विराटनगर । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिएका बौद्धिक नेता युग पाठकले बुधबार निर्वाचन आयोगबाट चुनाव चिन्ह प्राप्त गरेका छन् ।
निर्वाचन आयोगको कार्यक्रम अन्तरगत उम्मेदवारहरुको अन्तिम सूचि प्रकाशन गरी चुनाव चिन्ह प्रदान गरेको हो ।नेपाली राजनीतिमा यतिबेला बैचारिक संकट उत्पन्न भएको र त्यसले मुलुकलाई पश्चगमनतर्फ डोहोर्याउने कार्य भइरहेको भन्दै पश्चगमनको नेतृत्व यतिबेला केपी शर्मा ओलीले गरिरहेका कारण देखाउँदै पाठकले ओली विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पाठकले निर्वाचन आयोगबाट ‘पुतली’ चुनाव चिन्ह प्राप्त गरेका छन् ।
लेखन तथा अभियन्ताको छवि बनाएका पाठक पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । प्रगतिवादी धारमा कलम चलाउने उनी बौद्धिक समुदायबीच परिचित छन् ।
यसैगरी विराटनगर महानगरपालिकामा लामो समय कार्यकारी अधिकृतको रुपमा काम गरेका नेपाली काँग्रेस प्रदेश समिति सदस्य गोपालप्रसाद रेग्मीले काँग्रेसकाविरुद्ध बागी उम्मेदवारी कायमै राखेका छन् । मोरङ निर्वाचन क्षेत्र नम्बर ६(२)बाट उम्मेदवारी दिएका उनले निर्वाचन आयोगबाट ‘लालटिन’ चुनाव चिन्ह प्राप्त गरेका छन् । गठबन्धनका तर्फका साझा उम्मेदवार काँग्रेस नेता तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीविरुद्ध बागी उम्मेदवारी दिएका हुन् ।
विराटनगर महानगरपालिकामा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत रहँदा रेग्मीले विराटनगरको विकासमा उल्लेखनीय भूमिका निर्वाह गरेका थिए । विराटनगरको डुवान समस्याको समाधानका लागि डे«ेनेज निर्माण र ढल प्रशोधन परियोजना उनकै पहलमा आएको थियो । जुन परियोजना अन्तरगत २ अबै ५० करोड रुपैयाँ भन्दा बढी बजेट प्राप्त भएको थियो । उनले साँघुरो अवस्थामा रहेको विराटनगरको बाटो चौडा बनाउन घर तथा पर्खाल भत्काउने जोखिम उठाएका कारण अहिलेको विराटनगर सम्भव भएको जस उनलाई दिइने गरिएको छ । नेपाली काँग्रेसले रेग्मीको उम्मेदवारी फिर्ता गराउन प्रयाप्त पहल गरेपनि उनले अस्वीकार गरेका थिए ।