विराटनगर । चलचित्र जगतको चकाचौंध छाडेर मोरङको ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा उम्मेद्वार बनेकी रेखा थापाको चुनावी अभियान तीब्र छ । उनको परिचय अभिनेत्री मात्रै नभएर राप्रपाको नेतृ र उम्मेद्वारका रुपमा पनि थप भएको छ । मंसिर ४ पछि उनको परिचय माननीय थप हुने नहुने त्यहाँका जनताको निर्णयले निर्धारण गर्नेछ ।
केही महिना अगाडिदेखि दैनिक बिहानैदेखि सुरु भएको उनको चुनावी घरदैलो तथा सानातिना भेला, बैठक र कार्यक्रम भ्याइनभ्याइ छ । यसखालका कार्यक्रम दैनिक दर्जन बढी हुने गरेको उनी बताउँछिन् । ती कार्यक्रममा पुग्दा र बोल्दा उनको खुट्टा सुन्निएको छ भने स्वर भासिएको छ ।
‘हेर्नु न मेरो खुट्टा सुन्निएर हिंड्नै अप्ठ्यारो भएको छ ’ गोलीगाँठाको भाग देखाउँदै उनले भनिन्, ‘स्वर भासिएर फोन गर्नेहरु केटाको स्वर कसरी आयो भन्दै फोन काट्छन्, म रेखा नै हुँ भन्दा पनि विश्वास गर्दैनन् ।’ धेरै पैदल हिंडेर खुट्टा सुन्निएको उनी बताउँछिन् ।
मोरङको क्षेत्र नम्बर ३ मा पर्ने उनकै गृहनगर सुन्दरहरैंचा नगरपालिकाको ११ नम्बर वडाको तीनमुढेमा साँझ ५ बजे भेटिएकी उनले चुनावी अभियानबाट आफू उत्साहित भएको सुनाइन् । शुक्रबार मात्रै उनले ११ नम्बर वडामा ८ वटा औपचारिक कार्यक्रम गरिन् । शुक्रबारको अन्तिम कार्यक्रम भएकोले उनीसहित उनको टिम थकित देखिन्थ्यो । रेखाको अभियानमा साथ दिने केही युवा र राप्रपाका सिमित कार्यकर्ता देखिए पनि बोल्न पालो दिने, पार्टीको नीतिगत कुरा गर्ने मानिसको कमी देखियो । अभियानका क्रममा रेखा राजतन्त्र पुनःस्थापना र गणतन्त्र तथा संघीयताको विरोधमा कतै पनि अभिव्यक्ति दिन्नन् । बरु उनी परम्परागत पार्टी (काँग्रेस, एमाले)को नामै लिएर आलोचना गर्छिन् ।
‘यहाँ काम नगरेर जनतालाई ठगेर, जनतालाई चुसेर पैसा बाँड्न आउँछन् । अब त्यो गर्न दिनुहुँदैन । मोटरसाइकलमा पेट्रोल हाल्न खोज्छन् भने ५ वर्षको लागि माग्ने, चामल दिन्छन् भने ५ वर्षको लागि माग्ने,’ उनी अन्तिम समयमा भोट बिग्रन सक्ने भन्दै खबरदारी गर्छिन् र क्रान्तिकारी भाषण हान्छिन्, ‘हाम्रो भोट पाएर महलमा बस्छन् । फेरि हामी भोट उसैलाई हाल्ने ? अस्ति जिताएर पठाएपछि तिमिहरुले के गर्यौं भनेर प्रश्न पनि नगर्ने ? चुनावको अन्तिम दुई, तीन दिनमा जे पनि हुनसक्छ ।’
रेखाको भाषणमा पार्टीको नीति, सिद्धान्त र योजनाका कुरा खासै छैनन् । उनले भावनाका कुरा बढी गर्छिन् र आफूलाई केन्द्रमा राख्छिन् । ‘क्षेत्र नम्बर ३ ले जित्नका लागि मलाई जिताउनुपर्छ । रेखा थापाले जित्नु भनेको क्षेत्र नम्बर ३ ले जित्नु हो,’ उनी महिलालाई सम्बोधन गर्दै भन्छिन्, ‘यदि भोट बिक्ने अवस्था आयो भने त्यस्तो बेलामा तपाईका श्रीमान्, भाई, दाईलाई कन्ट्रोल गर्ने जिम्मा महिलाहरूमा छ । त्यसकारण भट्टीमा गएर बिक्ने र बहकिने पुरुषहरूलाई महिलाले ठीक ठाउँमा ल्याउनु पर्छ । यो क्षेत्रमा क्रान्ति ल्याउनु पर्छ ।’
उनको भाषणमा दाजुभाई तथा युवाहरुलाई पनि लक्षित गर्दै केही शब्द थप्छिन् । ‘यो पटक दाईहरूलाई मेरो आग्रह छ । हामी पूजा गर्दा यमराजलाई छेकेर तपाईहरुको रक्षाका लागि टिका लगाइदिन्छौं । अब यो पटक हलोमा मलाई मत दिएर बहिनीको रक्षा गर्नुपर्छ ।’
उनको टार्गेट महिलामा नै देखिन्छ । चुनावी कार्यक्रम लिएर जुनसुकै ठाउँमा गए पनि महिला तथा वृद्धाको गाला सुम्सुम्याएर अँगालो हाल्ने र भोट माग्ने उनको चलन नै भइसक्यो । सामाजिक संजाल फेसबुकमा उनले पोष्ट गरेका अधिकांश फोटो तथा भिडियोहरुमा पनि वृद्धवृद्धा महिला नै बढी देखिन्छन् ।
‘अरु कुरा त्यस्तै हो, मान्छे जुटाउन चाहिँ हामीलाई समस्या छैन, रेखा आउने भनेपछि मानिस यतिकै झुम्मिन्छन्,’ रेखा थापालाई चुनाव जिताउन हिँडेको बताउने युवा निकेश बराल भन्छन्, ‘महिला र युवतीहरु धेरै आउँछन् ।’ उनको कार्यक्रममा पनि वृद्धा महिला तथा केटाकेटी र युवतीहरु धेरै देखिन्छन् । युवाहरु कमै मात्रामा छन् ।
रेखा थापा पुग्नु अगाडि सुनसान रहेको कार्यक्रमस्थल तीनमुढेमा रेखा पुगेको केही मिनेटमै मानिसहरू झुम्मिए । उनीहरुले सुरुदेखि अन्तिमसम्म रेखा थापाको कुरा सुने । हौसल्ला दिए । ताली पड्काए । रेखालाई भोट दिने भने । ‘धेरै अगाडि देखेको हो । पहिले काली थिइ । अहिले त धेरै गोरो भइछ,’ सोही स्थानकी वृद्धा मेत्री थारुले भनिन्, ‘ विराटचौकमा सुटिङमा देखेको थिएँ । उसलाई भोट दिन्छु नि, किन दिन्न ? ’ भोट दिन्छु भन्ने वृद्धा थारुले रेखा थापाको चुनाव चिन्ह भने थाहा नभएको बताइन् । कार्यक्रम अवधिभर रेखा थापाको नाम सुनेका केटाकेटी र युवतीहरूले फोटो र भिडियो खिचिरहे ।
रेखा आफूलाई बालेन साहलाई जस्तो सहयोग गर्नुपर्ने बताउँछिन् । ‘तपाईलाई थाहा छ नि संचारमाध्यामले गर्दा बालेनले जितेको,’ उनले भनिन्, ‘मलाई पनि सहयोग गर्नुपर्यो ।’ रेखालाई यो पटक काठमाडौंमा जस्तै यो क्षेत्रमा चमत्कार हुन्छ भन्ने लाग्छ ।
‘अरुभन्दा म धेरै अगाडि छु’
चुनावी अभियान सुरु भएपछि अहिलेसम्म कतिवटा कार्यक्रम गर्नुभयो ?
– गणना गर्नै नसकिने गरी कार्यक्रम गरिएको छ । एउटा वडामा १२, १५ भन्दा बढी कार्यक्रम गरिएको छ । जनता परिवर्तनको पक्षमा छन् । परम्परागत पार्टीभन्दा अरु नै विकल्प खोजेका छन् । त्यसको विकल्प म भएको छु ।
जित्ने विश्वास छ ?
– म जित्छु । विश्वास छ ।
तपाईको दुःख र दौडधूप हेर्दा त नजित्ने भए किन उठ्नु नि भनेजस्तो देखिन्छ नि ?
– हा हा हा … म जित्नकै लागि दौडिएको हुँ ।
तपाईको दौडधूप खुल्ला मैदानमा फुटबल हानिरहेको छु कि जस्तो लाग्दैन ? ठूला पार्टीहरु आक्रामक रपमा आएपछि के होला ?
– अहिले पनि आइनै रहनु भएको छ नि । मलाई उहाँहरुले ओझेलमा पार्नै सक्नुहुन्न ।
अलि बढी वृद्ध–वृद्धा र महिलामा ‘फोकस’ हुनुभएको रहेछ नि ?
होइन । सबै महिलामा मात्रै केन्द्रीत भएको छैन । महिलाहरूको धेरै सहभागीता रहेको ठाउँमा उहाँहरुको विषय बोलेको हुँ । म आफैं महिला भएको कारण महिलाका लागि अलि बोल्नु पनि पर्छ । तर, पुरुषका लागि पनि बोलेको छु ।
हिरोइन भएर ठाउँठाउँमा जाँदाको अवस्था र अहिले नेता भएर भोट माग्दै जाँदाको अन्तर के पाउनु भयो ?
त्यतिखेर पनि मलाई जनताले लिडर नै मान्नुहुन्थ्यो । फिल्मको नेतृत्व गरिरहेको मान्छे यो हाम्रो हिरो हो भन्ने रेस्पोन्स पाउँथे । तर, जुन परम्परागत हिरोइनको जस्तो रेस्पोन्स (कति राम्रो लिपिष्टीक, कति राम्रो मान्छे) मैले पाइनँ । मेरो सादगीपन नै मानिसले बढी मन पराएका थिए । कार्यक्रममा जाँदा पनि मेरो अधिकांश समय नाच्ने गाउने भन्दा पनि भाषण नै हुन्थ्यो । नेपालभरि नै मनोवैज्ञानिक हिसावले मलाई पहिलाबाट नै लिडरको रुपमा मानिसक्नु भएको थियो भन्ने लाग्छ ।
त्यसबेला र अहिलेको फरक चाहिं के पाउनु भयो भनेको ?
– अहिले म माथि लगानी गर्नुहोस् साँवा ब्याजसहित फिर्ता गर्छु भनेर आएको छु । त्यतिबेला चाहिँ के चाहिन्छ भनेर जान्थें । यो पटक मंसिर ४ सम्मका लागि चाहिं मत माग्छु ।
त्यसबेला पैसा दिएर स्टेज कार्यक्रममा बोलाउँथे । अहिले आफैं स्टेजमा लगानी गरिरहनु भएको छ नि ?
– यो राम्रो कुरा हो । यो हक अधिकारको कुरा हो । मेरो अन्तरवार्ता आज भन्दा १० वर्ष अगाडिको हेर्नुहोला । त्यसबेला नै मैले जनताको घरघरमा जान्छु भनेर भनेको थिएँ ।
– तपाईको एकजना प्रतिस्पर्धी भानुभक्त ढकाल मन्त्री भइसक्नु भएको मान्छे हो । अर्को डाक्टर सुनिल शर्मा मेडिकल कलेज संचालन गर्नुहुन्छ । दुवैजनासँग ठूलो संगठन छ , पैसा छ । दुई प्रभावशाली उम्मेद्वारले दिने चुनौतीको पहाडको बीचमा कसरी विजयी हुनुहुन्छ ?
पहाड बोक्ने हनुमान थिए कि थिएन ? म त पहाड बोक्न सक्ने मान्छे हुँ । विशाल जनताको साथ लिएर म जनताको मतबाट ती पहाड पन्छाउने छु । यदि यो मैदानमा सही काम र विकास भएको थियो र उसले गरेको वाचा पुरा गरेको थियो भने मेरो प्रतिस्पर्धा नै हुँदैन थियो । यहाँ त मसँग प्रतिस्पर्धा नै भएको छैन । म धेरै अगाडि छु । यो फिल्ममा भिलेनलाई तह लगाउने भनेजस्तै म यसपटक परम्परागत नेतालाई तह लगाउने हो । त्यसका लागि म आएको हुँ ।