विराटनगर । केही दिनअघि शेरधन राईले बोलेको एउटा भिडियो भाइरल भयो । प्रदेश १ खका मुख्यमन्त्री भइसकेका राईले त्यो भिडियोमा जनप्रतिनिधिको अपमान हुने गरी बोलेका थिए ।
उनले भनेका थिए ‘सांसद भनेको माग्ने मात्रै हो, सुदन किरातीले जिते सांसद मात्रै बन्ने हो, मैले जितेँ भने मन्त्री हुने हो ।’
वैचारिक रुपले खारिएका वाम नेता मानिने सुदन किरातीले त्यसको भोलिपल्टै कडा जवाफ फर्काए । उनले भने ‘भोजपुरका जनतालाई अब खच्चडको होइन, बुलेट ट्रेनको आवश्यकता छ । के शेरधनले मन्त्री पद कागज गरेरै पाएका छन् ?’
यसपछि शेरधन नाजवाफ जस्तै बने । उनले त्यसपछि सुदनलाई उनले जिस्काएका छैनन् । यस्तै घोचपेचसहितका अभिव्यक्ति र चुनावी अभियानले भोजपुरको निर्वाचनको लडाइँलाई रोचक बनाउँदै लगेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा प्रतिनिधिसभातर्फ भोजपुरमा माओवादी केन्द्रका उम्मेदवार सुदन किराती र एमालेका उम्मेदवार शेरधन राईबीच मुख्य प्रतिस्पर्धा हुँदैछ । त्यही प्रतिष्पर्धामा खरो उत्रने प्रयासमा दुवै उम्मेद्वार जुटेका छन् ।
यो चुनावी दौडमा यसपटक शेरधन राई सुरुबाटै रक्षात्मक अवस्थामा पुगेका छन् । संघीय सरकारको मन्त्री भएको, प्रदेशको मुख्यमन्त्री भएको र बारम्बार सांसद हुँदा पनि अझै उही एजेण्डा लिएर मतदातामाझ पुगिरहँदा उनी चौतर्फी प्रश्नहरुले घेरिएका छन् । साढे तीन वर्ष सहज अवस्थामा प्रदेश सरकारको नेतृत्व गर्दा पनि प्रदेश नामकरणको काम समेत गर्न नसकेको कुराले शेरधनलाई पूरै रक्षात्मक बनाइदिएको छ ।
शेरधनले ‘समृद्ध भोजपुरका लागि’ भन्दै सामाजिक सन्जालमा मत माग्दा बहुसंख्यकले ‘यतिका वर्षको हिसाब’ मागिरहेको देखिन्छ । ‘हो, निरन्तर अवसर पाइरहेका कारण उहाँलाई अहिले प्रश्नहरुले लखेटेर रक्षात्मक बनाइदिएको छ’, भोजपुर एमालेका जिल्ला कमिटीका एक सदस्यले भने ‘प्रदेशको नामकरण मात्रै गरेको भए पनि अहिले सजिलो हुने अवस्था हुन्थ्यो ।’
यसविपरित माओवादीका युवा नेता सुदन किराती भने आक्रामक चुनावी प्रचारमा खटिएका छन् । अहिलेसम्म मन्त्री हुन नपाएका उनले सदनमा निरन्तर आवाज उठाएको कुरालाई र जनस्तरमा गरेका कामको कुरालाई चुनावी मुद्दा बनाएका छन् ।
सुदन नेपाली कांग्रेस, एकीकृत समाजवादीलगायत पाँच दलीय सत्ता गठबन्धनको साझा उम्मेदवार हुन् । एमालेका उम्मेदवार शेरधनलाई भने अन्य पार्टीले सहयोग गरेका छैनन् । यस आधारमा हेर्दा भोजपुरको चुनावी प्रतिस्पर्धामा एमालेका शेरधनभन्दा माओवादी केन्द्रका सुदन अगाडि देखिन्छन् ।
अर्कातर्फ केही महिना पहिले भएको स्थानीय तहको निर्वाचनको परिणामले पनि सुदन अगाडि रहेको देखाउँछ । स्थानीय चुनावमा भोजपुरका वडाध्यक्षहरूमा एमालेले कुल २७ हजार ६५६ मत पाएको थियो । उता सत्ता गठबन्धनले वडाध्यक्षहरूमा पाएको कुल मत ३८ हजार ५५६ पुग्छ ।
यसरी हेर्दा स्थानीय चुनावमा प्राप्त मतको आधारमा गठबन्धन एमालेभन्दा १० हजार ९ सय मतले अगाडि छ । एमालेका उम्मेदवार शेरधन मन्त्रीदेखि मुख्यमन्त्रीसम्म भइसकेका छन् । माओवादी केन्द्रका उम्मेदवार सुदन भने अहिलेसम्म मन्त्री भएका छैनन् । चुनावी मैदानमा सुदन र शेरधनको दुईपटक जम्काभेट भइसकेको छ ।
२०६४ को निर्वाचनमा सुदनले शेरधनलाई पराजित गरेका थिए भने २०७० मा शेरधनले सुदनलाई । २०७४ को निर्वाचनमा भने सुदन र शेरधन दुवै वाम गठबन्धनका उम्मेदवार थिए । त्यतिबेला सुदन प्रतिनिधिसभा र शेरधन प्रदेशसभाका उम्मेदवार थिए । २०७४ को निर्वाचनमा दुवै निर्वाचित भएका थिए । तेस्रो चुनावी भेटमा यी दुईमध्ये कसले बाजी मार्ला ? यसका लागि भने मंसिर ४ पछिको परिणाम कुर्नुपर्नेछ ।