विराटनगर । प्रदेश १ मा जलविद्युत आयोजना थपिने क्रम जारी छ । यहीक्रममा सूर्य होल्डिङ प्रालिले ताप्लेजुङमा ३१.९२ मेगावाटको माथिल्लो मेवाखोला ‘ए’ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।
मिक्वाखोला गाउँपालिका भएर बग्ने मेवा खोलाको पानी उपयोग गर्न आयोजना निर्माण गरिने भएको हो । खोलाको बायाँ किनारतर्फ मुख्य–मुख्य संरचनाहरु रहने गरि नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको निर्माण गरिने छ । आयोजनाको सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन तयार भइसकेको छ ।
सम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार डिजाइन बहाव १३.५ घनमिटर प्रतिसेकेण्ड र कुल हेड २९२ मिटर रहनेछ । आयोजनाको वार्षिक सरदर १९१.२६ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ। भुमिगत विद्युत गृह हुनेछ। विद्युत उत्पादनपछि ९०.५५ मिटर लम्बाइ ३.५ मिटर चौडाइ, ४.२ मिटर उचाइ भएको टेलरेसबाट पानीलाई पुनः मेवा खोला पठाइनेछ ।
उत्पादित ऊर्जालाइ विद्युत गृहसँगैको स्वीचयार्डमा जोड्ने १२.६८ एमभीएको ३ फेज पावर ट्रान्सफर्मरबाट १३२ केभी प्रसारणलाइनमार्फत करिब ३० किलोमिटर टाढा नेपाल विद्युत प्राधिकरणको प्रस्तावित ढुंगेसाँघु (हाङपाङ) सवस्टेसनमा जोडिनेछ । अथवा ३ किमि दुरीमा रहेको राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेडको प्रस्तावित पापुङ सवस्टेसनमा जोडि राष्ट्रिय प्रणालीमा जोडिनेछ ।
विद्युत विकास विभागले सूचना जारी गर्दै उक्त आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ३५ दिनभित्र सरोकारवाला निकायहरुलाई लिखित राय÷सुझाव दिन आग्रह गरेको छ । यो आयोजनाले २०८३ मंसिरदेखि व्यवसायिक उत्पादन गर्ने लक्ष्य छ ।