एकीकृत समाजवादीको घोषणापत्र

भ्रष्टाचारमुक्त सरकार, आर्थिक सम्पन्नताको आधार

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आसन्न मंसिरमा ४ गते हुने निर्वाचनका लागि सोमबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

सो पाटीले मुलुकमा मौलाएको भ्रष्टाचार समग्र अर्थतन्त्रको गम्भीर रोग बनेको निष्कर्ष समेत निकालेको छ ।

‘भ्रष्टाचारका कारण लक्षित वर्ग, समुदायसम्म विनियोजित रकम नपुग्ने, विकास निर्माणका काम गुणस्तरहीन हुने वा अनावश्यक लागत बढाउनेजस्ता समस्याहरूले जरो गाडेका छन्’, नेकपा एकीकृत समाजवादीले भनेको छ– ‘हाम्रो पार्टी समग्र नेपाली समाजबाट भ्रष्टाचारलाई निर्मूल गर्ने अभियान सञ्चालन गर्नका लागि दृढ सङ्कल्पित छ ।’

साथै यसको सुरुवात सबै क्षेत्रबाट गरिनुपर्ने समाजवादीले जनाएको छ । ‘भड्किलो जीवनशैली भ्रष्टाचारको एक प्रमुख कारक रहेको कुरालाई मनन गर्दै हाम्रा जनप्रतिनिधिले उदाहरणयोग्य सादा जीवन बिताउने कुरामा विशेष ध्यान दिने छन् । हाम्रा जनप्रतिनिधिले आफ्नो घरमा हुने विभिन्न पारिवारिक वा सांस्कृतिक कार्यक्रमको आयोजना गर्दा वा चाडपर्वहरू मनाउँदा सकेसम्म कम खर्चमा सादा ढङ्गले सम्पन्न गर्ने कुरामा विशेष ध्यान दिने छन्’, नेकपा समाजवादीले घोषणापत्रमा भनेको छ ।

‘भ्रष्टाचारमुक्त सरकार र भ्रष्टाचाररहित समाज’ को नारासहित भ्रष्टाचार, घुसखोरी, कमिसनखोरी, अनियमितता, सरकारी काममा ढिलासुस्ती आदिमा कडा निगरानी राख्ने प्रतिवद्धता जनाएको नेकपा एसले आफ्ना जनप्रतिनिधिहरूको आर्थिक आचरण शुद्ध हुने दावी गरेको छ ।

‘कुनै पनि खाले भ्रष्टाचारीलाई कडा कार्वाही गरिनेछ । यसअघि केन्द्रदेखि स्थानीय तहसम्म भएका भ्रष्टाचारका घटनाहरू, विभिन्न घोटाला काण्डहरूको तत्काल छानविन गरी दोषीहरूलाई कडाभन्दा कडा कार्बाही गर्नरगराउन पहल गरिनेछ । भ्रष्टाचारीलाई उन्मुक्ति हुने अवस्थाको अन्त गरी राज्यका कानुन र संयन्त्रहरूलाई सुदृढ र व्यवस्थित गरिने छ’, सो पार्टीले भनेको छ ।

सोमबार, १४ कार्तिक, २०७९, दिउँसोको ०२:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर