प्रदेश १ : परिणाम उल्ट्याउन सक्ने प्रदेशका पाँच बागी

विराटनगर । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन परिणामको जोडघटाउ सुरु भइसकेको छ । निर्वाचन आयोगले दिएको समयसीमा अनुसार उम्मेदवारी फिर्ता लिने समय पनि बुधबारबाटै सकिएको छ । पार्टीका आधिकारिक उम्मेदवारलाई चुनौती दिँदै स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन पार्टीहरुले गरेको आग्रह कतिपय नेताले स्वीकार गरेपनि कतिपयले फिर्ता गरेका छैनन् ।

प्रदेश १ मा पार्टीबाट टिकट नपाएर स्वतन्त्र उम्मेदवारी दिने कतिपय उम्मेदवारहरूले जित्न सक्ने सम्भावना छ भने कतिपयले परिणामलाई अस्वभाविक बनाइदिन सक्छन् । निर्वाचनमा १ मतको पनि धेरै मूल्य हुन्छ । तर, केही बागी उम्मेदवारहरु दश हजारभन्दा बढी मत ल्याउन सक्ने सशक्त छन् भने कतिपय उम्मेदवारले निर्वाचन जित्न सक्ने आंकलन पनि गनै थालिएको छ । प्रदेश १ मा त्यस्ता प्रभावशाली बागी उम्मेदवारहरुको को छन् भन्ने विषयमा चर्चा गरौं ।

सुनसरी १ मा मनोज मेन्याङ्बो

सुनसरी क्षेत्र नम्बर १ का उम्मेदवार मनोज मेन्याङ्बो प्रदेश १ मा सबैभन्दा शक्तिशाली बागी उम्मेदवार हुन् । नेकपा एमाले र जसपाबीच गठबन्धन हुँदा सो क्षेत्र जसपाको भागमा परेको थियो । त्यसबाट असन्तुष्ट बनेका एमाले नेता तथा धरानका पूर्व मेयर मेन्याङ्बोले परिणाम उल्ट्याइदिन सक्ने ताकत राख्छन् ।

भर्खरै सम्पन्न भएको स्थानीय तह निर्वाचनमा धरान प्रमुखमा विजयी भएका हर्क साम्पाङ स्वतन्त्र उम्मेदवार थिए । साम्पाङले उनै मेन्याङ्बोलाई समर्थन गर्ने मेन्याङ्बो पक्षधरको भनाइ छ । एमाले छोडेर जसपामा पुगेका अशोक राई सुनसरी १ का उम्मेदवार छन् । उनलाई एमालेले समर्थन पनि गरेको छ । तर, एमालेको तल्लो तहमा भने राईको उम्मेदवारीलाई अस्वीकार गर्दै मेन्याङ्बोलाई अगाडि सारिएको बताउँछन् । जसपाको जनमत कमजोर हुनु, एमाले शसक्त हुनुले पनि राईलाई सबै एमालेको मत पाउनेमा मुस्किल देखिन्छ ।

यता, सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेता मुक्साहाङ मेन्याङ्बो पनि लामोसमयदेखि धरानमै राजनीति गरिरहेका नेता हुन् । आदिबासी जनजाति बाहुल्य रहेको सो क्षेत्रमा सोही अनुहारलाई विजय हुन सहज छ । त्यही भएर सत्ता गठबन्धन, विपक्षी गठबन्धनले पनि सुनसरी १ मा जनजाति अनुहारलाई नै उम्मेदवार बनाएका छन् । एमालेले जयकुमार राईलाई एकल उम्मेद्वार सिफारिश गरेको भएपनि तालमेल हुँदा एमालेले जसपाका राईलाई समर्थन गरेको छ । मेन्योङ्बोको समर्थनमा एमालेकै प्रदेश, जिल्ला, नगर र वडा कमिटीका नेता, कार्यकर्ता खुलेका छन् । यस्तै सोही क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी दिएका कुमार कार्की पनि स्थानीय जनतामा लोकप्रिय मानिन्छन् । उनले लामो समयदेखि धरानका सुकुमबासी समस्या समाधानका लागि विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएका थिए ।

मोरङ ५ योगेन्द्र मण्डल

एमालेले सहमतिका आधारमा मोरङ ५ नम्बर क्षेत्र जसपालाई दिएको छ । जसपाले राजकुमार यादवलाई सो क्षेत्रबाट उम्मेदवार बनाएको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको गृहक्षेत्र पर्ने यो क्षेत्रमा एमाले नेता योगेन्द्र मण्डलले भने दुई पार्टीबीचको सहमति अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिएका छन् । जीवन विकास समाज लघुवित्तका संस्थापक अध्यक्ष मण्डल राजनीतिमा आएका नयाँ खेलाडी हुन् । उनले २५ वर्ष लघुवित्त क्षेत्रमा काम गरेका छन् ।

उनले यो क्षेत्रमा उम्मेदवार बन्नकै लागि लामो समयदेखि तयारी गरेका थिए । गत स्थानीय निर्वाचनको समयमा त सो क्षेत्रका सबै पार्टीका वडाध्यक्षका उम्मेदवारलाई मण्डलले चन्दा दिएर सहयोग गरेका थिए । आफूलाई सघाउनु पर्नेमा सहयोग गरेका मण्डलले एमालेबाट अन्तिम समयमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । ‘उहाँले लाखौं लगानी गरिसक्नु भएको छ,’ एमालेका एक कार्यकर्ता बताउँछन्, ‘उहाँले उम्मेदवारी फिर्ता गर्ने वा डराउने कुरै आउँदैन ।’ एमालेका कार्यकर्ताहरु पनि मण्डलको चुनावी अभियानमा लागिसकेको स्वीकार गर्छन् ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित शिवकुमार मण्डल नै यस पटक पनि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका छन् । सत्ता गठबन्धन र स्वतन्त्र उम्मेदवारद्वय मण्डल तथा एमाले जसपा गठबन्धनबाट उम्मेदवार बनेका यादवबीच यो क्षेत्रमा त्रिपक्षीय भीडन्त हुने निश्चित छ । त्यति मात्रै होइन मण्डलको उम्मेदवारीले दुवैपक्ष सशंकित पनि देखिएका छन् ।

धनकुटाका हेमराज भण्डारी

माओवादी केन्द्रबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दिने अर्का शसक्त उम्मेदवार हुन् धनकुटाका हेमराज भण्डारी । सत्ता गठबन्धन हुँदा धनकुटाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र काँग्रेसको भागमा पर्ने बुझेका भण्डारीले उम्मेदवारी दर्ता हुनु एक हप्ता अगाडि नै माओवादीबाट राजीनामा दिएका थिए । बौद्धिक र सरल छवि बनाएका भण्डारीलाई कतिपय स्वतन्त्र मानिसहरुले मन पराउँछन् । धनकुटामा प्रतिनिधिसभामा एमालेबाट राजेन्द्र राई तथा सत्ता गठबन्धनबाट काँग्रेस नेता सुनिल थापाको उम्मेदवारी पनि परेको छ । त्रिपक्षीय भीडन्त नभएपनि भण्डारीले थापा र राई कसको बढी भोट काट्छन् त्यो पराजित हुने निश्चित जस्तै रहेको धनकुटाकै माओवादी कार्यकर्ताहरु बताउँछन् । धनकुटामा माओवादी पार्टी तेस्रो स्थानमा छ । उक्त पार्टीका धेरै कार्यकर्ता भण्डारीको चुनावी प्रचारमा हिंडिरहेका छन् ।

झापा ३ का डम्बरबहादुर गिरी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनका विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिएका एमाले नेता डम्बर बहादुर गिरी पनि त्यहाँका स्थापित नेता हुन् । झापामा एमाले र राप्रपाबीच गठबन्धन छ । गठबन्धन हुँदा एमालेले ३ नम्बर क्षेत्र राप्रपा अध्यक्ष लिङ्देनका लागि छोडेको थियो भने एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राप्रपाले सघाउने सहमति भएको थियो । तर, गिरीले उम्मेदवारी दर्ता गराएपछि मोवाइल अफ गरेर वेपत्ता भएपछि उनको उम्मेदवारी कायमै रहेको छ । गिरीले निर्वाचन जित्ने अवस्था नै नरहेपनि सिटौला र लिङ्देनको जित हारका लागि मत तलमाथि पार्नसक्ने क्षमता राख्ने एमाले कार्यकर्ता नै बताउँछन् ।

उदयपुर २ का रामकुमार राई

उदयपुर क्षेत्र नम्बर २ का रामकुमार राई काँग्रेसका क्षेत्रीय सभापति हुन् । उनले सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एसका नेता जगन्नाथ खतिवडाका विरुद्धमा उम्मेदवारी दिएका हुन् ।

यसअघि २०७४ सालमा माओवादी केन्द्रका नेता सुरेशकुमार राई (हिमाल) विजयी भएको सो क्षेत्र नेकपा एसको भागमा परेको थियो । माओवादी केन्द्रका तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका राममणि पौडेलले भने उम्मेदवारी फिर्ता लिएका छन् । यद्यपि खतिवडाको विरुद्धमा राईले भने उम्मेदवारी कायमै राखेका छन् ।

जनमत अत्यन्तै कमजोर रहेको नेकपा एसका नेतालाई भाग लगाएपनि उनले उम्मेदवारी दिएको बताउँदै आएका छन् । २१ वर्षकै उमेरमा तत्कालीन कटारी गाविसका अध्यक्ष भएका उनी त्यस क्षेत्रका स्थापित नेता हुन् । उनका हजुरबा पञ्चायतकालका सशक्त मन्त्री बनेका डिल्लीशेर राई हुन् । सम्पन्न परिवारमा रहेका र सामाजिक क्षेत्रमा क्रियाशील रहेका उनको उम्मेदवारी खतिवडाका लागि टाउको दुखाइ बनेको छ भने एमालेका उम्मेदवार अम्बरबहादुर रायमाझीका लागि राहत भएको छ ।

बिहिबार, २७ असोज, २०७९, बिहानको १०:५९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर