाउँपालिका, कोशी गाउँपालिका, राधमुनीको वडा नं. ४, बराहक्षेत्रको ६,७,८,९,१० र ११, इनरुवा नगरपालिकाको ३,४ र ८ तथा हरिनगरा गाउँपालिकाको १,२,३,४,५ र ६ नम्बर वडा समेटिएको सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट सञ्चार तथा सूचना प्रबिधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की उम्मेदवार छन् ।
२०७४ को निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारलाई कार्कीले पराजित गर्दा कुसियत भने प्रदेशसभामा निर्वाचित भएका थिए । २०७४ मा कुसियतलाई साथ दिएको माओवादी केन्द्र र उनकै साथमा रहेको एकीकृत समाजवादीको साथ कार्कीले पाएकोले उनी थप बलियो देखिएका छन् ।
गत स्थानीय तहको मतका आधारमा सो क्षेत्रमा एमालेभन्दा गठबन्धन २५२६ मतले अगाडि देखिएको छ । क्षेत्रमा काँग्रेसको मत २८७५६, एमालेको २३६१३, जसपाको ९८६३, माओवादीको ३६४६ र एकीकृत समाजवादीको ३७०० मत रहेको छ ।
जसपाको साथ पाएपछि चुनाब जित्न समस्या नरहेको कुसियतको दावी छ । तर, नागरिकता विधेयकमा एमालेको रबैयाले जसपाका अधिकांश कार्यकर्ता असन्तुष्ट रहेकोले जसपाको मत सहजै कुसियतलाई जाने अवस्था देखिन्न । यद्यपी सो क्षेत्रका रैथाने कुसियतले अघिल्लो निर्वाचनबाट क्षेत्रमा आएका कार्कीलाई कडा टक्कर दिने अनुमान गरिएको छ ।
पूर्वभौतिक मन्त्रीलाई पैसाको भर
प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङ ओखलढुंगा १ बाट प्रदेशसभामा उम्मेदवार छन् । खिजिदेम्बा गाउँपालिका, मोलुङ गाउँपालिका, चिसुंखीगढी गाउँपालिका तथा सिद्धिचरण नगरपालिकाका १, २, ३, ४, ५, ६, ७, ८, ९, ११ र १२ नम्बर वडा समेटिएको क्षेत्रमा काँग्रेसबाट प्रदिपकुमार सुनुवार उम्मेदवार छन् ।
गत स्थानीय तहको मतका आधारमा क्षेत्रमा एमालेभन्दा गठबन्धनबाट ५८९४ मतले अगाडि छ । क्षेत्रमा एमालेको १२३०६, काँग्रेसको १३५८२, माओवादीको ४३६४ र एकीकृत समाजवादीको २५४ मत रहेको छ । क्षेत्रमा जनता समाजवादी पार्टीको पनि १८९८ मत रहेको छ ।
गठबन्धनको मत धेरै भएपनि जिल्लाको विकासमा धेरै काम गरेकोले आफू चुनाब जित्ने गुरुङको दावी छ । गुरुङले चुनाब जित्नसक्ने दावीको पछाडि उनीसँग रहेको अथाह पैसा पनि भएको जिल्लाबासी बताउँछन् । जिल्लाबाट काठमाडौं वा विराटनगर ओहोरदोहोर गर्दा सँधै हेलिकप्टर प्रयोग गर्ने उनले जसपासँग भएको मत किनेर भएपनि चुनाब जित्ने दावी आन्तरिक मिटिङमा गर्दै आएको बताइन्छ ।
गुरुङको छुचोपन र सार्वजनिक रुपमा गालीगलौज गर्ने प्रबृत्तिप्रति स्थानीय असन्तुष्ट छन् । शाही ठाँटमा रमाउने उनले स्थानीय तहका जनप्रतिनिधिदेखि कर्मचारीलाई पनि आफूले भने अनुसार नगरे तथानाम गाली गर्ने गरेका छन् । अर्कोतिर विकासको काममा सदरमुका छाडेर आफ्नो घर भएको रुम्जाटारमा केन्द्रित भएको र सरकारी कार्यालय पनि अपायक क्षेत्रमा पर्ने रुम्जाटारमा लगेको भन्दै अन्यत्रका मतदाता उनीहसँग रुष्ट छन् । जसको असर निर्वाचनमा देखिने अवस्था छ ।
पूर्वराज्यमन्त्री बस्नेत सबैभन्दा संकटमा
प्रदेश सरकारमा भीम आचार्य नेतृत्वको सरकारमा उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री भएका उत्तमकुमार बस्नेत सोलुखुम्बु १ बाट प्रदेशसभा सदस्यको उम्मेदवार छन् । महाकुलुङ गाउँपालिका, सोताङ गाउँपालिका, थुलुङ दूधकोशी गाउँपालिका र नेचा सल्यान गाउँपालिका समेटिएको सो क्षेत्रमा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका गोम्बु शेर्पा चुनाबी मैदानमा छन् ।
स्थानीय तहको वडागत मतको आधारमा सो क्षेत्रमा सत्तारुढ गठबन्धनको मत एमालेको भन्दा झण्डै ३ गुणा छ । सो क्षेत्रमा एमालेले ६६३१, काँग्रेसले ९९४९, माओवादी केन्द्रले ८१३९ र एकीकृत समाजवादीले ५ मत पाएको छ । सो क्षेत्रमा एमालेको भन्दा सत्ता गठबन्धनको मत ११४६२ ले बढि छ ।
शेर्पा समुदायको उल्लेख्य मत रहेको सो क्षेत्रमा माओवादी केन्द्रले गोम्बुलाई नै उम्मेदवार बनाएको मत थप बढ्ने गठबन्धनको दावी छ । मत थोरै भएपनि गठबन्धनभित्रको असन्तुष्टिबीच आफूलाई फाइदा हुने एमाले उम्मेदवार बस्नेतको दावी छ । प्रदेशसभाको ५ वर्षे कार्यकालमा मन्त्री भएपनि जिल्लाको विकासमा योगदान नदिएकोले उनी पराजित हुने अवस्था देखिएको एमालेकै कार्यकर्ताहरु बताउँछन् ।
क्षेत्र फेरेर उम्मेदवार बनेका रानालाई छैन सजिलो
प्रदेश सरकारका पूर्व कृषिमन्त्री रामबहादुर मगर इलामको क्षेत्र नं. २ (२) बाट उम्मेदवार बनेका छन् । २०७४ को निर्वाचनमा क्षेत्र २ (१) बाट निर्वाचित भका उनी यस पटक क्षेत्र फेरेर उम्मेदवार बनेका हुन् ।
चुलाचुली गाउँपालिका, फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र माइ नगरपालिकाको ६,७ र ८ नम्बर वडा समेटिएको क्षेत्रमा सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका हर्कबहादुर लावती उम्मेदवार छन् । सो क्षेत्रमा स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन २४८० मतले अगाडि छ । जसमा एमालेको १४४३२, काँग्रेसको १३२९९, माओवादी केन्द्रको ३२५४ र एकीकृत समाजवादीको ३५९ मत रहेको छ ।
प्रतिनिधिसभामा सुवासचन्द्र नेम्बाङले लगातार जितिरहेको सो क्षेत्र तराईसँग जोडिएको भएपनि जिल्लाकै अविकसित र दुर्गम क्षेत्र हो । वर्षातको समयमा अधिकांश क्षेत्रको बाटो हिलाम्मे हुने भएकोले सवारी साधन सञ्चालन हुन सक्दैन भने क्षेत्रभरिमा राम्रो अस्पताल र शैक्षिक संस्था पनि छैन ।
यो निर्वाचनमा नेम्बाङप्रति मतदाताको ठूलो असन्तुष्टि रहेको छ । अघिल्लो निर्वाचनमा निर्वाचित भएको क्षेत्रमा कार्यकर्ताको चर्को असन्तुष्टि रहेकोले रानाले पनि क्षेत्र परिवर्तन गरेको बताइन्छ । माओवादीका उम्मेदवार भने चुलाचुलीका स्थानीय युवा हुन् । लावतीलाई लिम्बू बाहुल्य क्षेत्र भएकोले किरात धर्मगुरुको पनि सहयोग हुने अनुमान गरिएको छ । जसको कारण राना संकटमा छन् ।
वकिल सांसदको दोस्रो भिडन्त
कानून व्यवसायीको पृष्ठभूमिबाट प्रदेशसभा सदस्य भएका मोरङका लिलाबल्लभ अधिकारीको मन्त्री बन्ने ठूलो चाहना थियो । तर, सांसद भएको केहि समयमै ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्तको पक्षमा अदालतमा बहस गरेपछि उनलाई पार्टीको संसदीय दलले लामो समय निलम्बन गरेको थियो । तत्कालिन एमालेमा माधबकुमार नेपाल निकट रहेका उनले पार्टी विभाजनमा ओलीकै साथ दिएकोले पुरस्कारस्वरुप केहि समय आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनेका थिए ।
अधिकारी मोरङ क्षेत्र नं. २ बाट दोस्रो कार्यकालको लागि उम्मेदवार बनेका छन् । सुनवर्षि नगरपालिकाको १,२,३,४ र ५, कानेपोखरी गाउँपालिकाको १,२ र ३, पथरी शनिश्चरे नगरपालिकाको ५ र ६ तथा रंगेली नगरपालिकाको १,२,३, ८ र ९ नम्बर वडा समेटिएको सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट काँग्रेसका विनोद कार्की उम्मेदवार छन् ।
सो क्षेत्रमा गत स्थानीय तहको मतका आधारमा गठबन्धन २०७० मतले अगाडि छ । क्षेत्रमा एमालेको १६०५१, काँग्रेसको १४८५९, माओवादीको ३२४० र एकीकृत समाजवादीको २२ मत छ । तुलनात्मक रुपमा मतदाताबीचमा गइरहने र सहयोगी व्यवहारको कारण अधिकारी बलियो उम्मेदवारको रुपमा चिनिन्छन् । तर, सुनकाण्डको विवादित पृष्ठभूमि र १० बुँदे पक्षधर भएकोले उनले एमालेको सबै मत पाउँछन् कि पाउँदैनन् यकिन छैन ।
काँग्रेसका उम्मेदवार कार्की पनि क्षेत्रबाहिर बस्ने भएकोले मतदाताको रुचीमा परेको देखिएको छैन ।