विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले नागरिकता विधेयक पास नहुँदा नागरिक योग्य सर्वसाधारणहरू गैरनागरिक बनेर बस्नुपरेको बताएका छन् ।
चुनाव प्रचार प्रसारका क्रममा विराटनगर ११ मा आयोजित एक कार्यक्रममा कोइरालाले यस्तो बताएका हुन् । कोइराला समक्ष नागरिकताबिहीन युवाहरुले प्रश्न गरेका थिए ।
सर्वसाधारणको प्रश्नमा मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उमेदवार डा. कोइरालाले राष्ट्रपतिले संविधान नमान्दा नागरिकता विधेयक पास हुन नसकेको जवाफ दिए ।
नेता कोइरालाले सदनबाट दुईपटक पास गरेर पठाएको नागरिकता विधेयक पास नगरेर राष्ट्रपतिले संविधान उल्लङ्घन गरेको आरोप पनि लगाए । मंसिर ४ को निर्वाचन पछि बन्ने यहि गठबन्धन सरकारले नागरिकता विधेयक पास गर्ने उनले बताए । उनले भने, ‘मैले जितें भने सदनमा पुगेर नागरिकता विधेयक पास गराउन सहयोग गर्छु ।’ विराटनगर–११ का स्थानीयले नागरिकता बनाउन नपाउँदा उमेर पुगेका सर्वसाधारणले राज्यबाट पाउने सेवा सुविधा लिन नपाएको गुनासो गरेका थिए ।