दमक । नेपाली कांग्रेसका नेता एवम् पूर्व उपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिलाई सही ढङ्गले अघि बढाउन र नेपालजस्तो सानो देशलाई स्वतन्त्र, स्वाधीन र सार्वभौम राख्न नेपालका राजनीतिक दलहरूले साझा एजेण्डा बनाएर जानु पर्ने बताएका छन् ।
गृह जिल्ला झापा र आफ्नो निर्वाचन क्षेत्र नं. ३ मा रहेका सिटौलाले राष्ट्रियता, स्वाधीनता रक्षाका लागि सबै दलहरू एक ठाउँमा उभिनु पर्ने आफ्नो मान्यता रहेको भन्दै उनले यस्तो बताएका हुन् ।
निर्वाचन तथा निर्वाचनको परिणामपछि हामीले एउटा राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा लाग्नुपर्छ, उनले भने । यसमा सबै राष्ट्रिय दलहरूले जोडेर अघि बढ्नु पर्ने पनि सिटौलाले बताए । ‘सत्ता पक्ष एउटा हुन्छ र विपक्ष अर्काे हुन्छ, तर पनि कतिपय साझा एजेण्डा एउटै हुनसक्छ’ उनले भने । जनताको समस्या समाधान गर्दै जाने र आर्थिक उन्नति नै मुख्य कुरा भएको पनि सिटौलाको भनाइ छ ।
लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजमा प्रतिबद्ध रहेर राष्ट्रियसामु आएका सबै प्रकारका समस्या समाधान गर्दै जाने दिशामा आफूहरू केन्द्रित हुने पनि सिटौलाले बताए । विचार, मूल्य र मान्यताहरु फरक भए पनि साझा मुद्दा र सवालमा एक ठाउँमा आउन र ल्याउन सकिन्छ, उनको भनाइ छ ।
वि.सं. २००७ मा लोकतन्त्र र २०६२–६३ को जनआन्दोलनको उपलब्धीको रूपमा अहिले मुलुक लोकतान्त्रिक गणतन्त्रसहितको मुलुक बनेको स्मरण गर्दै सिटौलाले लोकतन्त्र र गणतन्त्रको जगमा संविधान बनेको प्रष्ट पारे । त्यसैको परिणाम अहिले मुलुक संघीयतामा गएको र लोकतन्त्र संस्थागत भएको उनले बताए ।
अहिले भएका परिवर्तनका विषयमा नागरिकलाई बुझाउन र सम्झाउन सक्नुपर्ने बताउँदै यसमा जनतालाई दोष दिन नमिल्ने उनले बताए । गणतन्त्र संस्थागत गर्न लागेका राजनीतिक दल तथा यसका उम्मेदवारले मतदातालाई सम्झाउन सक्नुपर्छ उनले भनिन् ।