योगदान सम्झाउँदै मत माग्दैछन् सिटौला

झापा । नेपाली काँग्रेसका नेता तथा झापा क्षेत्र नम्बर ३ का प्रतिनिधि सभाका उम्मेदवार कृष्णप्रसाद सिटौलाले राज्यका लागि आवश्यक पर्दा आफूले महत्वपूर्ण योगदान दिएको स्मरण गर्न मतदातासित अनुरोध गरेका छन् ।

दक्षिणी झापाको कचनकवल गाउँपालिकाका मतदातासित भेटघाटमा रहेका सिटौलाले तत्कालीन विद्रोही माओवादीसँग बाह्रबुँदे सहमति, शान्ति प्रक्रिया, संविधान निर्माण जस्ता महत्वपूर्ण काम गरेर देशलाई आवश्यक पर्दा भूमिका खेलेको भन्दै झापा ३ को उन्नतिका लागि पूर्वपश्चिम हुलाकी सडक, उत्तरदक्षिण मेची राजमार्ग निर्माण पनि आफ्नै पहलमा सम्पन्न भएको प्रष्ट पारेका छन् ।

सिटौलाले भने– ‘चुनावमा म यहाँबाट निरन्तर उम्मेदवार छु । तर मैले चुनाव जितेको जम्मा तीनपल्ट हो । पूर्ण रूपमा निर्वाचित भएको मध्यावधि २०५६ मा र दोस्रो संविधानसभामा मात्र हो, विभिन्न परिस्थितिका कारण पूरा कार्यकाल बिताउने अवसर मिलेन ।’ तर पनि यस क्षेत्रको विकासका लागि ग्रामीण सडक, खानेपानी, कृषि सडक सञ्जालका लागि बनियानी पाठामारी, केचना रिङरोड, पथरिया घेरावारी, जलथल सडक जस्ता आधादर्जन बढी सडक सञ्जाल आफ्नै कार्यकालमा सुरू गरेर निर्माण सम्पन्न नहुञ्जेल खवरदारी गरेको स्पष्ट पारेका छन् ।

उनले भने– ‘यहाँ मेरो प्रतिस्पर्धामा एमाले छैनन् पनि । तर यसपालि पनि किन एमाले नेतृत्वले राजतन्त्रवादीलाई बोकेको हो, मलाई एकदमै अचम्म लागेको छ । झापाबाट जन्मेको पार्टी हो एमाले । लामो संघर्ष, बलिदान भएको पार्टी हो । हामी निरंकुश पंचायतका मानिसहरूलाई मण्डले भन्थ्यौं । मण्डलेबाट दमन भोगेकै पार्टी हो एमाले । २०४६ सालदेखि २०६२–६३ को आन्दोलनमा समेत भद्रपुरमा सयौं मानिस घाइते भए । दुई जना त शहीद नै भए । यस्तो सहादत प्राप्त गरेको ठाउँमा एमालेले फेरि राजतन्त्रवादीलाई नै समर्थन गर्ने गल्ती किन दोहोर्यायो, मलाई आश्चर्य लागेको छ ।’ यो संविधानको जग भनेको गणतन्त्र हो भन्दै सिटौलाले हटिसकेको राजतन्त्रको वकालत गर्नेहरू अग्रगमनका विरोधी भएकोले उनीहरूलाई मतदान गर्न नहुने धारणा राखेका छन् ।

सिटौलाले २००७ सालको परिवर्तनको मौलिक उपलब्धि भनेको लोकतन्त्र भएको बताए । त्यस्तै अहिले २०६३ को परिवर्तनको मौलिकता चाहिँ गणतन्त्र हो भन्दै यत्रो परिवर्तन ल्याउन भूमिका खेल्ने शक्तिले राजतन्त्र पक्षधरलाई पटक–पटक बोक्नु राम्रो नभएको प्रष्ट पारेका छन् ।

उनले गणतन्त्रले के दिन्छ भन्ने खालको सोच नागरिकमा उत्पन्न हुनुमा वर्तमान संविधानको कार्यान्वयनका लागि सही र वास्तविक पहल हुन नसक्नु रहेकाले अव कानुनहरू बनाएर जनताले संवैधानिक व्यवस्थाबाट हामीलाई आर्थिक प्रगति भयो, सामाजिक सांस्कृतिक प्रगति भयो भन्ने महसुस गर्न पाउनु पर्ने बताएका छन् ।

सिटौलाले यो पल्टको चुनावमा संविधानको रक्षा, देशको विकास, जनताको आर्थिक प्रगति र समृद्धि मुख्य मुद्दा यही हुने भन्दै एमाले र माओवादी एकताबद्ध भएर ठूलो कम्युनिस्ट बनाए पनि उनीहरूको आन्तरिक खैलाबैलाले देशमै समस्या आएकोले देशले प्रगति हासिल गर्न नसकेको स्पष्ट पारेका थिए ।

बुधबार, १६ कार्तिक, २०७९, बिहानको ०७:५१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर