युवा संघ विराटनगरका अध्यक्ष लामाविरुद्ध पक्राउ पुर्जी जारी

विराटनगर । नेकपा एमालेका भातृ सङ्गठन युवा संघ नेपाल विराटनगरको अध्यक्ष किरण लामाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

विराटनगर – ८ का औषधी व्यवसयाी ३४ वर्षीय नवल यादव र २४ वर्षीय अभिषेक साहलाई अपहरण तथा शरीर बन्धक बनाएको उजुरीको आधारमा मोरङ प्रहरीले जिल्ला अदालतबाट आइतबार दिउँसो पक्राउ पूर्जी जारी गरेको हो ।

मोरङ अदालतका सूचना अधिकारी सुवोद आचार्यले अपहरण तथा शरिर बन्दक मुद्दामा पक्राउ पुर्जी जारी भएको बताए । ‘आज दिउँसो मोरङ प्रहरीले पक्राउ अनुमति माग गरेको थियो,’ उनले भने, ‘अदालतबाट पक्राउ पुर्जीको अनुमति दिएको छ ।’

मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले पीडितले दिएको उजुरीमाथि अनुसन्धान भइरहेको बताए । प्रहरीमा उजुरी परेपछि लामा फरार छन् । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

शुक्रबार अबेर उजुरी परेको र शनिबार बिदा भएका कारण आज मुद्दा दर्ता भएको डिएसपी श्रेष्ठले बताए।

दुबै पीडितलाई शुक्रबार लामाले आफ्नै घरमा बोलाएर बन्धक बनाएका थिए । शुक्रबार नै पीडितले जिल्ला प्रहरी कार्यालय मोरङमा ठाडो निवेदन दिएका थिए ।

शनिबार भने जाहेरी दरखास्त दिएका थिए । जाहेरीमा लामाका सहयोगी ३२ वर्षीय अनुज मगरलाई पनि विपक्षी प्रतिवादी बनाइएको छ ।

जाहेरीमा जनपथ टोलस्थित घरमा शुक्रबार मध्यान्ह १२ बजे लामाले बोलाएको उल्लेख छ ।

मिटर ब्याजमा लिएको पैसा नदिएको भन्दै लामाले शुक्रवार दिउँसो दुवै पीडितलाई आफ्नै घरमा बोलाएर बन्धक बनाएर कुटपिट गरेका थिए । लामा समूहका कुटपिटबाट घाइते भएका दुई मध्ये अभिषेक उम्किएर भागेका थिए । उनैले मोरङ प्रहरीलाई घटनाको बारेमा जानकारी दिएपछि प्रहरीले लामाको घर खानतलासी गर्दा बन्धक बनाइएका नवललाई फेला पारेर उद्धार गरेको थियो ।
विराटनगरको हस्पिटल चौकमा औषधी पसल सञ्चालन गर्ने नवलले लामाबाट गत असार २९ गते पाँच लाख रुपैयाँ सापटी लिएका थिए । यादवले लामासँग फार्मेसी व्यवसाय सञ्चालन गर्न पैसा सापटी लिएका हुन् । लामाले तीन महिनामै पाँच लाख रुपैयाँको मिटर ब्याज कारोबारमा १८ लाख असुलिसकेका थिए ।

‘उक्त पैसा दिइसकेकोमा लामाले सामान्य कुरा गर्नु भनी मलाई बोलाएका थिए, म सँग रहेका अभिषेक साह समेतलाई लिएर घरमा पुगेँ,’ यादवले जाहेरीमा भनेका छन्, ‘घर पुगेपछि मुनि तलामा रहेको कोठामा बस्नुस् भनी नचिनेका केटाहरूको सहयोगमा कोठाभित्र थुनेर ताल्चा लगाइदिए ।’ त्यसपछि लामाले यादवलाई पाँच लाखको मिटर ब्याजमध्ये अब पच्चीस लाख रुपैयाँ बाँकी रहेको र तत्काल उपलब्ध गराउन दबाब दिएका थिए । ‘कुटपिट गर्दै उनले पैसा नदिए टुक्रा–टुक्रा पारेर कोसीमा हामी आज राति पालिदिन्छौँ,’ जाहेरीमा भनिएको छ, ‘तिमीहरूको केही लाग्दैन, पुलिस प्रशासन सम्पूर्ण हाम्रो हातमा छ ।’

आइतबार, ०६ कार्तिक, २०७९, दिउँसोको ०३:१५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर