विराटनगर । दसैं तिहार र छठ जस्ता महत्वपूर्ण चाडपर्व सकिएसँगै मंसिर ४ गते हुने आम निर्वाचनको माहौल चारैतिर बढ्न थालेको छ । चाडबाडको बीचमा पनि चुनावी भेटघाटलाई निरन्तरता दिएका राजनीतिक दलका उम्मेदवारहरुले छठ सकिएलगतै मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा चुनावी गतिविधिलाई तीब्र पारेका छन् ।
क्षेत्र नम्बर ६ मा मंगलबारदेखि सत्ता गठबन्धन दलका उम्मेदवारहरु दुवै प्रदेश निर्वाचन क्षेत्रलाई चलायमान गर्ने ढंगले निर्वाचन कार्यक्रम बनाएर जनपरिचालनमा उत्रिएका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला मंगलबारदेखि प्रदेश निर्वाचन क्षेत्र ६(२) मा केन्द्रीत भएर टोल केन्द्रीत अभियानमा छन् । डा. कोइरालासँगसँगै प्रदेशसभा तर्फ गठबन्धनका उम्मेदवार आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की चुनावी अभियानमा छन् ।
यस्तै प्रदेश निर्वाचन क्षेत्र ६(१)मा प्रदेशसभा सदस्य पदका उम्मेदवार जीवन आचार्यले गठबन्धनको चुनावी अभियानलाई तीब्र बनाएका छन् । मंगलबारदेखि आचार्यले बुढीगंगा केन्द्रीत अभियान सञ्चालन गरिरहेका आचार्यलाई नेपाली काँग्रेसका समानुपातिक उम्मेदवार चुमनारायण तबदारले साथ दिएका छन् ।
गठबन्धन दलका उम्मेदवारहरुले बुधबार बुढीगंगा गाउँपालिका वडा नम्बर ३ का टोलहरुमा मतदाताहरुसँग भेटघाट गरी चुनावी एजेण्डा केन्द्रित छलफल गरेका थिए । अघिल्लो पटक झिनो मतान्तरले पराजित भएरपनि निरन्तर जनताको काममा केन्द्रीत रहेका आचार्यप्रति यस पटक त्यस क्षेत्रका मतदाताहरु सकारात्मक रुपमा प्रस्तुत भइरहेको स्थानीय दीपा महेश्वरीले जानकारी दिइन् । संयुक्त निर्वाचन परिचालन समितिले मंगलबार र बुधबार बुढीगंगाको झण्डै एक दर्जन टोलहरुमा सामुहिक भेटघाट र छलफल आयोजना गरेको जनाएको छ ।
प्रदेश निर्वाचन क्षेत्र ६(२) मा पनि मंगलबारदेखि सत्ता गठबन्धनमा भएका दलहरुले संयुक्त चुनावी कार्यक्रम तीब्र ढंगले अगाडि बढाइरहेको छ । मंगलबार र बुधबार प्रदेश निर्वाचन क्षेत्र ६(२) अन्तरगत पर्ने विराटनगर महानगरपालिकाका वडानम्बर ५, ६, ७, ११ र १२ का १३ स्थानमा कोणसभा आयोजना गरी चुनाव प्रचारलाई आक्रमक ढंगबाट अगाडि बढाएको नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीका सचिव नमिता न्यौपानेले जानकारी दिइन् ।बिहीबार सत्ता गठबन्धन दलका उम्मेदवारहरु क्षेत्र नम्बर ६ अन्तरगत विराटनगर ४, ९ र सुन्दरहरैंचा नगरपालिकामा पर्ने वडाहरुमा आयोजना हुने चुनावी अभियानमा सक्रिय रहने गरी कार्यतालिका बनाएका छन् ।
मोरङ क्षेत्र नम्बर ६ मा नेकपा एमालेको गठबन्धनले पनि चुनावी तयारीलाई तीब्रता दिएको छ । छठ पर्वको दिनमासमेत निर्वाचन क्षेत्र अन्तरगत पर्ने अधिकांश पूजास्थलमा पुगेर चुनावी अभियान बढाएका प्रतिनिधि सभाका उम्मेदवार लालबाबु पंडितले बुधबार विराटनगर ६ मा घरदैलो अभियान सञ्चालन गरे । निर्वाचन आयोगले २५ जनाभन्दा बढी उपस्थित गराएर गतिविधि गर्न नहुने आचारसंहिता जारी गरेको भएपनि पंडितले बुधबार एक सय जनाभन्दा धेरैको उपस्थितिमा घरदैलो गरेका थिए । प्रदेश निर्वाचन क्षेत्र ६(१) तर्फ एमाले प्रदेशसभा सदस्य पदको उम्मेदवार रीता न्यौपानेले चुनावी गतिविधि सञ्चालन गरेको एमाले महानगर कमिटी अध्यक्ष सागर थापाले जानकारी दिए ।